व्युटिसियन चेसाङ लामा

Thursday, September 12th, 2019


स्वावलम्वी, आत्मनिर्भर, पौरखी र उद्यमशील हुन सके समाजमा छुट्टै स्थान पाइनुको साथै आफ्नो जीवन पनि सफल हुन्छ, यस्तै सफल व्यक्ति हुन् चेसाङ लामा । २०४६ साल जेठ २६ गते बुवा काजी लामा र आमा माइली घिसिङ लामा कि सुपुत्रीको रुपमा काभ्रेमा जन्मेकी उनी आँफू त सुन्दर छिन् नै आफ्नो पेशा पनि सुन्दर बनाउने रोजिन् । राम्री देखिन कस्लाई पो मन नलाग्ला र ? ब्युटिशियन पेशा अंगालेर उनले राम्री देखिन चाहने धेरैलाई राम्री बनाइदिएकी छिन् । यो पेशामा आउनु पहिले उनले आँफूलाई दक्ष बनाउन धेरै तालिमहरु लिइन् । ब्युटिशियनको सुरुवाती ज्ञान बनेपामा लिएकी उनले डिप्लोमा कोर्षको लागी भने काठमाण्डौलाई नै रोजिन् । २०६४ सालमा काठमाण्डौ प्रवेश गरेकी उनले डिप्लोमा कोर्ष संगै ट्याटु खोप्न पनि सिकिन् विदेशी संग । नेल आर्टको छुट्टै कोर्ष पनि उनले पुरा गरिन् । आँफूलाई यो क्षेत्रमा अझ निखार्न उनले सिक्दै काम पनि गर्न थालिन् । सुरुवाती दिनमा धुलिखेलमा ब्युटीपार्लर संचालन गरेकी चेसाङले अलि ठुलो बजारको आवश्यकता महशुष गरिन् र काठमाण्डौको सिनामंगलमा मुस्कान ब्युटी पार्लर संचालन गरिन् । विगत १५ वर्ष देखि यो क्षेत्रमा सक्रिय उनले यो अवधिमा कोटेश्वरमा समेत आफ्नो शाखा विस्तार गरिसकेकी छिन् । महिला र पुरुष दुवैलाई आफ्नो पार्लरबाट उत्कृष्ट सेवा दिदै आएकी चेसाङले आफ्नो परिचयलाई अझ फराकिलो बनाएकी छिन्, उनी यो क्षेत्र कि दक्ष ब्युटिशियनको साथै ट्रेनर पनि हुन्, यो पेशामा लाग्न चाहने झण्डै एकसय जनालाई उनले तालिम दिएर दक्ष बनाइसकेकी छिन्, उनीबाट तालिम प्राप्त धेरै दिदी बहिनीहरुले आफैंले पार्लर संचालन गरेर राम्रो आम्दानी गरिरहेका छन् ।
ब्युटिशियनको रुपमा स्थापित उनको सुमधुर परिवार रहेको छ । निमा लामा संग प्रेम विवाह गरेकी उनका हाल एक छोरा र एक छोरी सहितको सुखी र खुशी परिवार रहेको छ । भागेर गरिएको प्रेम विवाह भए पनि उनको पारिवारिक सम्वन्ध सुमधुर छ । एकअर्कालाई बुझेर र एक अर्काको पेशालाई सम्मान गरेर अघि बढिरहेको उनीहरुको पारिवारिक सम्वन्धलाई एक उदाहरणीय परिवारको रुपमा लिन सकिन्छ । ब्युटिशियन ब्यवसायले नै आफ्नो जीवन सहज, सुखी र सकारात्मक बनाएको उनको अनुभव छ, उनी भन्छिन् ‘यो पेशामा म पूर्ण सन्तुष्ट छु, आगामी दिनमा यहि पेशा र व्यवसायलाई निरन्तरता दिनेछु, उपत्यकामा मात्र सिमिति नरही देशका विभिन्न ठाउँमा र विदेशमा समेत शाखा सञ्जाल विस्तार गरेर सेवा दिन प्रयत्न गर्नेछु ।’

( नवनारी मासिक पत्रीकाको २०७६ जेष्ठ अंकमा परुकाशीत )

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest