विवाह गर्दा जन्मदर्ता वा नागरिकता हेरेर मात्र विवाह गराइने

Tuesday, January 7th, 2020

सिरहा :  सिरहा जिल्लामा रहेका पुरोहित (पण्डित)तथा मौलानालाहरुले विवाहमा केटाकेटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन् ।सिरहामा बढ्दो बालविवाहमा कमी ल्याउने उद्देश्यले सिरहा प्रहरीले सोमबार सिरहा नगरपालिका १२ को सारस्वरमा आयोजना गरेका अन्तरक्रियामा सिरहाका पण्डित तथा मौलानाहरूले विवाह गराउनु अघि केटा र केटीको जन्मदर्ता वा नागरिकता प्रमाणपत्र हेरर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका हुन् ।

विवाह गराइ दिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पुरोहित तथा मौलानाहरुले प्रतिबद्धता जनाएकोे जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।वरबधुको जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरर मात्र वैवाहिक कार्यक्रम अघि बढाइने अन्तरक्रियाबाट निर्णय भएको जानकारी दिनुहुँदै प्रहरी उपरीक्षक चतुर्वेदीले यो निर्णयविपरीत बालविवाह गराइए कारबाही हुने बताए ।

पछिल्लो समय सिरहामा बालविवाह व्यापकरुपमा भइरहेको जनगुनासो आएपछि प्रहरीले हिन्दू धर्मावलम्बीहरुको पण्डित तथा मुस्लिम समुदायका मौलानाहरूसँग अन्तरक्रिया गरेको हो ।
उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेदका घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहित तथा मौलानाहरुलाई प्रशिक्षण दिएको प्रहरी उपरीक्षक चतुर्वेदीको भनाइ छ ।

बालविवाह गर्ने केटाकेटीले आमाबाबुको सहमतिमा मागी विवाह वा भागी विवाह गर्ने गरेका छन् । त्यसपछि सामाजिक परम्पराअनुसार पुरोहित तथा मौलाना बोलाएर विधिपूर्वक सिन्दुर हालेपछि विवाहले वैधता पाउने चलन बढेकाले यसलाई निरुत्साहित गर्न अभियान चलाइएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।

उमेर नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको कानुनी व्यवस्था छ ।

सिरहा नगरपालिका १२ का वडाध्यक्ष शत्रुधन साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लाका पुरोहित तथा मौलानाहरुसँग बालविवाहले आमा र शिशुको स्वास्थ्यमा देखा पर्न सक्ने असर, सामाजिक समस्या, रोजगारीमा पर्ने असर र नियन्त्रणका उपायबारे छलफल भएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest