विवाह मण्डपमै बेहुलीमाथि सामुहिक कुटपिट

Wednesday, December 26th, 2018

विवाह मण्डपमा बेहुलीमाथि सामुहिक कुटपिट भएको छ । तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा केही युवाहरुले विवाह मण्डपमै बेहुलीमाथि सामूहिक कुटपिट गरेका छन् । कुटपिटबाट २२ वर्षीया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाईते भएकी छिन् । झडपमा परेर अन्य ३ जना पनि घाइते भएका छन् । सोमबार राती भव्य रुपमा बैवाहिक समारोह भैरहेका बेला समुहमा आएका युवाहरुले विबाह मण्डपमै बेहुलीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।

कुटपिटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ । युवाहरुको सामूहिक कुटपिटबाट गम्भीर घाइते बेहुलीको उपचारका लागि गए राती नै धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

न्युरो सम्बन्धी समस्या भएकाले थप उपाचारका विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ ।

सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नबमीका २२ वर्षीय सचिन आङदेम्बेसंग विवाह भैरहेको थियो । बेहुला आङदेम्बे भने सकुसल छन् । युवाहरुको कुटपिटबाट बेहुलीका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाईते भएका छन । घाईते बेहुलीका दाजु सम्बाहाम्फेलाई थप उपचारका लागि बिराटनगर लगिएको र अन्य दुई जनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न वर्ष १९ का सरोज लिम्वु, १४ वर्षका ओमन लिम्वु, २१ वर्षका दिनेश लिम्वु, १९ वर्षका सुदी लिम्वु र १७ वर्षका मन्दिप लिम्वुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । कुटपिटमा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ । बेहुलीसँगको प्रेम सम्बन्धलाई लिएर झगडा भएको प्रहरीले आसंका गरेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गौतामले जानकारी दिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest