संसारकै प्रभावशाली महिलाको सूचीमा उमादेवी

Monday, December 17th, 2018


सुदूरपश्चिमकी उमादेवी वादीलाई अहिले भ्याइनभ्याई छ । सबैको ‘दिदी’ बन्न मन पराउने उमा जसरी पनि समय मिलाएर सबैजनासँग कुरा गर्न भ्याउनुहुन्छ । बेलायती प्रशारण संस्था बीबीसीले विश्वभरका एकसय प्रभावशाली र प्रेरणादायी महिलाको सूचीमा १० औं नम्बरमा परेपछि उहाँको चर्चा एकाएक बढेको हो । सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सदस्यसमेत रहेकी उमादेवी वादीले जातीय विभेद अन्त्य गरेको र वादी समुदायको चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै बीबीसीले विश्वका १०० प्रेरणादायी र प्रभावशाली महिलाको१० औँ नम्बरमा समावेश गरेको हो ।
बीबीसीको १०० महिलाको सूचीमा संयुक्त राष्ट्र संघकी उपमहासचिव नाइजेरियाकी अमिना जे मोहम्मद, अष्ट्रेलियाकी पूर्वप्रधानमन्त्री जुलिया गिलार्ड, क्लिन्टन फाउन्डेसनकी उपाध्यक्ष तथा पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूवविदेशमन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सी क्लिन्टन लगायतका महिला परेका छन् । वादी समुदायका तर्फबाट सांसदसमेत रहेकी उमादेवीले वादी समुदायको मुक्ति, नागरिकता प्राप्ति र अलिकति भएपनि समाजको हेर्ने दृष्टिकोण बदल्नमा ज्यानकै बाजी लगाउनु भएको छ ।वादी समुदाय पनि नेपाली नागरिक भएको भन्दै आमाका नामबाट नागरिकता दिनुपर्ने, वादी समुदायका महिलालाई सीप सिकाएर समाजमा पुनस्र्थापना गर्नुपर्नेलगायत माग राखेर २०६४ सालमा सिंहदरबार घेराउ आन्दोलनको नेतृत्व गरेपछि उमादेवी वादी चर्चामा आउनु भएको थियो । अहिले पनि वादी समुदायका महिलालाई समाजमा यौन दासीका रुपमा हेरिन्छ । पहिलेको तुलनामा वादी समुदायका महिलाहरु यौन पेशा छाडेर अरु नै पेशा गर्न थाले पनि यो प्रथा र सोच भने हट्न सकेको छैन ।

 

झुपडीदेखि संसदसम्मको यात्रा
वादी समुदाय नेपालको पिछडिएको वर्गमा पर्छ । राजसंस्था रहँदासम्म यो समुदायका मानिस राजपरिवार कहाँ हुने उत्सव र चाडबाडमा नाचगान गर्थे । त्यसबापत जग्गा–जमिन, घर र नगद–जिन्सी ‘बक्सिस’ पाउँथे । जीविकोपार्जन यतिले मात्र नहुँदा यो समुदायका कतिपय महिला देह व्यापार गर्थे । यो काम केही महिलाले अझै पनि गर्ने गरेका उमादेवीको सुनाउनुहुन्छ ।दलितभित्रको पनि दलित भनेर चिनिने वादी समुदायबाट जनप्रतिनिधि बनेकी उमाले आफ्ना दुःख सुनाउँदै जानुभयो –‘आमाले गर्भमा बोकेपछि नै मेरो संघर्ष सुरु भयो । जतिबेला आमाको गर्भमा थिएँ, त्यो पनि छोरी भएर । त्यहिँबाट नै मेरो संघर्ष सुरु भयो ।’

उमा वादी सल्यानमा जन्मिनु भएको हो । बाटोमै जन्मिएकी उमाको बाल्यकाल फिरन्ते तरिकाले बित्यो । कहिले कहाँ पुग्ने टुंगो हुँदैन थियो । माग्दै, घुम्दै, नाच्दै कैलाली, धनगढी, बाँके बर्दिया गर्दै बित्योे बाल्यकाल । उहाँको परिवार ६ महिना पहाड त ६ महिना तराईमा बस्ने गथ्र्यो । ६ महिना तराईमा बसिसकेपछि औलो लाग्छ भन्दै सल्यान उक्लिँदै ओर्लिंदै उमाको बाल्यकाल बित्यो । बिहान बेलुका के खाउँ भन्ने समस्याले पिरोलिएकी उमालाई आमाकै जस्तो ‘धन्दा’ गर्नुपर्ने पीरले सताइरहन्थ्यो ।मन्दिरमा पूजा गर्न जाँदा उहाँको पालो कहिल्यै आएन । उहाँले चढाउन लगेका फलफूल र अक्षताले कहिल्यै भित्र प्रवेश पाएनन् । तर भेटी भने चढ्ने गथ्र्यो । विद्यालयमा पढ्न जाँदा अरु सबैलाई कुर्सी पुग्थ्यो । तर उमा जहिल्यै भूईँमा बस्नुहुन्थ्यो । घरबाट बोरा लैजान बिर्सिएको दिन त्यही चिसो छिँडीमा बसेर भए पनि उमाले कखरा सिक्नुभयो । वादी समुदायका लागि त्यतिबेला स्कुल बर्जित भए पनि उमाले कखरा सिकेरै छाड्नुभयो । साथीहरु सबै हुल बाँधेर पढेका बेला एक्लै बस्नुपथ्र्यो । सबैले औंला ठड्याएर वादीकी छोरी भनेर होच्याउँथे । तर पनि उमाले पढाई छाड्नु भएन । आफूमाथिको हेपाईलाई शक्तिमा बदल्दै जसोतसो ८ कक्षासम्म पढ्नुभयो ।‘स्कुलमा ‘यो’ वादीकी छोरी हो । छुनुहुन्न भन्थे । शुरुमा मलाई त्यो छुनुहुन्न भन्ने पनि थाहा थिएन’ उमादेवीले भन्नुभयो ‘पछि आमाले भनेर थाहा पाए । वादीकी छोरी भनेर होच्याएपछि एक्लै बस्नुपथ्र्यो । सर नजिक आउनुहुन्नथ्यो । मैले दोहो¥याएर सोध्न सक्दिनथे । सरले बुझ्यो कि बुझिन भनेर मलाई कहिल्यै सोध्नु भएन । तर पनि मैले हार खाइन । स्कुल जान छाडिन ।’ पानी तिर्खा लागे पनि अरुले खाएर बाँकी भए मात्र पाइन्थ्यो । कहिलेकाहीँ त साथीले पानी नदिँदा त्यसै हिँड्नु पथ्र्यो । बुवाको टुंगो नलाग्दा यो समुदायका छोराछोरीलाई जन्मदर्ता र नागरिकता लिन पनि कठिन हुन्थ्यो । यसले उमाको मन पिरोलियो । रगत उम्लियो ।

उमादेवीका लागि १२ वर्षपछि फर्किएको खोलो
समाजमा जता फर्किए पनि ठक्कर र चोट मात्र सहनु परेपछि उमादेवी पहिचान खोज्न लाग्नुभयो । । त्यसको सुरुवात आफ्नै वडाबाट गर्नुभयो । तर स्थानीय प्रशासनले पक्राउ गर्न थालेपछि गाउँ छाड्नुपर्यो । फिरन्ते जीवनका कारण गाउँ छाड्दा ठूलो पीर चिन्ता भएन । एक गाउँबाट अर्को गाउँ नभई प्रशासनिक केन्द्रमा गएर आन्दोलन गर्न्तिर उमाको ध्यान मोडियो ।यसका लागि उहाँ जिल्ला हुँदै केन्द्रसम्म आइपुग्नुभयो । २०६४ सालमा भएको वादी आन्दोलनको नेतृत्व गर्नुभयो । आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोबास, यौन पेसा अन्त्य, निःशुल्क शिक्षा, छुवाछुत अन्त्यलगायतका २६ बुँदे माग राखेर आन्दोलन भएको थियो त्यतिबेला । आफ्ना मागको सरकारले सुनुवाई नगरेपछि एक्लो आँट लिएर उमा जबर्जस्ती सिंहदरबार प्रवेश गर्न मूल गेटमा चढ्नुभयो । सुरक्षाकर्मीले सिंहदरबार प्रवेशमा रोक लगाउँदा उहाँ अर्धनग्न अवस्थामै गेट चढ्नुभयो ।

लगातारको धर्ना, प्रदर्शनले माग सुनुवाई नभएपछि हुल बाँधेर उमादेवीले सिंहदरबार छिर्ने आँट गर्नु भएको हो । उहाँको त्यही आँटले सञ्चारमाध्यममा स्थान पायो । पत्रपत्रिकाका हेडलाइनमा उमादेवी अटाउनुभयो । अर्धनग्न उमादेवीको त्यही फोटोले विश्वव्यापी चर्चा पायो । उमादेवीको त्यही संघर्षलाई बिबिसीले पनि निरन्तर ‘फ्लोअप’ गरिरहेको थियो । जसको नतिजा आउन १२ बर्ष लाग्यो । आन्दोलनकै बलमा आफ्नो परिचय स्थापित गरेर प्रदेशसभा सांसद बन्न सफल भएपछि उमादेवी संसारकै प्रेरणादायी महिलाको सूचीमा अटाउनुभयो । उमादेवीसँगै वादी महिलाहरुको त्यतिबेलाको आन्दोलनमा विभिन्न संघ संस्था र सञ्चारमाध्यमले पनि साथ दिएपछि सरकारमाथि दबाब बढेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वार्तामा बोलाउनुभयो । सरकारले नेपालगन्जमै उनीहरूको गाँसबाँस व्यवस्था गर्ने आश्वासन दियो । उमालाई भने यत्तिले मात्र चित्त बुझेन । उहाँ देशभरिका वादी मुद्दा लिएर फेरि सिंहदरबार पुग्नुभयो ।

२०६४ भदौ २८ गते तत्कालीन शान्तिमन्त्री रामचन्द्र पौडेलसँग उहाँको टोलीले वार्ता ग¥यो । सरकारले माग सम्बोधन गर्ने सम्झौता ग¥यो । यसैको फलस्वरुप आमाको नामबाट जन्मदर्ता र नागरिकता पाउने संवैधानिक ग्यारेन्टी भयो । सरकारले यौन पेसामा लागेका वादी महिलालाई आत्मसम्मानका साथ पुनःस्र्थापना गर्ने निर्णय पनि गर्यो । त्यही निर्णयपछि वादी महिलाले देह व्यापार त्यागेको घोषणा गरे ।२०७४ सालमा भएको चुनावमा नेपाली कांग्रेसको तर्फबाट समानुपातिकमा परेपछि उमाको जीवन र दैनिकी फेरिएको छ । उहाँको भेटघाट र जमघट पनि छुट्टै हुने गर्छ । उहाँ सर्वसाधारणदेखि उच्च पदका व्यक्तिसम्मलाई सहजै भेट्न र कुरा गर्न सक्नुहुन्छ । देशमा देउकी प्रथा हट्यो । मुक्त कमैयाले मुक्ति पाए । अब वादी समुदायको मुक्तिको पालो भन्ने उहाँको अभियान नै छ । अहिले पनि वादी समुदायका महिलालाई समाजमा यौन दासीका रुपमा हेरिएकोप्रति उहाँलाई सधै दुःख लाग्छ ।

यौन पेशामै अल्झिने कि छाड्ने ?
पहिलेको तुलनामा वादी समुदायका महिलाहरु यौन पेशा छाडेर अरु नै पेशा गर्न थालेका छन् । तर यो प्रथा र सोच भने हट्न सकेको छैन । वादी समुदायमा यसबारे फरक फरक धारणा राख्ने तीन थरीका मानिस छन ।“एक थरी यो पेसा अझै गर्न पाउनुपर्छ भन्ने छन्, अर्को थरी खुलेआम होइन लुकीछिपी यो काम गर्न पाउँ भन्ने खालका छन्’, उहाँले भन्नुभयो, ‘अर्को थरी भने यो पेसाबाट सबै वादी महिलाले मुक्ति पाउनुपर्छ भन्ने छन् ।’नीति निर्माण तहमा केही कानुन बने पनि त्यसको सही कार्यान्वयन हुन सकेको छैन । यसै कारण वादी समुदायका केही महिलाहरुले यौन पेशालाई नै निरन्तरता दिनु परेकोप्रति उहाँ चिन्तित हुनुहुन्छ ।

अवस्था बदलियो, तर बाध्यता उस्तै !
‘हामीले आन्दोलन गर्नु अघि र अहिलेको अवस्था धेरै बदलिएको छ । पहिले १२ वर्षकै उमेरमा वादी समुदायका किशोरी बलात्कृत हुनुपथ्र्यो । यौनका साधन हुनुपथ्र्यो । छोरीलाई पढाउने होइन धन्दामा लगाउनुपर्छ भन्ने मान्यता थियो । छोरीहरुले स्कुल देख्न पाउँदैनथे’, उहाँ भन्नुहुन्छ, ‘तर अहिले अवस्था फेरिएको छ । वादी समुदायका छोरीले पढ्न पाएका छन् । आत्मसम्मान पाएका छन् । पहिले जबर्जस्ती यौनधन्दामा लगाइन्थ्यो । अहिले गिट्टी कुटेर पनि छोरीहरु पढेका छन् । आफूले चाहेको र सकेको काम गरेका छन् । यो आन्दोलनको उपलब्धी हो । तर यो नै पर्याप्त छैन । पहिले आफ्नो आवाज उठाउन सडकमा थिए, आमाको नाममा नागरिकता पाउन थालियो । अहिले छाती ठोकेर संसद्मा छु । आफ्नो आवाज उठाउन । एक न एक दिन कसो न्याय नपाइएला ?’ उहाँ भन्नुहुन्छ ।उहाँ अहिले पनि सदनमा वादी समुदायको स्थायी बसोबास, यौन पेसा अन्त्य, निःशुल्क शिक्षा, छुवाछुत अन्त्य लगायतका कुरा उठाउन कहिल्यै छाड्नु हुन्न । अहिले नै नपाए पनि निरन्तर संघर्ष गरेपनि एक न एक दिन वादी समुदायले मुक्ति पाउने दरिलो विश्वास उहाँमा छ ।

स्कुल जान्छन, तर जागिर खान सक्दैनन्
संख्याको हिसावले धेरै विद्यालयमा गए पनि उमा वादीले औपचारिक शिक्षाका लागि कम मात्र अवसर पाउनुभयो । औपचारिक शिक्षाको अवसर नपाए पनि उहाँलाई पढ्न र लेख्न समस्या छैन । बाल्यकालमा फिरन्ते जीवन भएकाले पनि स्थायित्व थिएन ।जुन ठाउँमा पुग्यो त्यहीको विद्यालयमा जाने गर्नुहुन्थ्यो । वादी हाँस्दै भन्नुहुन्छ, ‘बर्दिया र कैलालीको सीमादेखि कैलाली र महेन्द्रनगरको सिमामा पर्ने सबै स्कुलमा पढेकी छु । सबै साथी अटाउने बेन्च स्कुलमा थियो तर म कहिल्यै अटाइनँ । निकै दुः ख गरेरै भए पनि थोरै पढ्न र लेख्न सक्ने भएकी छु ।”अहिले धेरै वादी समुदायका छोराछोरी स्कुल जान सक्छन् । निर्वाध पढ्न पाउँछन् । तर निकै थोरैले मात्र औपचारिक शिक्षा पूरा गरेका छन् । धेरै जना स्कुल पढ्दा पढ्दै छाड्छन् । स्कुल गएर पनि औपचारिक शिक्षा पूरा नगरेकोप्रति उमादेवीलाई चिन्ता थपिरहेको छ ।
गाउँ छुट्यो, प्रेम छुटेन !
वादी समुदायकी छोरी उमाले अन्तरजातीय विवाह गर्नुभयो । प्रेमराज भट्ट कर्णालीको सिमानामा डुंगा वारपार गर्नुहुन्थ्यो । कर्णाली वारि भट्टको अनि पारि उमाको घर थियो । कर्णाली वारपार गर्दा गर्दै माया बस्यो । डुंगा चढ्दाचढ्दै उमा र प्रेमराजको माया झाँगियो । भण्डै २ वर्षको प्रेम सम्बन्धपछि परिवारको इच्छा विपरित भट्ट र वादीले विवाह गर्नुभयो । विवाहपछि पनि उमाले दुःखबाट छुटकारा पाउनु भएन । “प्रेम विवाह त्यसमाथि अन्तरजातीय, क्विन्टलका क्विन्टल आँशुका पोका खस्ने रहेछन् । मैले बारबार तपाई बाहुँनको छोरा म बादीको छोरी तपाईको परिवारले हामीलाई स्वीकार्दैन भने ।तर पनि उहाँले मेरो साथ छाड्नुभएन । मेरो मनमा पनि माया त थियो नि । उहाँले कम्मर कसेपछि मैले पनि साथ दिए’, विवाहपछिका कुरा सुनाउँदै भन्नुभयो, ‘प्रशासनले हामीलाई धेरै दुख दियो । अनि हामी गाउँ छोड्न बाध्य भयौं । अहिले कैलालीको टिकापुरमा हाम्रो घर छ । उहाँले त्यो बेला दिएको साथ अहिलेसम्म पनि छ । हामी खुसी छौं ।’
(उज्यालो अनलाइनबाट साभार)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest