सन् २०२० का प्रमुख विश्व घटनाहरु

Thursday, December 31st, 2020

काठमाडौँ :अंग्रेजी वर्ष सन् २०२० आजदेखि हामीबाट बिदा हुँदै छ । समग्रमा यो वर्ष विश्वभर महामारी, मृत्यु र अनिश्चयको पर्यायका रुपमा रह्यो । १ सय ९० भन्दा बढी देशमा फैलिएको कोरोना भाइरसका कारण ती देशका जनता कम्तीमा ६ महिना घरभित्रै थुनिन बाध्य भए । त्यसबाहेक राजनीतिक उथलपुथल, प्राकृतिक प्रकोप, हत्या र आक्रमणका घटनाले पनि निरन्तरता पाए ।
विश्वव्यापी कोरोना कहर
डिसेम्बर ३१, २०१९ मा चीनले हुबेई प्रान्तको वुहानमा असामान्य खालको निमोनिया देखिएको भन्दै विश्व स्वास्थ्य संगठन डब्लूएचओलाई जानकारी गरायो । केही कामदारमा अज्ञात भाइरसको संक्रमण भएपछि वुहानको हुवानान सिफुड होलसेल मार्केट अंग्रेजी नयाँ वर्ष २०२० सँगै बन्द गरियो । जनवरीमा ५ मा चिनियाँ अधिकारीले सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम९सार्स० नै दोहोरिएको सम्भावना रहेको जानकारी दिएका थिए ।

जनवरी ११ मा सिफुड मार्केटबाट सामान किन्ने एक जना ६१ वर्षीय पुरुषको मृत्यु भयो । भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका ती व्यक्तिको जनवरी ९ मा मृत्यु भएको थियो । त्यस्तै जनवरी ७ मा डब्लूएचओको अनुसार चिनियाँ अधिकारीले नयाँ भाइरस भएको पत्ता लगाए । कोरोना भाइरस परिवारकै भाइरस भएकाले यसलाई २०१९ नोबेल कोरोना भाइरसको नाम दिइयो ।

जनवरी १३ मा चीनबाहिर पहिलो पटक थाइल्यान्डमा पहिलो संक्रमित भेटिए । थाइल्यान्डका संक्रमित व्यक्ति चीनको वुहानबाट फर्किएका थिए । जनवरी १७ मा दोस्रो संक्रमितको मृत्यु भयो । यही बीचमा अमेरिका, नेपाल, फ्रान्स, अस्ट्रेलिया, मलेसिया, सिंगापुर, दक्षिण कोरिया भियतनाम र ताइवानलगायतका देशमा पनि कोरोना भाइरसका संक्रमित भेटिए । त्यसको केही दिनमै फिलिपिन्स, भारत, रुस, स्पेन, इटाली, अस्ट्रेलिया, क्यानडा, जर्मनीलगायतका देशमा कोरोना संक्रमण फैलियो ।

चीनमा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको १३ दिनपछि माघ १० गते(जनवरी २४) मा नेपालमा पहिलो पटक संक्रमण पुष्टि भएको थियो । हुबेईको वुहानबाट फर्किएका ३२ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सन् २०१९ को डिसेम्बरबाट विश्वका विभिन्न मुलुकमा फैलिन थालेको कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर ८ करोड २६ लाख जना संक्रमित भइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार तीमध्ये १८ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

महामारी, मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सन् २०२१ को पूर्वसन्ध्यामा आशाका किरणहरूसमेत देखिन थालेका छन् । विश्वलाई नै पराजित गरेको कोरोना भाइरस अब आफैं असफल हुने देखिएको छ । कारण, यसविरुद्ध विभिन्न देशमा विकसित भएका खोपहरू ।

हालसम्म अमेरिकी कम्पनी फाइजरले जर्मन साझेदारसँग मिलेर विकास गरेको खोप, मोडर्नाले निर्माण गरेको खोप, अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाको खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी पुष्टि भइसकेका छन् । यी खोपलाई विभिन्न देशले सार्वजनिक प्रयोगका लागि अनुमतिसमेत दिइसकेका छन् । त्यस्तै रुसमा विकसित ‘स्पुतनिक–५’ र चीनमा निर्मित ‘सिनोभ्याक’ प्रयोगमा आइसकेका छन् ।

अमेरिका, बेलायत, युरोपेली संघ, रुसलगायत देशले खोप अभियान सुरु गरिकेका छन् । ती खोपहरू क्रमशः विकासोन्मुख देशमा उपलब्ध गराउनसमेत पहल भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसबाट विस्तारै विश्व व्यवस्था सामान्यीकरणतर्फ अग्रसर हुनुका साथै अन्तर्राष्ट्रिय सहयोग बढ्ने अपेक्षा गरिएको छ । तर पछिल्लो समय बेलायतमा देखिएर विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसको नयाँ प्रजातिले भने केही चिन्ता थपिदिएको छ ।

अमेरिकामा नयाँ नेतृत्व

सन् २०२१ को जनवरी २० देखि महाशक्ति राष्ट्र अमेरिकाको शासनसत्ता नयाँ नेतृत्वले सम्हाल्दै छ । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक दलका उम्मेदवार जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । उनको जितसँगै एसियाली मूलकी तथा पहिलो महिला कमला ह्यारिस अमेरिकको उपराष्ट्रपति बन्ने भएकी छन् ।

बाइडेनको जितसँगै अमेरिकले पुनः विश्वको नेतृत्व गर्ने अनुमान विश्लेषकहरूको छ । तर तत्काल सम्बोधन गर्नुपर्ने कार्यहरूको सूची लामो रहेकाले उनीमाथि ठूलै चुनौती छ । त्यसमाथि चीनसँग बिग्रँदो सम्बन्ध तथा कोरोना भाइरसका कारण शिथिल बनेको अमेरिकी अर्थतन्त्र सुधार्ने चुनौती बाइडेनका अघि तेर्सिएको छ ।

युरोपेली आयोगमा विदेश मामिलाका निर्देशक मार्क लियोनार्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजय सन् २०२० मा भएको निकै सुखद घटना मान्छन् । ‘मानिस सुतेर उठ्दा ट्वीटरमा ट्रम्पले के भने’ भनेर चिन्ता लिनुपर्ने समय सकिएको उनको बुझाइ छ । युरोपमा ट्रम्पकै पदचिह्न बोकेका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र पोल्यान्डका उपप्रधानमन्त्री जारोस्ल केजिन्स्की लङ्गडोझैं भइसकेका विश्लेषकहरूको दाबी छ । जर्मनीमा सन् २०२१ मा फ्रान्समा २०२२ मा हुने चुनावमा अब ट्रम्पेली मनोविज्ञान कमजोर हुने निश्चित छ ।

जसका कारण युरोपको राजनीतिमा परिवर्तन देखिन थालिसकेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि ट्रम्पको जस्तो कार्यशैलीमा परिवर्तन ल्याउन थालिसकेका जनाइएको छ ।

सलह आतंक र किसान आन्दोलन :

सन् २०२० को जुलाईमा दक्षिण एसियाका भारत र पाकिस्तानमा सलहले आतंक सिर्जना गर्‍यो । खासगरी इरानबाट पाकिस्तान हुँदै भारत पसेका सलहको झुन्डले लाखौं हेक्टरको बालीनाली नष्ट पारेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सलहका कारण भारतका आधा दर्जन राज्य निकै प्रभावित भएका थिए ।
सलहको मारमा परेका भारतीय किसानहरूले सरकारले ल्याएका कानुनका कारण थप पीडित भएको बताउँदै आएका छन् । नरेन्द्र मोदी सरकारले ल्याएका कृषि उत्पादन वाणिज्य तथा व्यापार प्रोत्साहन र प्रवर्द्धन ऐन २०२०, किसान सशक्तीकरण र संरक्षण सम्झौताका लागि मूल्य बिमा र कृषि सेवा ऐन, २०२० र अति आवश्यकीय वस्तुहरूको संशोधित ऐन, २०२० ले उद्योगी व्यवसायीलाई खुसी पार्न खोजिएको किसानको आरोप छ ।

ती कानुनहरू भारतका दुवै सदनबाट हालै पारित भएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने ती कानुनहरू किसानको हितमा भएको दाबी गर्दै आएका छन् । नयाँ कानुनले दर्ता भएका मन्डीबाहिर पनि कृषकहरूले सामग्री आफूखुसी बेच्न पाउनुपर्ने व्यवस्था गरेको छ । त्यसले राज्यभित्र र राज्यबाहिर पनि किसानको उत्पादन बिक्रीको बाटो खुला गर्नेछ ।

यसले कृषकहरूका लागि लागत घटाउने र राम्रो मूल्य पाउने सम्भावना रहन्छ । तर, यसको विरोधमा रहेकाहरूले उक्त व्यवस्थाले राज्यहरूको मन्डीमार्फत हुने आम्दानी गुम्ने र अन्ततः किसानहरूले न्यूनतम मूल्य पनि नपाउने जिकिर गरेका छन् ।साथै नयाँ व्यवस्थाले ठूला कम्पनीहरूको वर्चस्व स्थापित गर्ने र त्यसले कालान्तरमा साना र गरिब किसानलाई मर्कामा पार्ने दाबी गरिएको छ ।

जर्नेल कासिम सुलेमानीको ‘हत्या’ र इरान–अमेरिका द्वन्द्व :

जनवरी ३, २०२० मा इराकको बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलबाहिर भएको हवाई आक्रमणमा इरानी कुद्स फौजका जर्नेल कासिम सुलेमानीसहित ६ जनाको मत्यु भएपछि इरान–अमेरिका द्वन्द्व उत्कर्षमा पुगेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुलेमानीले अमेरिकाविरुद्ध आक्रमण गर्ने षड्यन्त्र रचिरहेकाले उनीमाथि कारबाही गरेको बताएका थिए । तर इरानले भने आफ्नो सार्वभौमसत्तामाथि आक्रमण भएको उल्लेख गर्दै अमेरिकाले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो ।

सुलेमानीको ‘हत्या’ पछि इरानले इराकमा रहेको अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गर्दै केही दिनसम्म क्षेप्यास्त्र पनि हानिरह्यो । अन्तर्राष्ट्रिय राजनीति र सम्बन्धका विज्ञहरुले अमेरिका–इरान टकराव युद्धमा परिणत हुन सक्ने बताइरहँदा कोरोना भाइरसको महामारी फैलिएसँगै दुई देशबीचको तनाव घट्दै गएको थियो । कोरोना भाइरसको महामारीबाट बढी प्रभावित हुने मुलुकमा इरान पनि पर्छ ।

दिल्ली हिंसामा कम्तीमा ५३ जनाको मृत्यु:

संशोधित नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनले दिल्लीमा हिंसात्मक रुप लिएपछि कम्तीमा ५३ जनाको ज्यान गयो । फेब्रुअरी २३ देखि २९ तारिखसम्म उत्तरपूर्वी दिल्लीको केही भागमा नागरिकतासम्बन्धी कानुनको समर्थन र विरोधमा उत्रिनेबीच हिंसात्मक झडप र आगजनीमा कम्तीमा ५३ जनाको ज्यान गएको हो ।

दिल्लीका कैयौं स्थानमा घर, पसल, सार्वजनिक यातायातका साधन तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी भएको थियो । नागरिकता कानुनको विरोधमा भारतभर प्रदर्शन भइरहेको थियो । कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रदर्शन पनि मत्थर हुँदै गए ।
भारतका दुवै सदन लोकसभा र राज्यसभाले मंसिरमा नागरिकता संशोधन विधेयक पारित गरेपछि देशव्यापी विरोध प्रदर्शन सुरु भयो ।

नयाँ कानुनअनुसार सन् २०१४ को डिसेम्बर ३१ अघि पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट भारत प्रवेश गरेका हिन्दु, शिख, बौद्ध, क्रिस्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरिएको छ । विधेयक पारित भएसँगै पूर्वोत्तर राज्यमा गैरकानुनी रूपमा बस्दै आएका विशेषगरी बंगलादेशी हिन्दु आप्रवासीले नागरिकता पाउने र आफूहरू राजनीतिक रूपमा अल्पमतमा पर्ने तथा पहिचान र संस्कृति खतरामा पर्ने भन्दै असम र त्रिपुराका रैथाने विरोध प्रदर्शनमा उत्रेका हुन् ।

त्यसैगरी, मुस्लिमहरूले नयाँ कानुनमा आफूहरूलाई नसमेटिएको भन्दै भारतीय जनता पार्टी अध्यक्ष अमित साहको योजनामा भारतलाई हिन्दुत्वको बाटोमा डोर्याटउन थालेको भन्दै चर्को विरोध जनाएका हुन् ।

रंगभेदले आक्रान्त अमेरिका :

प्रहरीको ज्यादतीले मे २५ मा मिनियापोलिसमा ४६ वर्षीय अश्वेत जर्ज फ्लोयडको मृत्युपछि अमेरिका लामो समय तनावग्रस्त रह्यो । फ्लोयडको मृत्युलाई लिएर अमेरिकाभरि सुरु भएको विरोध प्रदर्शनले हिंसात्मक एवं लुटपाटमा परिणत भएपछि, तीन दर्जन बढी अमेरिकी सहरहरुमा सोमबार राति कर्फ्यु आदेश जारी गरिएको थियो ।

प्रदर्शन एवं हिंसात्मक मुडभेड, अब फ्लोयडको हत्यामा मात्र सीमित रहेन । जानकारहरुले अमेरिकाको पछिल्लो स्थितिलाई विगत इतिहासको पुनरावृत्तिका रूपमा अर्थ्याएका छन् । सन् १९६० को दशकमा नागरिक प्रदत्त अधिकार एवं रंगभेदी नीतिविरुद्व गरिएको ‘सिभिल राइट्स मुभमेन्ट’ बाट त्यतिबेला सिर्जित हिंसात्मक प्रदर्शन एवं लुटपाट झल्को दिने गतिविधिले अधिकार, प्रदर्शन एवं कानुनी राज्यको अवधारणामाथि टिप्पणी र आलोचना पनि भयो ।

त्यसअघि यसै वर्षको मार्च १३ मा २६ वर्षीय स्वास्थ्यकर्मी ब्रेओना टेलर पनि प्रहरीको गोली लागी मारिएकी थिइन् । केन्टकीस्थित उनको अपार्टमेन्टमा छापा मार्ने क्रममा प्रहरीले ८ वटा गोली हानी उनको हत्या गरेको थियो । पटक(पटक अमेरिकी प्रहरीबाट ज्यादती दोहोरिएपछि त्यहाँको प्रहरी प्रशासनमा व्यापक सुधारको माग गरिएको छ ।

पाकिस्तानमा विमान दुर्घटना :९७ को मृत्यु

मे २२, २०२० मा पाकिस्तानको लाहोरबाट उडेको यात्रुवाहक विमान कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा दुर्घटना हुँद ९७ जनाले ज्यान गुमाए । विमानमा दुर्घटनामा २ जना भने बाँच्न सफल भए । रहेका ९१ जना यात्रु र चालक दलका ८ सदस्य थिए ।

ए–३२० विमान कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३।२ किलोमिटर बाहिरको आवासीय क्षेत्र मोडेल कोलोनीमा खसेको हो ।अधिकारीहरुका अनुसार इन्जिन फेल भएलगत्तै चालकले विमानलाई रनवेमा लैजाने प्रयास गरेका थिए । तर विमानस्थलबाहिरका अग्ला भवनमा विमान ठोकिएपछि उनी असफल भएका हुन् ।

लद्दाखमा भारत(चीन झडप स् २० भारतीय सैनिकको मृत्य

सन् २०२० मा पनि भारत र चीनबीच राम्रो सम्बन्ध हुन सकेन । यस वर्ष दुई देशबीच सीमामा झडपदेखि भारतले चिनिया एपहरुमाथि प्रतिबनध्ध लगाउनेसम्मका कामहरू भए ।भारत र चीनबीच एक महिनादेखि कायम तनाव बढेर जुन १५ मा हिंसात्मक झडपमा परिणत भएको थियो । भारतीय र चिनियाँ सेनाबीच सोमबार राति पूर्वी लद्दाखको गलवान उपत्यकामा भएको झडपमा परी भारतीय सेनाका एक जना अधिकृत ९कर्णेल० सहित २० जनाको मृत्यु भएको थियो । सुरुमा भारतीय सेनाले झडपमा एक जना कर्णेलसहित ३ जना भारतीय सैनिकको मृत्यु भएको बताएको थियो । जुन १६ मा भारतीय सेनाले एक वक्तव्यमार्फत झडपमा गम्भीर घाइते भएका अन्य १७ जना सैनिकको मृत्यु भएको जानकारी दिएको हो । भारतले चीनतर्फ पनि हताहती भएको दाबी गरे पनि त्यसो औपचारिक पुष्टि भने भएको छैन ।

करिब १४ सय फिटको उचाइमा रहेको लेह–लद्दाख क्षेत्रमा सीमा विवादका कारण दुई छिमेकी आमनेसामने भएका हुन् । एसियाका दुई ठूला आणविक मुलुकबीच यो स्तरको हिंसात्मक झडप विगत ४५ वर्षकै पहिलो हो । यो घटनाले दुई देशबीच युद्ध हुन सक्ने भय पनि सिर्जना गरेको छ । चीनले एकतर्फी रूपमा ‘यथास्थितिको अवस्था’ मा परिवर्तन गर्न खोज्दा हिंसात्मक झडप भएको भारतले जनाएको थियो । चीनले भने भारतीय पक्षले अनधिकृत रूपमा निषेधित क्षेत्रमा प्रवेश गरेर सहमति उल्लंघन गरेकाले झडप भएको दाबी गरेको थियो ।

लामो समयको तनावपछि सेप्टेम्बरको सुरुमा भारत र चीनबीच उत्तरी लद्दाख क्षेत्रको सीमा विवादका कारण सिर्जित तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको बैठकमा यस्तो सहमति भएको हो । सांघाई सहयोग संगठन९एससीओ०को बैठकमा सहभागी हुन दुवै देशका विदेशमन्त्री मस्को पुगेका थिए । बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा सहमतिअनुसार दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन नेतृत्वको मार्गदर्शन लिने र आपसी असमझदारीलाई विवादमा परिणत हुन नदिन सहमति भएको उल्लेख छ ।

त्यसैगरी सहमतिको तेस्रो बुँदामा सीमामा हाल देखिएको परिस्थिति दुवै देशको हितमा नभएकाले विवाद समाधान र सेनालाई पछाडि हटन र तनाव गर्नका लागि सैन्यस्तरमा वार्ता जारी राख्ने भनिएको छ । ‘सीमा विवाद सुल्झाउनका लागि विशेष प्रतिनिधि संयन्त्रको बैठकलाई निरन्तरता दिइनेछ,’ सहमतिको चौथो बुँदामा भनिएको छ ।

गलवान झडपपछि भारतले चीनविरुद्ध सीमाक्षेत्रमा नभएर आर्थिक र व्यापारिक क्षेत्रमा आक्रमण रणनीतिक अख्तियार गरेको छ । उसले चिनियाँ कम्पनीहरुका कैयौं ठेक्का रद्द गरेको छ भने दुई सयभन्दा बढी चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाइसकेको छ ।

बेरुत विस्फोटमा कम्तीमा १७५ को मृत्यु, ५ हजारभन्दा बढी घाइते

अगस्ट ४ मा लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा कम्तीमा १ सय ७५ जनाको मृत्यु भएको थियो भने ५ हजारभन्दा बढी घाइते  भएका थिए ।

लेबनानी अधिकारीका अनुसार एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको थियो । राष्ट्रपति माइकल इयोनले पनि ट्वीट गर्दै २ हजार ७ सय ५० टन एमोनियम नाइट्रेट असुरक्षित तरिकाले राखिनु अस्वीकार्य भएको बताउँदै घटनाको अनुसन्धानका लागि निर्देशन दिएका थिए ।

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन :

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको अगस्ट ३१ मा ८४ वर्षको उमेरमा निधन भयो । पूर्वराष्ट्रपति मुखर्जी तीन सातादेखि दिल्लीको आर एन्ड आर सैनिक अस्पतालमा उपचाररत थिए । उनको मस्तिष्कमा जमेको रगत हटाउन १० अगस्टमा अप्रेसन गरिएको थियो । अप्रेसनअघि गरिएको परीक्षणमा उनलाई कोरोना भाइरसको संक्रमणसमेत पुष्टि भएको थियो ।मुखर्जी आफैंले ट्वीट गर्दै त्यसको जानकारी गराएका थिए । ‘अन्य प्रयोजनका लागि अस्पताल गएका बेला परीक्षण गराउँदा कोभिड–१९ पोजिटिभ देखियो,’ मुखर्जीले ट्वीटमा भनेका थिए । उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई आइसोलेसनमा बस्न र कोभिड–१९ को परीक्षण गराउनसमेत आग्रह गरेका थिए । शल्यक्रियापछि स्वास्थ्य अवस्था गम्भीर बनेकाले उनलाई ‘लाइफ सपोर्ट’ मा राखिएको थियो ।

भारतीय राजनीतिमा बौद्धिक र कुशल राजनीतिज्ञको परिचय बनाएका मुखर्जी सन् २०१२ मा भारतको तेह्रौं राष्ट्रपति चुनिएका थिए । भारतीय राष्ट्रिय कंग्रेसको सरकार भएका बेला राष्ट्रपति चुनिएका मुखर्जीले सन् २०१४ पछि तीन वर्ष नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीको सरकारसँग मिलेर निर्वाह गरेको भूमिकाका लागि उनको प्रशंसा हुने गरेको थियो ।

कंग्रेसको पृष्ठभूमि भएर पनि उनी राष्ट्रपतिका रूपमा पूरै मुलुकको अभिभावकको परिचय बनाउन सफल भएका थिए । मोदी सरकारले एक वर्षअघि मुखर्जीलाई भारतकै सबैभन्दा ठूलो सम्मान ‘भारत रत्न’ प्रदान गरेको थियो ।

सिन्जो आबेद्वारा राजीनामा, जापानी प्रधानमन्त्रीमा सुगा निर्वाचित :

अगस्ट २८ जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका थिए । आबेले स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका थिए ।

आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको बताइएको छ । आफूले नागरिकको जनमतको कदर गर्दै राजीनामा दिएको पनि आबेले स्पष्ट पारेका थिए । जनसमर्थन हुँदाहुँदै र कार्यकाल एक वर्ष बाँकी रहँदै राजीनामा दिनु परेकोमा उनले जापानी नागरिकसमक्ष माफीसमेत मागेका थिए । आबेको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिँदै थियो ।आबले राजीनामा दिएपछि सेप्टेम्बर १६ मा जापानको संसद्‍मा भएको चुनावमा योसिहिडे सुगा प्रधानमन्त्री निर्वाचित भएका थिए ।

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार जर्मनीमा :

सेप्टेम्बर १५ मा गम्भीर अवस्थामा रहेका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि साइबेरियाबाट जर्मनी पुर्‍याइएको थियो । अचेत अवस्थामा रहेका उनले पिएको चियामा विष घोलिएको उनका समर्थकहरूको आशंका व्यक्त गरेका छन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचार सार्वजनिक भएसँगै जर्मन चान्सलर एंगेला मर्कलले नाभाल्नीलाई आवश्यक पर्ने हरेक सहयोग गर्न जर्मनी तयार रहेको बताएकी थिइन् । नाभाल्नी अहिले पनि जर्मनीको बर्लिनस्थित अस्पतालमा उपचाररत छन् । ओम्स्कमा नाभाल्नीको उपचारमा संलग्न चिकित्सकहरूले अन्यत्र लैजानका लागि अनुमति दिएका थिएनन् । तर पछि नाभाल्नीको अवस्था स्थिर रहेको बताएसँगै उनकी पत्नी युलियासहितको टोलीले उनलाई जर्मनीको बर्लिन पुर्यानएको हो । पछिल्लो समय उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ ।

पछिल्लो समय रुसी अधिकारीहरुले नाभाल्नीविरुद्ध भ्रष्टाचारको मुद्दामा अनुसन्धान भइरहेको र उनी छिट्टै जेल जान सक्ने चेतावनी दिइरहेका छन् । नाभाल्नीले ५० लाख अमेरिकी डलर भ्रष्टाचार गरेको आरोप लगाइएको छ । तर नाभाल्नीले भने ती सबै आरोप आधारहीन भएको र उनलाई फसाउन हल्ला फैलाइएको बताउँदै आएका छन् ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । सरकारी भ्रष्टाचारको भन्डाफोर गर्दै आएका नाभाल्नी कैयौं पटक जेल परिसकेका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कु’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।

अर्मेनिया र अजरबैजानबीच ऐतिहासिक सम्झौता :

रुसको मध्यस्थतामा अर्मेनिया र अजरबैजानबीच विवादित भूभाग नागोर्नो–काराबाखमा जारी सैन्य संघर्ष अन्त्यका लागि अक्टोबर १० मा एक सम्झौता भएको छ ।
अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले फेसबुकमार्फत अर्मेनिया–अजरबैजान र रुसबीचमा विवादित भूभागमा द्वन्द्व कम गर्न सम्झौता भएको जानकारी दिएका थिए । अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानले यस सम्झौतालाई ‘आफू र देशवासीका लागि दर्दनाक’ भएको पनि बताएका छन् । नागोर्नो–काराबाख क्षेत्रमा ६ हप्ता लामो सैन्य तनावपछि यो सम्झौता भएको हो ।

अजरबैजानका राष्ट्रपति इल्हाम राष्ट्रपति अलियेभले यस सम्झौताले ‘ऐतिहासिक महत्व’ राख्ने उल्लेख गर्दै अर्मेनियाले नचाहँदा नचाहँदै पनि यो सम्झौतामा हस्ताक्षर गर्न राजी भएको बताएका छन् । त्यस्तै अर्मेनियाका प्रधानमन्त्री पाशिन्यानले भने विवादित क्षेत्रका बारेमा जानकार व्यक्तिहरुसँगको कुराकानी र ‘गहन विश्लेषण’ पछि सम्झौतामा हस्ताक्षर गरिएको बताएका छन् । सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो–काराबाखका केही क्षेत्र आफूले नै राख्ने भएको छ ।

न्युजिल्यान्डको प्रधानमन्त्रीमा आर्डन दोस्रो पटक निर्वाचित :

न्युजिल्यान्डमा अक्टोबर १७ मा भएको आमनिर्वाचनमा २४ वर्षपछि लेबर पार्टीले पुनस् बहुमत हासिल गर्योत । न्युजिल्यान्डकी प्रधानमन्त्री तथा लेबर नेत्री जसिन्डा आर्डर्नले तीन वर्षका लागि बहुमतको सरकार बनाएकी छिन् ।

विभिन्न कारणले विश्वभर नै लोकप्रिय प्रधानमन्त्री आर्डर्न पछिल्लो चुनावको ऐतिहासिक नतिजासँगै विश्व राजनीतिमा चर्चाको शिखरमा छिन् । करिब ३ वर्ष अगाडि न्युजिल्यान्डमा समेत सामान्य मानिएकी आर्डर्नले ३ वर्षको अन्तरालमै विश्व राजनीतिमा आफ्नो नाम दरिलो बनाइन् । त्यसका साथै लेबर पार्टीको राजनीतिक इतिहासलाई अलग पहिचानसमेत दिन सफल भइन् । निर्वाचनअघि गरिएका सर्वेक्षणका सबै अनुमानलाई उनले गलत सावित गरिदिइन् । निर्वाचनपछि पहिलोपटक सामाजिक सञ्जालमा फोटो राख्दै उनले आफू पुनस् काममा फर्कन पाएकामा अत्यन्तै कृतज्ञ भएको बताएकी छन् ।

आर्डर्नले निर्वाचनमा उल्लेख्य सफलता पाउनुका कारण कोभिड–१९ नियन्त्रणमा देखाएको तदारुकता र सफलता, गत वर्षको मार्चमा क्राइस्ट चर्चस्थित एक मस्जिदमा गरिएको आतंकवादी आक्रमणको क्रममा देखाएको नेतृत्व र ह्वाइट आइल्यान्डमा गत डिसेम्बरमा भएको ज्वालामुखी विस्फोटको समयमा देखाएको क्रियाशीलता तथा पीडितलाई पुर्यारएको योगदान मुख्य ठानिएको छ । तर राजनीतिक विश्लेषकहरूले भने आर्डर्नको आफ्नो चामत्कारिक छवि र नेतृत्व मात्र नभएर विपक्षी दल नेसनलमा देखिएको नेतृत्व परिवर्तनको समस्याले समेत राम्रै भूमिका खेलेको दाबी गरेका छन् ।

म्याराडोनाको निधन :

सन् २०२० ले विश्व फुटबलका हस्ती डियगो म्याराडोनालाई गुमाउन पुग्यो । नोभेम्बर २५ मा ६० वर्षको उमेरमा म्याराडोनाको निधन भएको हो । अर्जेन्टिनी मध्यपंक्तिका आक्रामक खेलाडी म्याराडोनालाई विश्व फुटबलको सर्वकालीन महान् खेलाडी घोषित गरिएको छ । ब्युनस आयर्सस्थित आफ्नै घरमा उनलाई हृदयाघात भएको थियो ।अक्टोबरमा मात्र उनको मस्तिष्कमा जमेको रगत शल्यक्रिया गरेर हटाइएको थियो । त्यस क्रममा उनलाई दुई साता अस्पताल राखियो । दुर्व्यसनका कारण उनी पटकपटक रोगसँग जुध्दै आएका थिए ।

विश्व फुटबल महासंघले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरका रूपमा पुरस्कृत गरेको थियो । म्याराडोनाले स्वदेशमा बोका जुनियर्स हुँदै युरोपमा बार्सिलोना, सेभिया र नेपोलीबाट क्लब फुटबल खेलेका थिए । उनले नेपोलीलाई दुई पटक इटालियन सिरी ‘ए’ को उपाधि दिलाए ।

राष्ट्रिय टोलीबाट ९१ खेलमा ३४ गोल गरेका म्याराडोनाले चार विश्वकप खेले । उनकै कप्तानीमा अर्जेन्टिना १९९० को विश्वकपको फाइनल पुगेको थियो, तर तत्कालीन पश्चिम जर्मनीसँग पराजित भयो । अमेरिकामा सन् १९९४ मा भएको विश्वकपमा म्याराडोना डोपिङ टेस्टमा असफल भएपछि घर फर्किएका थिए ।

उनको लागूऔषध सेवनको लत निरन्तर जस्तै रह्यो । सन् १९९१ मा कोकिन सेवन गरेको पाइएपछि उनीमाथि १५ महिनाको प्रतिबन्ध लगाइएको थियो । म्याराडोनाले सन् १९९७ मा व्यावसायिक लिग फुटबल टुंग्याएका थिए, जुन दिन उनी आफ्नो ३७ औं जन्मदिन मनाइरहेका थिए ।

उनी २००८ मा अर्जेन्टिनी राष्ट्रिय टोलीको प्रशिक्षक भएका थिए । दक्षिण अफ्रिकामा २०१० मा भएको विश्वकप फुटबलमा जर्मनीसँग क्वाटरफाइनलमा ४–० ले पराजित भएपछि उनलाई उक्त जिम्मेवारीबाट हटाइएको थियो । त्यसयता उनले यूएई र मेक्सिकोका क्लबले प्रशिक्षक बनाएका थिए ।

बेलायत र ईयूबीच ऐतिहासिक व्यापार सम्झौता :

महिनौंको सघन वार्तापछि बेलायत र ईयूबीच ऐतिहासिक व्यापार सम्झौता भएको छ । बेलायत युरोपेली संघ ९ईयू० बाट अलग्गिएको झन्डै ११ महिनापछि डिसेम्बर २४ मा बेलायत ईयू व्यापार सम्झौताले अन्तिम रुप लिएको हो ।

सम्झौता अनुसार दुवै पक्षबीच वस्तु तथा सेवामा अतिरिक्त कर र कोटा प्रणाली लागू हुने छैन जुन अहिले कायम छ । ईयू बेलायतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । त्यस्तै, सम्झौताअनुसार आउँदो सांढे ५ वर्ष युरोपेली माझीहरुले बेलायतको जल क्षेत्रमा माछा मार्न पाउनेछन् । त्यसपछि भने ब्रिटिस माझीलाई प्राथमिकता दिइने छ । यसअघि बेलायतले ईयूको यही माग अस्वीकार गर्दा वार्तामा गतिरोध उत्पन्न भइरहेको थियो ।

अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध मिलेर काम गर्न पनि दुवै पक्ष सहमत भएका छन् । सम्झौताअनुसार बेलायतले युरोपियन क्रिमिनल डेटाबेस प्रयोग गर्न पाउने छ तर बेलायत युरोपोलको सदस्य भने रहने छैन । अब बेलायत युरोपेली अदालत र कानुनबाट मुक्त भई बेलायती संसद्ले बनाउने कानुन र बेलायती अदालतले गर्ने फैसला मात्र यहाँ लागू हुनेछ ।

१५ सय पेजभन्दा लामो उक्त सम्झौताका विस्तृत बुँदा भने सार्वजनिक भइसकेको छैन । उक्त सम्झौता बेलायती तथा युरोपेली संसद्ले पारित गरेपछि मात्रै लागू हुनेछ । बेलायतले युरोपेली २७ राष्ट्रहरुको संघ (ईयू) र ईयू ट्रेडिङ नियम आउँदो बिहीबारदेखि छोड्दैछ ।

सन् २०२० मा घटेका विश्व घटनाक्रम :टाइमलाइने

नवरी २– अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा डढेलो फैलिएपछि संकटकाल घोषणा 

जनवरी ३– इरानी रेभोलुसनरी गार्ड कर्प्सका कमान्डर कासिम सुलेमानीको इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा मृत्यु 

जनवरी १३– पाकिस्तानको उत्तर–पूर्वी क्षेत्रमा गएको हिमपहिरोका कारण कम्तीमा १ सय ७ जनाको मृत्यु 

जनवरी १७– अमेरिकी राष्ट्रपतिविरुद्ध गरिएको महाअभियोग प्रस्तावमाथि औपचारिक सुनुवाइ

जनवरी २२– केटरिना सकेलारोपौलु ग्रिसको पहिलो महिला राष्ट्रपति निर्वाचित

जनवरी ३१– सन् २०१६ मा भएको जनमतसंग्रहको आदेश र तीन प्रधानमन्त्रीको कसरतपछि बेलायत युरोपेली संघबाट अलग 

फेब्रुअरी ९– चुनाव भएको करिब ५ महिनापछि अफगानिस्तानको राष्ट्रपतिमा असरफ घानी निर्वाचित भएको घोषणा 

मे २०– भारत र बंगलादेशको तटीय क्षेत्रमा आएको अम्फान चक्रवातका कारण ८० जनाभन्दा बढीको मृत्यु 

मे २५– प्रहरीको गोलीबाट अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि रंगभेदविरुद्ध अमेरिका र युरोपमा व्यापक प्रदर्शन 

जुलाई ७– कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विषयमा चालेको कदमहरूको विरोध गर्दै सन् २०२१ को जुलाई ६ बाट अमेरिका विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अलग हुने औपचारिक जानकारी

अगस्ट ४– लेबनानको राजधानी बेरुतमा भएको विस्फोटमा कम्तीमा १ सय ७५ जनाको मृत्यु, ५ हजारभन्दा बढी घाइते 

अगस्ट ९– बेलारुसमा भएको चुनावमा राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को विजयी भएको घोषणासँगै बृहत् विरोध प्रदर्शन 

अगस्ट २०– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नी शंकास्पद विष आक्रमणपछि गम्भीर बिरामी 

अगस्ट २८– जापानमा लामो समयसम्म शासन सत्ता सम्हालेका प्रधानमन्त्री सिन्जो आबेद्वारा पद त्याग्ने घोषणा । सेप्टेम्बर १६ मा जापानको संसद्मा भएको चुनावमा योसिहिडे सुगा प्रधानमन्त्री निर्वाचित 

अगस्ट ३१– दुई देशबीचको सम्बन्ध सुधारको पहल स्वरूप इजरायल र संयुक्त अरब इमिरेट्सबीच सिधा हवाई उडान सुरु 

अक्टोबर १७– न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न दोस्रो कार्यकालका लागि निर्वाचित 

नोभेम्बर ११– फिलिपिन्समा भाम्को आँधीका कारण ७३ जनाको मृत्यु 

डिसेम्बर ११– हङकङका सञ्चार उद्यमी जिम्मी लाई विवादास्पद सुरक्षा कानुनअन्तर्गत विदेशी शक्तिसँग साँठगाँठ गरेको तथा राष्ट्रिय सुरक्षाविरुद्ध कार्य गरेकोमा दोषी ठहर 

डिसेम्बर २४– बेलायत सरकार र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापारका विषयमा सहमति ।

(एजेन्सीहरूको सहयोगमा

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest