रेसिपी

Wednesday, September 5th, 2018

खीर ः
सामाग्री :चामल (बासमती वा ताइचीन) १ कप, दूध १ लिटर, चिनी १ ठूलो चम्चा, काजु (टुक्रा पारिएको) २ सानो चम्चा, नरिवल (टुक्रा पारिएका) २ सानो चम्चा, छोकडा (टुक्रा परिएको) २ सानो चम्चा, सुकुमेल २÷३ पीस, किसमिस ६÷७ पीस, ल्वाङ् २÷३ पीस, तेजपात १÷२ पात ।

विधि :
सर्वप्रथम चामललाई केलाएर सफा पार्ने । खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्ने, चुलोमा मध्यम तापको आगो बाल्ने र एक लिटर दुध हालेर डेक्ची बसाल्ने, दुधलाई राम्ररी तात्न दिने । धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्ने, मधुरो आँचमा दुध र चामल केही मिनेट पाक्न दिने । यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्ने । चिनी, तेजपात पनि हाल्ने । अब चामल र सबै मसला गल्ने गरी सानो आगोमा १२÷१५ मिनट पकाउने । यसरी तयार भएको खीर चुलोबाट उतार्ने र मनतातो अवस्थामा खीर खाने ।

रसवरी
सामाग्री :
कागती, फिटकिरी, भेनेगर, दुध, चिनी, छेना छान्ने कपडा, मैदा वा आरारोट र बेकिङ पाउडर ।

विधि :
सबैभन्दा पहिले दुध उमाल्ने । त्यसपछि दुधलाई तर जम्ने गरी सेलाउन दिने । त्यसपछि ५ लिटर दुध बराबर एक लिटर पानी उमाल्ने । उम्लिएको पानीमा आधा ग्लास भेनेगर हाल्ने वा १०० ग्राम फिटकिरी पगाल्ने र त्यो मिक्स पानीलाई केही तातो दुधमा हाल्ने, दुध फाट्छ । ९÷१० मिनेटपछि छेना छान्ने कपडामा विस्तारै हाल्ने र विस्तारै निचोर्ने, छेना तयार भयो । त्यसपछि छेनालाई एक सफा फल्याक वा त्यस्तै भाँडोमा हाल्ने ताकि हत्केलाले राम्ररी मिहीन हुने गरी माड्न सकियोस् । माडिसकेपछि छेना आधा साना चम्चा वेकिङ् पाउडर र ठूलो चम्चा आरारोट या १ चम्चा मैदा मिलाउने । त्यसपछि एक लिटर पानीमा २ केजी चिनी एउटा मुख फराक भएको भाँडो या कराइमा चास्नी तयार गर्ने । चिनीको चास्नी तयारीपछि छेनालाई राम्ररी सानो सानो डल्लो बनाइ त्यही चास्नीमा हाली उमाल्ने । फिँज आउन अलिकति मैदा पानीमा घोलेर चास्नी हाल्ने र अर्को चुल्होमा पानी पनि बसाल्ने । जब चास्नी सुक्दै जान्छ, तब डाडुले पानी हाल्ने र चलाउने । एवं रितले १५÷२० मिनेट पकाउने र एउटा भाडोमा उमालेको पानी हाली त्यसमा रसभरी झिकेर हाल्ने । रसभरी झिकिसकेपछि त्यसमा थोरै चास्नी हाल्ने । अब रसवरी तयार भयो ।
क्वाटी :
सामाग्री : टुसा पलाएको मिक्स गेडागुडी २०० ग्राम, ज्वानो १० ग्राम, सौफ ५ ग्राम, तोरी ५ ग्राम, करी पाउडर ५ ग्राम, काटेको र पिसेको लसुन १० ग्राम, काटेको र पिसेको अदुवा १० ग्राम, ताजा रातो खुर्सानी ५ ग्राम, बेसारको धुलो ५ ग्राम, काटेको प्याज २० ग्राम, काटेको गोलभेंडा ४० ग्राम, स्वादअनुसार नुन । काटेको हरियो धनियाँ ५ ग्राम ।
विधि : नौ प्रकारका गेडागुडीहरु जस्तै चना, केराउ, सिमी, बोडी, मास, सानो केराउ, बकुला, राजमा, भटमासलगायत । गेडागुडी २ दिनअघि नै भिजाएर राख्ने । माथि दिइएका अन्य सामाग्री पनि किचनमा तयार गर्ने । प्रेसरकुकरमा तेल तताउने र तेल तातेपछि ज्वानो, सौंफ र तोरी फुराउने । एकैछिनमा काटेर राखेको प्याज, लसुन, अदुवा, ताजा रातो खुर्सानी पनि राख्ने र २–३ मिनेट भुट्ने । त्यसपछि मिक्स गेडागुडी हालेर केही बेर भुट्ने । करी पाउडर, बेसारको धुलो, काटेको गोलभेंडा, नुन स्वादअनुसार हालेर राम्रोसँग चलाउने र पुनः २–३ मिनेट भुट्ने । केहीबेर भुटिसकेपछि पानी हालेर प्रेसरकुकरको बिर्को बन्द गर्ने । ठूलो आगो पारेर करिब ६–७ सिठ्ठी लगाउने र हावा गएपछि बिर्को खोल्ने । क्वाँटीलाई आकर्षक देखाउन काटेको हरियो धनियाँ हाल्ने । अब स्वादिलो क्वाँटी तयार भयो । क्वाँटीलाई अझ स्वादिलो बनाउन गरममसला पनि राख्न सकिन्छ । साथै पुनः तेलमा सुकेको रातो खुर्सानी, जिराको दाना र ज्वाँनो हालेर क्वाँटी झान्न पनि सकिन्छ ।
आलुको अचार
सामाग्री :
आलु १ केजी, प्याज ३ वटा, गोलभेंडा ठूलो ३ वटा, हरियो खुर्सानी ६–७ वटा, अदुवा सानो टुक्रा, नुन स्वादअनुसार, कागती १ वटा, जिराको धूलो १ चम्चा, हरियो धनियाँ ।
विधि :
आलु उसिनेर बोक्रा निकाली एउटै सेपमा काट्ने । काँचो प्याजलाई राउन्ड सेपमा केस्रा छुटिने गरी काट्ने । गोलभेंडालाई त्यही सेपमा काट्ने । हरियो खुर्सानीलाई चिरा पारेर काट्ने । अदुवालाई मसिनो गरी काट्ने ।
त्यसमा नुन, कागती, जिराको धूलो एवं हरियो धनियाँ सबैलाई ठूलो बाटामा राखेर मिक्स गर्ने । भुटेको तोरीको तेल हालेर सबैतिर पस्ने गरी मोल्ने । खानुभन्दा आधा घन्टाअघि छोपेर राख्ने । आधा घण्टा राखे पछि यस्लाई नास्ता वा खाना संग निकै स्वादिष्ट हुन्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest