श्रीमती बहुगुणी भएकोमा गर्व गर्छु

Sunday, December 2nd, 2018

 

देवेन्द्र नेवाः, नविना श्रेष्ठ नेवाः
नेपालीमा एउटा भनाई छ, ‘जन्म, मृत्यु र विवाह पहिले नै लेखिएर आएको हुन्छ । तर त्यो सम्बन्ध जोडिएपछि कसरी सफल बनाउने भन्ने कुरा व्यक्तिमा निर्भर हुन्छ । जस्तो कि विवाह । विवाह गर्न हरेकको आफ्नो प्रयासलेमात्र पुग्दैन । यसका लागि संयोग नै पर्खनुपर्छ । यस्तै एउटा संयोगले भएको विवाह हो, देवेन्द्र नेवाः र उनकी जीवन संगीनि नविना श्रेष्ठको ।
काठमाडौंकै रैथाने परिवारका देवेन्द्र र नविना विद्यालयदेखिकै साथी थिए । देवेन्द्रभन्दा एक दुई व्याच जुनिएर भए पनि नविना र देवेन्द्रको भेटघाट बाक्लै थियो । संखुवासभा चैनपुर घर भएर मामाघरमा बसेर पढ्दै आएकी नविना र देवेन्द्रको भेट २०४८ सालमा स्कूलमै भएको थियो । स्कूले जीवनदेखि नै एक अर्कालाई मनपराएका थिए । स्कूल पढ्दा बसेका कयांै प्रेम सफल नभएका पनि छन् तर यो जोडी भने त्यो अर्थमा भाग्यमानीमा पर्छ ।
सानैदेखि संगीतमा रुची राख्ने देवेन्द्र प्राय घरको छतमा साथीहरु जम्मा गरेर गितार बजाउँथे, त्यही बाटो हिँड्ने नविनाले ती धुनहरु सुनिरहेकी हुन्थिन् । उनलाई ती गीतारबाट निस्कने धुनले देवेन्द्रप्रति झनै नजिक बनाउँथ्यो । यसैक्रममा बसेको माया विवाहसम्म आइपुग्छ भन्ने सोचेका पनि थिएनन् दुबैले तर संयोगबस पारिवारिक कुरा पनि मिल्यो । एक अर्काको परिवारले सजिलै हाम्रो प्रेम स्वीकार ग¥यो, नविना भन्छिन् । देवेन्द्र भन्छन्– हाम्रो पारिवारिक अवस्था पनि एउटै थियो, जसले गर्दा विवाहपछि पनि कुनै समस्या आएन । सालिन स्वभावकी नविना र देवेन्द्रबीचको सम्बन्धमा कहिले पनि नराम्रो हुँदै भएन । ठूलो स्वरले नबोल्ने नविना र अन्तर्मुखी स्वभावका देवेन्द्रबीच विवाह भएको निकै समय भइसकेको छ तर अहिलेसम्म सानो सानो झगडासमेत अनुभव गर्नुपरेको छैन । देवेन्द्रको सोझोपन मन परेर नै विवाहको सोच बनाएकी थिइन् नविनाले । घरको काममा खासै वास्ता नगर्ने देवेन्द्रमा विवाहअघि र पछिमा धेरै कुरा परिवर्तन आएको पाउँछिन् नविना ।
देवेन्द्र भन्छन्–जिम्मेवारीका कारण पनि होला, महिलामा शारीरिक मानसिक जस्ता विषयमा विवाहअघि र पछि निकै फरक हुन्छ । त्यो परिवर्तन नविनामा पनि भएको छ तर मायामा भने पहिले र अहिले उस्तै नै छ । बरु बढ्दै गइरहेको छ ।
सधैं संगीतमै व्यस्त देवेन्द्रसँग बिशेष उत्सवमा पनि परिवारलाई दिने समयको अभाव छ । नविना भन्छिन्– कहिले काहीँ हामीसँग बोल्ने समयसम्म पनि उहाँलाई हुँदैन तर त्यो व्यस्ततालाई मैले महशुस गर्ने गरेकी छु । सांगीतिक यात्राको दौरान तथा घुमघामका क्रममा देवेन्द्र धेरै ठाँउ जान्छन् तर उनी श्रीमतीका लागि स्पेसल भनेर कहिल्यै उपहार भने ल्याउँदैनन् ।
नविना भन्छिन्–विवाहपछि पोखरा तथा अन्य धेरै ठाँउमा घुम्न गयौं, त्यसमध्ये बेगनासताल फेरी जान मन छ । देवेन्द्र आफ्ना सबै कुरा नविनासँग सेयर गर्न मनपराउँछन् । आर्थिक कारोबार पनि श्रीमतीकै हातबाट गर्ने गर्छन् । नविनामा धेरै गुणहरु छन् तर अझ श्रीमतीले संगीत बुझ्दिएको भए हुन्थ्यो भन्ने लाग्छ देवेन्द्रलाई ।
हामीबीच विश्वास धेरै छ, त्यसैले पनि हामी सम्बन्धमा सफल छा्रैं भन्छन् देवेन्द्र र नविना । विवाह भएको १० वर्षपछि छोरीलाई जन्म दिएको यो दम्पत्तीलाई आफ्नै संसार सुन्दर लाग्छ । नविना आफूभन्दा पनि छोरीलाई समय दिए हुन्थ्यो भन्ने फिल गर्छिन् । विवाह पछि नविनाले आफ्नो पढाई पूरा गर्न सकिनन् यसमा भने उनलाई केहि गुनासो छ तर देवेन्द्र भने आफ्नो जीवनमा पाएका सबै कुराले खुशी छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest