रोटरी क्लव अफ राजधानीले दियो वीर अस्पताललाई फाइब्रो स्क्यान मेशिन

Friday, June 1st, 2018

हरिराम पौडेल

काठमाडौं : वीर अस्पतालमा पहिलो पटक कलेजोको कडापन जाँच्ने अत्याधुनिक उपकरण ‘फाइब्रो स्क्यान’ मेसिन सञ्चालनमा आउने भएको छ । अस्पताललाई आज रोटरी क्लब अफ राजधानीेले उक्त उपकरण हस्तान्तरण गरेको छ ।

अस्पतालमा आज आयोजित एक विशेष कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललाई रोटरी क्लव अफ राजधानीको तर्फबाट उक्त उपकरण हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा रोटरी डिस्ट्रिक ३२९२ का प्रिसिडेन्ट रोटरियन सञ्जय गिरी, रोटरी क्लव अफ राजधानीका प्रिसिडेन्ट रोटरियन तीर्थमान जोशी, रोटरी क्लव अफ राजधानीका संस्थापक अध्यक्ष रोटरियन राजेन्द्र बहादुर श्रेष्ठ, पूर्व अध्यक्षहरु डा. कोकिला वैद्य, रोटरियन मिथिलेश कुमार झा, रोटरियन प्रदिप कुमार श्रेष्ठ, रोटरियन देवेन्द्रलाल श्रेष्ठ, रोटरियन इन्द्रभक्त साखकर्मी, रोटरियन प्रताप सिंह तातेड, रोटरिनय प्रकाश मान प्रधान, डा. भवानी ढुंगाना, डा. विश्वकेशर मास्के का साथ सदस्यहरु तथा रोटरी क्लव अफ काठमाण्डौ मेट्रोका प्रिसिडेन्ट तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा भारत चेन्नाईबाट आएका रोटरियन सुशिल गुप्ताको पनि विशेष उपस्थिति रहेको थियो भने रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गर्भनरहरु रत्नमान शाक्य, योगेन्द्रमान प्रधान,डिलेन्द्रराज श्रेष्ठ,केशव कुँवर, जया शाह तथा प्रिसिडेन्ट इलेक्ट चिन्तामणि भट्टराईको उपस्थिति रहेको थियो ।
हेपाटाइटिस ‘बि’ र ‘सि’ तथा मदिरा सेवनका कारण कलेजो बिग्रिएकाहरूका लागि शल्यक्रियाबिनै कलेजोको कडापन थाहा पाउन सकिने उक्त मेसिन हालसम्म कुनै पनि सरकारी अस्पतालमा छैन ।
स्वास्थ्य मन्त्रालय र रोटरी क्लव अफ राजधानीको संयुक्त लगानीमा उक्त उपकरण वीर अस्पतालमा ल्याइएको हो । उक्त फाइब्रो स्क्यान मेशिनको दुई करोड रुपैयाँभन्दा बढी पर्ने बताइएको छ ।
फाइब्रो स्क्यानले कलेजोको अवस्था जाँच गर्न शल्यक्रिया मार्फत बायस्पी गर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ । यो उपकरणले बिरामीलाई शल्यक्रिया गर्नुपर्ने अवस्था वा परीक्षणका लागि भारत जानुपर्ने बाध्यता समेत अन्त्य गर्ने वताइएको छ ।
कलेजो कडा भएमा हातखुट्टा सुन्निने, पेटमा पानी जमेर फुल्ने, रगत बान्ता हुने र बेहोस हुने समस्या देखा पर्छ । यो उपकरण कलेजो सम्बन्धी समस्या भएका बिरामीका लागि बरदान सावित हुने चिकित्सकहरुले बताएका छन् ।
‘कलेजो क्यान्सरको अवस्थामा पुगे नपुगेको र हेपाइटिस बि र सि को उपचार प्रभावकारिता जाँच्न फाइब्रो स्क्यान अत्यावश्यक उपकरण हो ।
उक्त अवसरमा अस्पताललाई ९ वटा डायलाइसिस मेशिन पनि हस्तान्तरण गरिएको छ । उक्त मेशिनले वीर अस्पतालमा डायलाइसिस गर्न आउने मृगौलाका विरामीहरुलाई राहत पुग्नेछ ।
अस्पतालले उक्त ९ मेसिनमध्ये २ वटा आइसियुमा राख्ने तयारी गरेको भने बाँकी मेसिनबाट नियमित डायलाइसिसका साथै हेपाटाइटिस बी, सी र एचआईभी संक्रमितलाई डायलाइसिस सेवा उपलब्ध गराइने वताएको छ ।
कार्यक्रममा बोल्दै स्वास्थ्य राज्य मन्त्री पद्या अर्यालले नेपालको सरकारी अस्पताल वीर अस्पतालका लागी कलेजो उपचारको लागी अत्यावश्यक उपकरण प्राप्त भएकोमा खुशी व्यक्त गर्दै रोटरी क्लव अफ राजधानी र रोटरी क्लव अफ काठमाण्डौ मेट्रोलाई धन्यवाद ज्ञापन गरिन् । उनले मेशिनको सहि सदुपयोग गरि विरामीहरुलाई सेवा पुर्याउन पनि वीर अस्पताल व्यवस्थापनलाई निर्देशन दिइन् । उक्त अवसरमा वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्र कुमार बस्नेत तथा अस्पतालका अन्य डाक्टर तथा कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest