रोजिना मेरो जीवन कि ‘हिरा’ हुन्

Sunday, September 15th, 2019


हिराधन राई, संस्थापक अध्यक्ष, रोजिहिरा फाउण्डेशन, बेलायत
जीवनयात्रालाई सहज र सरल बनाउन नारी र पुरुष विचको सहयात्रा महत्वपूर्ण हुने गर्दछ, यहि सहयात्राले जीवनका उकाली, ओराली, भञ्ज्याङ अनि देउरालीहरुलाई पार गर्न सहयोग पुर्याउने गर्दछ । नारी र पुरुषको सहयात्रामा नै सृष्टि चलेको छ । विवाह बन्धनमा बाँधिए पछि सुचारु हुने सहयात्रा को संग सुरु हुन्छ ? भन्ने कुरा माथीबाट नै तय भएको हुन्छ भन्ने पनि मान्यता राखिन्छ । त्यहि भएर होला काठमाण्डौको बौद्धमा जन्मेकी रोजिना प्रधान र नेपालको दुर्गम मानिने खोटाङ जिल्लाको बाक्सिलामा जन्मेका हिराधन राई विच भेटघाट भयो, त्यो पनि नेपालमा नभएर बेलायतमा पुगे पछि मात्र ।
बेलायतको भेट पनि सहयात्रामा जोडिने हिसावले भएको होइन, विभिन्न कामको सिलसिलामा देखादेख मात्र भएको हो, पटक पटकको देखादेख र भेटघाटले दुवैको मन एकअर्का तर्फ मोडिएको हो । त्यो पनि देख्ने या भेट्ने वित्तिकै भएको भने होइन । उच्च शिक्षाको लागि विद्यार्थी भिसामा बेलायत पुगेकी रोजिना बेलायती सेनामा कार्यरत हिराधन राई विचको भेटघाट त्यहा रहेका नेपाली समुदाय तथा संघसंस्थाले आयोजना गर्ने विभिन्न कार्यक्रमको दौरानमा व्यवसायिक रुपमा भएको हो । पहिलो पटक सन् २००७ साल तिर भेटिएका उनीहरु दुई वर्ष सम्म व्यवसायिक भेटघाटमा मात्र सिमित रहे ।
एउटा नेपालीले अर्को नेपालीलाई भेट्दा मिल्ने खुशी, आत्मीयता अनि नजिकपन भने उनीहरु दुवैले महशुष गरे, ती भेटहरुमा रोजिनाको सहयोगी भाव, कमलो मन, दुःख कसैको देख्न नसक्ने, देखिहाले सकेको सहयोग गरिहाल्नु पर्ने स्वभाव, शालिन, भद्र, आफ्नो काम र अध्ययनमा अत्यन्त लगनशिल, मेहनतीपनले हिराधनलाई आकर्षण गर्यो भने सबैलाई आदर गर्ने, कर्मठ, सामाजिक र परोपकारी कार्यहरुमा पनि अग्रसरता देखाउने, राम्रो बोली बचन र व्यवहार, बेलायतमा रहेका विद्यार्थीहरुको समस्या बुझेर सहयोगको लागि तत्पर हुने हिराधनको कामबाट रोजिना प्रभावित थिइन् ।
दुई वर्ष सम्मको निरन्तरको यो भेटभाट पछि भने हिराधनको मनमा आफ्नो जीवन साथी रोजिना जस्तै भइदिए… भन्ने भाव पलायो । उनले मनमनै रोजिनालाई मन पराए, मनमा सजाए । आँफूले मन पराएको कुरा आँटिलो मनले रोजिनालाई सुनाए । उनको कुरा सुनेर रोजिना केहि क्षण स्तब्ध भइन् । तत्काल उनले कुनै जवाफ दिइनन् । केहि समय पछि उनले ‘अध्ययनको लागि आएको, सोच्नु पर्छ, घरमा सल्लाह पनि गर्नुपर्छ, अहिले म तयार पनि छैन’ भन्ने अष्पष्ट जवाफ दिइन् ।
हुन्छ या हुन्न को सिधा जवाफ खोजेका हिराधनलाई उनको यस्तो जवाफले फेरी दोधारमा पुर्यायो । उनी रोजिनाको प्रष्ट जवाफको प्रतीक्षामा रहिरहे । यो प्रतीक्षामा नै महिनौ वित्यो, त्यो छ महिनाको अवधिमा उनीहरुले व्यवसायिक भेटभाटलाई अलि व्यक्तिगत भेटघाटमा पनि परिणत गरे, एकले अर्कालाई अझै नजिकबाट बुझ्ने वातावरण बनाए । जति नजिकबाट बुझ्यो त्यति मायालु लाग्न थालिन् रोजिना हिराधनलाई । त्यस्तै मायालुभावका लहरहरु रोजिनाको मनमा पनि लहरिन थाल्यो, अनि मात्र उनले हिराधनको प्रस्ताव स्वीकार्य रहेको बताइन् ।
उनको स्वीकृतिले हिराधनलाई साच्ची नै आफ्नो जीवनमा ‘हिरा’ प्राप्त भए जस्तो लाग्यो । अव भने आफ्नो जीवनमा आफ्नै नामजस्तो हिरा रुपि धन भित्रने खुशीमा उनी रमाए । एउटा पुरुषको जीवन सुखी, खुशी, आनन्दित र व्यवस्थित बनाउन एउटी असल नारीको खाँचो हुन्छ भने झैं आँफूलाई भित्रै देखि बुझ्ने रोजिना जस्तै जीवनसंगिनी पाउनुमा आँफूलाई उनले असाध्यै भाग्यमानी ठाने । रोजिनाले बेलायतमा भेटिएका हिराधन संगको विहेको कुरा घरमा राखिन्, पढ्न गएकी छोरीको उतै विहे गर्ने कुरा परिवारले कसरी पो सहज रुपमा लिन्थ्यो र ? आमाले हुदैन, पढाई सकेर नेपालमा आएर आफ्नै जात मिल्ने केटा संग विहे गर्नु पर्छ भनेरसम्झाउने प्रयास गर्नु भयो । आमाको मन कटक्क दुखाउन त कस्लाई पो मन लाग्छ र ? रोजिनाले पनि आमालाई सम्झाउने प्रयास गरिन् । आमा भने आफ्नो हठमा अडिग रहनु भयो ।
एकअर्कालाई मन पराइसकेको हिराधन र रोजिनाको जोडीलाई आमाको हठले केहि असहज त भयो, तर दुईमनले आटे पछि संसारमा कस्को पो प्रेम असफल भएको छ र ? प्रेमको शक्तिलाई संसारको कुनचाहि शक्तिले पो जित्न सक्छ र ? नेपाल गएर आमालाई सम्झाउछु भन्ने भावले रोजिना आँफैले विहेको निर्णय गरिन् । कुरा चलेको दुई महिना पछि हिराधन र रोजिना बेलायतको साउथहलमा अवस्थित मन्दिरमा गएर बैवाहिक बन्धनमा बाँधिए । त्यहिबाट सुरु भयो हिराधन र रोजिनाको सहयात्रा ।
त्यसो त हिराधन कोर्ट म्यारिजको पक्षमा थिए, तर रोजिना अलि धार्मिक भाव कि, भगवान प्रति आस्थापान भएकीले उनीहरुले बेलायतको साउथहलमा अवस्थित मन्दिरमा गएर विहे गरे, त्यस पछि त्यहाको कानून अनुसार कोर्टमा पनि विहे दर्ता गरे, नेपाल आएर रोजिनाले आमालाई सम्झाइन् । आमाले पनि ‘छोरीको भविष्य सुखद हुन्छ भने ठीकै छ नि’ भन्ने भावले छोरीको बेलायतको विवाहलाई समर्थन गर्दै नेपालमा पनि धार्मिक विधिले विवाह गर्ने तयारी गरिन्, काठमाण्डौको गुह्ेश्वरी मन्दिरमा उनीहरुले देवी भगवतीलाई साक्षी राखेर विवाह गरे ।
उनीहरुको बैवाहिक जीवन निक्कै सुमधुर तरिकाले अघि बढिरहेको छ, एकअर्कालाई भित्रै देखि बुझ्ने जीवनसाथी पाएकोमा दुवै जना खुशी छन् । उनीहरुको सहयात्रामा सुपुत्र रोहिज थपिएको पनि सात वर्ष पुगिसकेको छ, एक्लै सामाजिक कार्यहरुमा लागिपरेका हिराधनले आँफू जस्तै सामाजिक मन भएकी जीवन संगिनी पाएर सामाजिक कार्यलाई पनि उत्तिकै सक्रियताका साथ अगाडी बढाइरहेका छन्, त्यति मात्र होइन दुवै जनाको संयुक्त पहलमा बेलायतमा सन् २०१२ मा रोजिहिरा फाउण्डेशन दर्ता गरेका छन्, हाल रोजिहिरा फाउण्डेशनको अध्यक्षको भूमिका समेत निर्वाह गरेकी रोजिना आफ्नो फाउण्डेशनबाट दुःख पाएका, समस्यामा परेका, अनाथ, असाहय व्यक्तिहरुलाई सहयोग गर्न पाएकोमा असाध्यै खुशी व्यक्त गर्छिन्, कसैको दुःख देख्न नसक्ने उनी बेलायतमा बसेर पनि नेपाल र नेपालीको सेवामा सदैव तत्पर रहेकी छिन्, उनलाई उनका श्रीमान हिराधनको पूर्ण साथ, सहयोग र सद्भाव रहेको छ । किराँत राई यायोक्खा, महिला समिति महासचिव, एसियन महिला एशोसियसन कि प्रवक्ता, नेपाली वुमन एशोसियन कि आजीवन सदस्य लगायत दर्जनौ संघसंस्थामा पनि उनी आवद्ध रहेकी छिन् ।
एकअर्कालाई सधैं सकारात्मक दृष्टिकोणले हेर्ने उनीहरुको जोडी अनुपम छ, रोजिना भन्छिन् ‘मैले आँफूले सोचेको भन्दा पनि असल जीवनसाथी पाएकी छु, त्यसैले म सुखी अनि खुशी छु, घर व्यवहारमा सघाउने देखि सामाजिक काममा साथ पाएकी छु, जति समय वित्दै जान्छ हाम्रो सम्वन्ध अझ मजवुत हुदै गएको महशुष गरेकी छु, वहाको नराम्रो बानी केहि पनि देख्दिन, पाउँदिन, अहिले सम्म महशुष गरेकी पनि छैन, कुनै कुनै कुरा तत्काल मान्नु हुन्न तर केहि वेर पछि नै ‘हुन्छ’ भन्नु हुन्छ, यत्तिलाई के नराम्रो गुण भन्नु र ? सर्वगुण सम्पन्न जीवनसाथी पाएकी छु, आँफूलाई असाध्यै भाग्यमानी ठानेकी छु ।’ हिराधनको पनि रोजिना प्रति कुनै गुनासो छैन, अहिले आँफू जुन स्थानमा छु त्यो स्थान सम्म उनैको साथले आएको उनी बताउँछन् उनी भन्छन् ‘उनीमा यति गज्जवको क्षमता छ कि असम्भव कुरालाई पनि उनी आफ्नो पहलले सम्भव बनाउँछिन्, हरेक व्यक्तिलाई उनले सम्मानित व्यवहार गर्छिन्, मीठो बोल्छिन्, मलाई असाध्यै माया गर्छिन्, कहिल्यै रिसाउदिनन्, नराम्रो कुरा एउटै छ रिसाइन् भने झनक्कै रिसाउछिन् ।’
बालपनमा घाँस, दाउरा, मेलापात गरेर हुर्केका हिराधनले विहे पछि र हालसालै पनि रोजिनालाई आफ्नो जन्मथलो खोटाङको बक्सिला पुर्याए । शहरमा जन्मेकी, हुर्केकी र बेलायतको सुविधा सम्पन्न जीवन विताएकी रोजिना ग्रामिण परिवेशमा पनि सहज रुपमा घुलमिल र स्थानीय आफन्त संगको सद्भावपूर्ण व्यवहारले खुशी दिन सकेकीमा रोजिना प्रति हिराधन अझ प्रभावित भएको बताउँछन् भने आँफू त्यहाँ जादा राजारानीको सवारी भए जस्तै सम्मान पाउँदा साह्ै असल परिवार विच आफ्नो सम्वन्ध जोडिएको आभाष पाएको रजिना बताउँछिन् ।
हिराधनका बुवा मनि प्रसाद राई गाउँको जिम्मावाल हुनुहुन्थ्यो, वहाले सबै नागरिकलाई रिझाएर सेवा गरिरहनु भएको छ भने सात रोपनी जग्गा विद्यालयलाई दान दिनु भएको छ, त्यसैले त्यहाका बासिन्दाले जिँउदैमा वहाको शालिक बनाइदिएका छन्, श्रद्धा व्यक्त गरेका छन्, सम्मान दिएका छन् । यी सबै कुरा त्यहि गएर थाहा पाएकी हुन् रोजिनाले । हिराधनको परिवार नै समाजसेवा प्रति समर्पित छन् । उनकै पहलमा अहिले विद्यालयमा कम्प्युटरहरु जोडिएको छ, जसले गर्दा विद्यार्थीले दुर्गममा भए पनि आधुनिक प्रविधिलाई नजिकबाट अंगाल्न पाएका छन् । ‘विद्यार्थीहरुको खुशी अनि परिवारको माया पाउँदा खोटाङमा नै आएर बस्न मन लाग्छ’ रोजिना भन्छिन् ।
हिराधन र रोजिना एकअर्का प्रतिको रुचिको बारेमा पनि जानकार छन्, रोजिनालाई गुलियो लड्डु मन पर्छ अनि गाढा रंगका बस्तु उनको छनौटमा पर्छन् हिराधनलाई यो कुरा थाहा छ, खानामा मासुजन्य परिकार मन पराउने हिराधन सेतो र रातो रंग संग नजिक हुन खोज्ने पनि रोजिनालाई थाहा छ, व्यवहारिक रुपमा दुवै जना एकअर्काको रुचि, चाहना, भावना बुझ्छन्, त्यसैले त यो जोडी सबैको लागी नमूनाको जोडी बनेको छ, उनीहरुको सहयात्रा सबैको लागी उदाहरणीय बनेको छ ।
प्रस्तुति ः हरिराम पौडेल

(नवनारी मासिक पत्रिका २०७६ असार अंकमा प्रकाशीत सहयात्रा)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest