‘विश्वास’ले मलाई मिथिला शर्मा भनेर चिनायो

Friday, November 16th, 2018

मिथिला शर्मा, कलाकार
विभिन्न आरोह अबरोहबीचको मिलन नै जीवन हो । झुसिल किराले आफू सकिन लाग्दा सोच्छ, मेरो जीवन यत्ति नै हो तर त्यो अन्तिममा एउटा सुन्दर पुतली बनेर निस्कन्छ, त्यही हो जीवन, जसको न कुनै परिभाषा । आकांक्षाको सीमारेखा नभएको एक चेतनशील जीवन नै जीवन हो । नेपालीमा एउटा उखान छ, मुलाको डोब मुलाले नै बनाउनुपर्छ, जीवन त्यही बीचको हाँसो, रोदनको संयोग हो । मौसम जस्तै कहिले खुसी नै खुशी कहिले दुःख । जीवन यहीँ हो भनेर परिभाषित गर्न पक्कै पनि मुस्किल छ । जीवन काँडै काँडाबीचको एक गुलाब हो, जो काँडाबीच पनि मुस्कुराउने चेष्टा गर्छ । म मात्र होइन, हामी सबै त्यस्तै प्राणी हौं ।
२०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वासबाट चलचित्रको रंगीन दुनियाँमा होमिएकी म करिब १० वर्षको उमेरमा रंग मञ्चमा प्रवेश गरेकी थिए । मेरो जन्म पनि काठमाडौंमै भएको थियो । सानोे उमेरबाटै रंगकर्मीको रुपमा उदाएकी मलाई मेरो परिवार साथीभाई सबैको साथ र सहयोग थियो । अरुभन्दा अलि भिन्न सोच मेरो सानो उमेर देखि नै थियो ।
जीवनको नयाँ बिहानी त्यहींबाट सुरू हुन्छ जहाँ आफ्नो पाइलाको पहिलो कदम पर्छ भन्ने सोच्ने म सधैं सकारात्मक सोचका साथ अघि बढ्ने प्रयत्न गर्छु । अरुभन्दा म वास्तवमै फरक छु । १० वर्षकी एउटी सानी बालिका तत्कालीन राजाको जन्मोत्सवको अवसरमा नाँच्ने मौकापाएबाट अगाडि आएकी थिए । पहिलोपटक स्टेजमा अभिनय प्रस्तुत गरेको पनि त्यहीं थियो । त्यसबेलाको अनुभव त्यत्ति राम्रो छैन । बच्चै थिए, तिनै सानी १० वर्षे बालिका मलाई कालान्तरमा मिथिला शर्मा बनायो र कलाकार मिथिला शर्माको नामले चिनायो । सायद यो कल्पना बेगरको कुरा थियो । चलचित्र ‘विश्वास’मा जम्मा तीन मिनेटको मात्रै भूमिका निर्वाह गरेकी मलाई जीवनको मार्ग विश्वासले नै कोरेको मान्छु । मानिसमा विश्वास हुनुपर्छ भनिन्छ । मलाई त्यही विश्वास चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्न सफल भयो ।
विद्यालय स्तरमा मध्यमस्तरको विद्यार्थी म स्कूले जीवनमा पनि नाँच्न रमाउथे । विशेषगरी गणित विषयको पिरियडमा म भागेर नृत्य गर्थें । विद्यालय जीवनदेखि नै मेरा धेरै साथी थिए । त्यसमा पनि राम्रा साथी धेरै थिए र छन् पनि । विद्यालयस्तरका साथीसँग सम्बन्ध उस्तै सुमधुर छ अहिले पनि । करिब १० वर्ष अघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र ‘सुख–दुःख’मा अभिनय गरेपछि दर्शकले सुख दुःखको साथीका रुपमा लिएका थिए मलाई । हुन त आफ्ना सबै सन्तानलाई एकनास माया गर्न मन लाग्छ । मैले पनि आफूले यही नै चलचित्र मेरो लागि विषेश भन्न सक्दिन । चलचित्रका भूमिकाहरु आफ्नो ठाँउमा सबै राम्रा छन् । कुनै चलचित्रका कारण म सबैको दिदीबहिनी हुन पाएको छु त कुनैका कारण आमा । भलै कुनै क्यारेक्टरमा नराम्रो होला ।
मैले कहिले पनि आफ्नो पेशालाई अर्थात कलालाई व्यापारका रूपमा हेर्दै हेरिनँ । चलचित्र क्षेत्रमा लागेर सबथोक पाएकी छु, केही गुमाएकी छैन ठूला ठूला काम गरेर पनि नपाउने सन्तुष्ठी पाएकी छु, यसैमा खुसी छु । पहिलाभन्दा अहिले यो क्षेत्र झन फराकिलो भएको छ । युवापुस्ताले देखाएको इमान्दारिताले नेपाली चलचित्र अझ माथि उठ्ने विश्वास छ । पहिलाभन्दा धेरै कुराको विकास भएको छ । प्रविधिले कामलाई छिटो छरितो बताएको छ । अझै कलाकारिताबाट नै राम्रो आम्दानी गर्न सकिने अवस्था सिर्जना भएको छ, जुन कलाकारमात्र नभइ सिंगो चलचित्र उद्योगका लागि सकारात्मक पक्ष हो ।
साथीसंगीका हिसाबमा आफूलाई धेरै भाग्यमानी सम्झन्छु । हुन त भाग्यमा विश्वास नगर्नु भन्छन् तर कर्मसंगै भाग्यले पनि मलाई साथ दिएको छ । कला क्षेत्रमा पनि राम्रो स्थानमा आफुले आफैलाई देख्न पाए । संर्घष भन्ने कुरा आफ्नो ठाँउमा छ । यदि केही कुराका लागि आफूलाई संर्घष भयो भन्ने सोच्ने हो भने त्यो काम नगर्दा नै वेश ठान्छु । अन्जु पन्तले गाएको एउटा गीत नै छ जीन्दगानी फुलै फुलको थुंगा हँुदैन । साँच्चै यस्तै छ, जे कुरामा पनि रमाएर अघि बढ्न सकियो भने सफल होइन्छ, नत्र सधैं पछाडिको पछाडि ।
मेरो विवाहका बारेमा पनि धेरै चर्चा तथा परिचर्चा भयो, त्यो हुनु स्वाभाविक पनि हो । कलाकार सबैको हो, कलाकारले आफ्नो पर्सनल जीवन भन्न पाउँदैन । मैले आफूलाई अब साथीको आवश्यक छ भन्ने सोचेको समयमा विवाह गरेको ह्ुँ । लगभग ३३ वर्षसम्म असल साथी भएर हामीले एकअर्कालाई साथ दिएका थियौं । उहाँ (मोतीलाल बोहोरा )को जीवनमा त्यस्तो घटना घटेपछि नजिकैको आफन्त तथा साथीभाइको पनि सल्लाह विवाह गर्नकै निम्ती भयो । पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराको विवाह गर्ने प्रस्ताव आयो, त्यसलाई गम्भीररुपमा लिएर हामी एक हुने सोचेको थियौं । उहाँले मेरो बारेमा धेरै कुरा बुझ्नुभएको छ, त्यस्तै मैले पनि बुझेकी छु । धेरैको करियर विवाहपछि छुटेको देखेको छु । मलाई भने झन सर्पोट हुँदै गएको छ । यसमा पनि आफूलाई भाग्यमानी सम्झन्छु ।
करिब ५० वर्षको उमेरमा मैले विवाह गर्दा धेरै शुभचिन्तकले बुढेसकालमा विवाह किन गरेको होला भन्ने सोच्नुहुन्थ्यो, कत्तिले स्वयम् मलाई नै भन्नुहुन्थ्यो तर विवाहपछि पनि उत्तिकै खुशी छु, विवाह गर्न निकै ढिला गरेछु भन्ने पश्चाताप पनि छैन तर विवाहपछि अलि जिम्मेवारी थपिए जस्तो महसुश भने भएको छ । यहाँसम्म आइपुग्दा जीवन एकदमै रमाइलो लागेको छ । जीवनमा कहिलेकाही नसोचेको कुराले पनि फरक खुशी र आनन्द दिँदोरहेछ भन्ने कुरामा विश्वास राख्छु । मेरो जीवनमा पनि पछिल्लो समय नसोचेकै खुशी मिलेको छ । सुरूमा रहरले मञ्चमा नाँच्न उक्लिएको म आजभोली विभिन्न विद्यालयमा नृत्य सिकाउन पनि व्यस्त छु । कलाकारितामा लागेर बेग्लै उचाइ बनाइसकेकी छु भन्छन् साथीहरु तर मलाई भने त्यस्तो लाग्दैन । अझ गर्न धेरै काम बाँकी छ । सिक्ने र सिकाउने कुरा अझै बाँकी छ । रंगमञ्च, अभिनय र नृत्यमा जीवन रहेसम्म नै रहन्छु जीवनमा यो क्षेत्रबाट कहिल्यै टाढिन सक्दिन होला किनभने यो नसा जस्तो भइसकेको छ जीवन जति संघर्षपूर्ण छ, उत्तिनै मिठासपूर्ण पनि छ । त्यसैले जीवनको उकाली ओराली र सुख दुःख जीवनकै पाटो हुन् । मान्छे सुखमा नमात्तिकन र दुःखमा नआत्तिकन बाँच्न सक्नुपर्छ ।
मानिस हो, सबै कुराले पूर्ण कोही पनि हुँदैन । म मा पनि छैन तर म त्यसलाई पूरा गर्ने कोशिस गरिरहेकी हुन्छु । हामी आफूमा के छ भन्ने कहिले पनि सोच्दैनौं, अरुको कम्जोरी केलाउनतिर लाग्छौं । त्यसैले मानिस गलत दिशातिर दिशाबोध गर्छ । समयसंग चल्न सक्नु मानिसको कला नै हो । यो कला सबैले राम्रोसँग प्रस्तुत गर्ने प्रयास गर्नु पर्छ । मेरा लागि स्वर्णिम पल भनेको बाल्यकाल होला । टीन यज त मलाई त्यत्ति सम्झना पनि छैन । जिम्मेवारीले मानिसलाई सब चीज भुलाउँछ भन्छन्, मलाई पनि पनि त्यस्तै भएको थियो । मैले मेरो जीवनमा सम्पणर््ूा जिम्मेवारी राम्रोसँग निभाएको छु जस्तो लाग्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest