विष्णु अधिकारी ,
काठमाण्डौ ः मानवबेचबिखन विरुद्ध विगत लामो समयदेखि कार्यरत सामाजिक संस्था शान्ति पुनस्र्थापना गृहले आफ्नो स्थापनाको २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । ललितपुरको गोदावरी नगरपालिका ठेचोमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले आ.ब. २०७४÷७५ मा नेपाल भारतका विभिन्न नाका र भारतका विभिन्न ठाउँबाट बेचबिखनमा परेका तथा बेचबिखनको जोखिममा रहेका २०३ महिला तथा बालबालिकाको उद्धार गरेको हो । यसका साथै संस्थाले ४९०० जनालाई परामर्श प्रदान गरेको छ र ५ जना महिलाहरूलाई क्षमता विकास र आयमूलक तालिम दिई आत्मनिर्भर बनाएको छ ।
बेचबिखनमा परेका तथा बेचबिखनको जोखिममा रहेका महिला तथा बालबालिकाको उद्धार गर्ने, पुनस्र्थापना गर्ने र पुनस्र्थापितहरुलाई सिपमूलक तालिम दिई आत्मनिर्भर बनाउँदै अगाडि बढेको यस संस्थाले कपिलवस्तुको कृष्णनगर र कैलालीको धनगढीमा आफ्नो शाखा कार्यालय मार्फत परामर्श र उद्धारको कामलाई अगाडि बढाएको छ । स्वागत सहित बार्षिक प्रतिवेदन यसै संस्थाका सचिव श्री इन्द्रराज भट्टराईद्वारा प्रस्तुत गरिएको थियो ।
संस्थाका कार्यवाहक अध्यक्ष श्री उमा जोशीको अध्यक्षतामा सम्पन्न यस साधारण सभाका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख श्री गजेन्द्र महर्जनले महिला र बालबालिकाको क्षेत्रमा कार्यरत यस संस्थासँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका जिल्ला संयोजक श्री भूमीराज भट्टराईद्वारा संचालन गरिएको यस कार्यक्रममा विशेष अतिथि श्री दुर्गा सिंह, राष्ट्रिय महिला आयोगका शाखा अधिकृत श्री भरत धमला, लगायतले संस्थाले गरेको यस्तो पवित्र कार्यमा सदैव साथ र सहयोग रहने कुरा व्यक्त गर्नुभएको थियो ।