किन मिल्दैन खानेकुरामा मन लालबाबु र विमलावीच

Thursday, June 21st, 2018

विदेशको ग्रीन कार्ड तथा पिआर लिएर बसेका नेपालीलाई ग्रीन कार्ड त्याग्न बाध्य पार्ने त कहिले साइकलमन्त्रीका रुपमा चर्चामा रहँदै आएका लालवावु पण्डित र विमला महत आफ्नो जोडीलाई भगवानले मिलाएको जोडी बताउँछन् ।
सामान्यतया नेपाली समाजमा विवाह गर्ने उमेरभन्दा ढिला विवाह गरेका पण्डित दम्पत्तीको विवाह पार्टी नेता तथा सहकर्मीको सल्लाहमा नै भएको थियो ।
अन्तरजातीय विवाह गरेका यी दम्पत्तीले समाजमा नयाँ आयाम ल्याउने प्रयत्न नै गरेका छन् । पार्टीका सहयोद्धाले विवाहका लागि पहल गरेपछि विवाहको कुरा चलेको करिव ३ वर्षपछि मात्र विवाह सम्पन्न भएको थियो । दुवैको विचारमा विवाह एक सहयात्रा र बन्धन हो । पछिल्लो समय अन्तरजातीय विवाहलाई केही हदसम्म समाजले पचाए पनि पहिला पहिला घर परिवारले पचाए समाजले नपचाउँने, समाजले पचाए आफन्तले नपचाउँने अवस्था थियो । त्यस्तो समयमा पनि पण्डित दम्पत्तीको अन्तरजातीय विवाह त्यत्ति असहज भने भएन । राजनीतिकरुपमा एउटै पार्टीमा रहेका दुवैजना देश र जनताका लागि समर्पित छन् ।
रमाइलोमा खासै चासो नराख्ने यो जोडी निजीभन्दा बढी सार्वजनिक जीवनमा नै समर्पित देखिन्छन् । समाजले अन्तरजातीय विवाहलाई पापकैरुपमा हेरेको अवस्थामा अन्तरजातीय सँगै सँगै भौगोगिक हिसाबले पनि अन्तर रहेका यी दुइ व्यक्ति एक हुन त्यत्ति सहज पनि थिएन । विवाह गर्न कहाँ त्यत्ति सजिलो थियो र यो जोडीलाई ? लालवावु पण्डित आफू मिक्स कम्युनिटीमा हुर्किएकाले उनलाई विमलासँगको सहयात्रा त्यत्ति असहज भएन ।
परिवारबीच समझदारी भएर मागी विवाह नै भएको यो एक नमूना दम्पत्ती पनि हुन् । संस्थागतरुपमा विवाह भएको यी दम्पत्तीको विवाहमा प्रमुख अथिति माधवकुमार नेपाल थिए ।

कम बोल्ने बानी भएका पण्डित र धेरै बोल्न रुचाउने विमलावीच कहिले काहीँ बोलीका कारण पनि ठाकठूक पर्छ । विमला कहिले काहीँ कम बोलेको भनेर गुनासो गर्छिन् लालवावुसँग । राजनीतिक जीवनमा अनुशासित व्यक्ति भनेर चिनिने पण्डित पारिवारिक जीवनमा पनि सिस्टमेटिक
तरिकाबाट नै चल्ने गरेको बताउँछिन् विमला । श्रीमान् श्रीमतीबीच खानेकुराका विषयमा मन मिल्दैन । मन्त्री पण्डितलाई के पकाउने, के खाने भन्ने विषयमा सोधेको पटक्कै मनपर्दैन ।

फुर्सदमा श्रीमतीलाई खाना बनाउनेदेखि कोठा सफा गर्न सघाउनेसम्म पछि पर्दैनन् पण्डित । विदेश गएको बेलामा आफू खाली हात आउँदैनन्, केही न केही उपहार ल्याएकै हुन्छन् । त्यसमा पनि उनी विशेषरुपमा विमलाका लागि साडी लिएर आउँछन् । श्रीमान्लाई प्रायः कपडाहरु विमलाले नै किनिदिन्छन् । फूर्सदमा राष्ट्रिय गीतहरु गुन गुनाउने पनि
गरेका छन् पण्डितले । विमलालाई लालवावुको इमान्दारिता एकदमै मनपर्छ । आफूले गरेको कुरा, भनेको कुरा, सुनेको र नसुनेको थाहा नै नदिने बानी भने मनपर्दैन । विमला भन्छिन्–कहिलेकाहीँ बाहिरबाट प्रेसर र तनाब भएर आएको बेला मसँग पनि रिसाउनुहुन्छ तर म माइण्ड गर्दिनँ । लालवावुलाई चाहिँ विमलाको दुःख सुख बुझ्ने स्वभाव नै मनपर्छ भने विमलाको एउटै कुरा पटक पटक भनिरहने बानी भने मन
पर्दैन । विवाहपछि नेपाली भएर पनि विदेशमा डिभी पिआरका लागि मरिमेट्ने नेपालीको डिभी पिआर खारेज हुनुपर्छ भनेर लालवावुले लडेको लडाईमा सफल हुँदाको क्षण दुवैका लागि सवैभन्दा खुशीको क्षण थियो । सादा र सुखी जीवन बाँच्न आफुहरु प्रतिबद्ध रहेको पण्डित दम्पत्ती बताउँछन् । घुस नखाने श्रीमान् पाएकोमा विमला पनि खुशी छिन् । सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्छिन् उनी ।

हसमुख विमला र लालवावुकी एक छोरी छिन् । आफूहरु सपिङ्मा त्यति कन्सेस नभए पनि छोरी चाहिँ अलि रहर गर्छिन् । मन्त्री भएर पनि आफूहरु सरकारले दिएको सुविधाभन्दा बढी सुविधा प्रयोग गर्न चाहँदैनन् । मनपरेको सामान छ भने फूटपाथबाट पनि किन्छिन् विमला । सामान किन्न नै भनेर आफूहरु डिर्पाटमेन्टस्टोर कहिले नगएको पनि उनी सुनाउँछिन् ।
विमला भन्छिन्–वैवाहिक जीवनसँग कहिल्यै दुःख लागेन, बरु खुसी छौं, दुवैजना एक अर्काको सहयात्रा हामीलाई कन्र्फट जोन झै भएको छ ।

सर्लाही जन्मिएका पण्डितको वाल्यकाल सामान्य नै रहेको थियो । उनी पढाइमा एकदम अब्बल थिए । गुच्चा बढी खेल्ने पण्डित सामान्य खेलमै रमाउँथे । अव्वल पढाईका कारण पण्डित एकवर्षमै १ कक्षाबाट ५ कक्षा पुगेका थिए ।
मनोरञ्जनका लागि भनेर घुम्न काहीँ पनि ननिस्केको लालवावु बताउँछन् । सार्वजनिक जीवन बिताएपछि निजीमा त्यत्ति चासो दिन नपाएकोमा पनि विमलालाई गुनासो छैन । निजी जीवन जिउने र कतै घुम्न नै निस्कने हो भने पनि
सुरक्षा नभएकोले बाहिर घुम्न निस्कन चाहँदैनन् यी दम्पत्ती ।
जीवनमा यो चाहिँ गल्ती गरेँ भन्ने मनमा नरहेको बताउँने मन्त्री लालबाबु र बिमलालाई सामाजिक रुपान्तरणका लागि एक नमूना दम्पत्तीका रुपमा लिने गरिन्छ ।
– कृष्णा चौलागाईं

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest