वैदेशिक रोजगार बिग्रदो घरवार

Sunday, December 27th, 2020


वैदेशिक रोजगार कति रहर र कति बाध्यता ? कसले बुझ्ने वैदेशिक रोजगारले निम्त्याएको पीडा ! देश,काल र परिस्थिति अनि परिवारको गाँस, बाँस र कपासको लागि हाम्रो दाजुभाइ, दिदीबहिनीहरू वैकल्पिक उपायहरू खोज्दै छातीभरि देश र परिवारको माया बोकेर गह्रौं छाती बनाएर विदेशलाई गतव्य बनाउन बाध्य छन् । वास्तवमा थोरै रहर धेरै बाध्यता बोकेर नेपाली युवायुवतीहरु विदेशिएका छन्, तर उनीहरूको पीडा कसले बुझ्ने ? देश भन्छ ‘रेमिटान्स’ तर उनीहरूको परिवारको पीडा अलग्गै छ । अनि उनीहरूलाई दलाले लाने खाडी मुलुक, यहि देखि कमिसनको खेल खेलिन्छ । सरकार भन्छ ‘फ्री टिकट फ्री भिसा’ तर उनीहरू कहिले नीति बमोजिम जान पाउदैनन्, घरवास उठाएर दलालले खान्छन् तर सरकार यस्ता कुरामा बेखबर छ ।
म्यानपावर कम्पनीले गाउँघरमा मिटर ब्याजमा घरखेत राखेर जोरजाम गरेको पैसा लिन्छन्, त्यहि पैसामा दलालले कमिसन खान्छन्, खोइ कस्लाई भन्ने उनीहरूको कथा ब्यथा ? विदेश गएर कमाउन सक्ने, नसक्ने केही ग्यारेन्टी हुन्न, ब्याज तिर्न नसके साहुले घरखेत खान्छन्, आमा, बुवा, श्रीमती, छोराछोरी कमाएर पठाउँछ भन्दै आफ्नो मान्छे विदेश पठाउछन् । तर उनीहरूको न जीवनको ग्यारेन्टी हुन्छ न कामको, न स्वास्थ्य को नै विमा हुन्छ । तर पनि ज्यान जोखिममा लिएर दैनिकजसो हज्जारौं हजारको सख्यामा विदेशिने गर्छन् हाम्रा दाजुभाइ दिदीबहिनीहरू । यस्तो देख्दा साहै दुःख लाग्छ अनि कहिलेकहि कल्पना पनि आउँछ मनमा ‘संसारको सबथोक आयात गर्ने हाम्रो देश नेपाल मान्छे मात्र निर्यात गर्छ’ त्यो पनि वर्किङ् भिसामा । युवा जनशक्ति उमेर रहुन्जेल विदेशमा अप्ठ्यारो, खतरापूर्ण र फोहोरी (थ्री डि अर्थात डिफिकल्ट, डेन्जर, डटी) काममा विताउँछन् ।
नेपाली युवाहरुको यस परिस्थितिमा राज्य मौन छ । सोच्दैन कि यी जनशक्ति कुनै ठुला उद्योगधन्दा खोलेर देशमै परिचालन गर्दै देश समृद्धि बनाऔ । खै ? कसलाई भन्ने आफ्नो देशका जनताको जिउधनको सुरक्षा दिदै पारिवारिक वातावरण बनाउदै रोजगार श्रृजना गरौ भनेर । हुन त देशलाई फाइदा भएको होला उनीहरूको रेमिट्यान्सले तर रेमिट्याान्स भरपर्दो र दीगो आयश्रोत पक्कै होइन र देश समृद्धितिर जाने हो भने युवा शक्ति सरकारले रोक्नु आवश्यक देखिन्छ । गाउँघर सबै रित्ता छन्, जेष्ठ नागरिक, केटाकेटी मात्र छन् गाउँघरमा, ‘सन्तान बुढेसकालमा सहारा’ भन्ने उखान अब रहेन ।

सबै खेतपाखा बाझा छन् यतिखेर, सन्तान पर्खाईको पिडाले आमा, बाबा गालामा हात राखेर उनीहरूको सम्झनामा आयु छोट्याउदै देसलाई धिक्कार्दै बस्न बाध्य छन् । उता हाम्रा दाजुभाईहरू पारिवारिक सम्झना र पीडामा ज्यान सुकाउदै विदेशीको गुलाम बन्दैछन् । ठुला सपना त नहोलान् तर, छोराछोरीको पालन पोषण, शिक्षादिक्षा, श्रीमतीको आकांक्ष अनिवार्य बाध्यता छन् उनीहरुलाई । उनीहरूको पीडा कस्ले बुझ्ने ? शारीरिक, मानसिक पीडामा विक्षिप्त नै छन् केही वाहेक, धेरै तर विकल्प पनि त छैन, देशमा बसेर वेरोजगार भएर ! यता श्रीमतीको पनि कथा ब्यथा उस्तै छन्, बर्सेनी भेट नहुने अनि विकल्प खोज्दै घरवार बिग्रदै गईरहेको छ, कति विक्षिप्छ छन् कथा ब्यथा । बालबच्चा छाड्दै दुःख गरेर कमाएको पैसा लिएर घरवार विहिन बनाएका छन् । कमसेकम पनि परिवर्तनको कुनै विकल्प रोजिदिने हो भने श्रीमान श्रीमती एकै ठाउँ भए पनि पारिवारिक विखण्डन हुने थिएन होला, साहै दःुख, पिडादायी क्षण नै छ वैदेशिक रोजगार । कोही हाम्रो दाजुभाईहरू विदेशी जेलमा बर्षाै देखि सडेका छन्, कोहि लुटिएका छन् त कोहि अस्पतालहरूको कोमामा छन्, कोहि बन्द वक्सामा फर्किन्छन् त कोहि अंगभंग भएर । उनीहरुको जिम्मा कस्ले लिने ? अरू देशमा नागरिकको जिम्मा सरकारले लिन्छ तर नेपालमा चासो छैन कसैलाई, सम्बन्धित निकायहरु मौन देखिन्छन् ।
अंगभंग भएर फर्किनु पर्दा उनीहरूको जीवन झन् कष्टकर र पिडादायी छ, पारिवारिक अपहेलना सहनु छ, यी पारिवारिक विखण्डन कस्ले बुझ्ने ? राजदुतावासमा रोजगारीमा जानेहरूको सुरक्षा र गुनासो सुन्न सरकारले कर्मचारीहरू नपठाएका पनि होइनन् तर उनीहरूले पनि गुनासो खासै नसुनेको बारम्बार आवाजहरू आउछन्, यस्ता कुरामा सरकारी निगरानी हुनुपर्ने होईन र ? हरेक देशमा सरकारले पठाएका श्रमचारीहरूको काम के हो ? कि उनीहरूकै श्रमलाई सहचारी गर्ने हो ? अलिकति त च¥याएको घाउहरूमा मलहम लगाउने काम गरौ सबैले आ–आफ्नो क्षेत्रबाट, नत्र विकराल रूप लिन्छ वैदेशिक रोजगारले । सरकारले जव सम्म ‘विकल्प होइन वैदेशिक रोजगार’ भन्ने नीति साथ नयाँ भिजनले रोजगारको संस्थागत विकास गर्दैन तब सम्म यो भन्दा विकराल स्थिति निम्त्याउने छ वैदेशिक रोजगारले, रेमिटान्स क्षणिक आयश्रोत हो, तर संस्थागत रोजगारले देस पनि समृद्धि तिर लम्कन्छ, जय समृद्धि !

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest