सफलताको लागि सन्तान बाधक हुदैनन्

Monday, December 30th, 2019

 

आयशा शाक्य
तेक्वादो खेलाडी
सफलताको लागि विवाह, सन्तान बाधक हुन्न भन्ने सावित गरेकी छिन् आयशा शाक्यले । दुई छोरा कि आमा उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा एकै दिन दुई स्वर्ण पदक जितेकी छिन् । सागको तेक्वान्दो स्पर्धामा २९ वर्ष उमेर माथिको पुम्सेमा पहिलो स्वर्ण जितिन् भने लगत्तै जोडी पुम्सेको २९ वर्ष उमेर माथिको स्पर्धामा अर्को स्वर्ण जितिन् । उनको जोडी थिए सञ्जीवकुमार ओझा । २००६ को १५ औं एसियाली खेलकुदमा कास्य जितेकी आयशाले ११औं सागमा स्वर्ण जितेकी थिइन् । तर १२ औं सागको फाइनलमा भारतीय खेलाडीसँग उनी पराजित हुन पुगेकी थिइन् । तर यो पटक उनले तेक्वान्दोको फाइटसँगै पुम्सेमा भाग लिइन् । हुन त उनी अपेक्षा अनुसार खेल नभएको भन्दै रोएकी थिइन् तर भारत, श्रीलंका, पाकिस्तान र बंगलादेशका खेलाडीले उनलाई भेट्टाउन सकिनन् । भारतका प्राजाकितालाई पराजित गर्दै उनले स्वर्ण जितेकी हुन् । स्वर्ण जितेको क्षण मैदानमै उनले आफ्ना श्रीमान दिपक विष्टलाई अंगालो हालेर रोइन्, दिपक पनि भावुक बने । उनीहरूका दुई सन्तान सो दृश्यको साक्षी बनिरहेका थिए । लगत्तै आयशाले आफ्ना दुई सन्तानलाई बोकिन्, ठुला छोराले आयशालाई ममी ‘कंग्राचुलेसन’ भनेर अंगालो हाले । ‘आफ्नो बच्चाको अगाडि प्रदर्शन गरेर बच्चाकै मुखबाट त्यस्तो सुन्दा यादगार क्षण हुँदोरैछ । मैले गरेँ,अब गरेर देखाउने पालो तिम्रो हो भनेर भन्न मन लाग्नेरैछ,’ उनले भनिन्् । उनका ६ वर्षिय छोराले लेख्न सुरु गरिसेका छन् । सानो बच्चालाई घरमा छोडेर प्रशिक्षण गर्दा, खेल खेल्दा बच्चाहरूलाई पीडा हुने आफूले महसुस गरेको उनले बताइन् । ‘त्यसैले यो स्वर्ण म मेरो बच्चाहरूको लागि समर्पित गर्न चाहन्छु,’ उनले भावुक हुदै भनिन् । श्रीमानकै हौसला र प्रेरणाले आफूले सफलता चुमेको बताउँदै उनले आफ्नो सफलताको श्रेय श्रीमान भएको बताइन् ।
२०४४ साल श्रावण १२ गते पाटनमा जन्मिएकी आयशा बुवा जुजुरत्न शाक्य तथा आमा मन्दिरा शाक्यको प्रेरणाले खेल क्षेत्रमा प्रवेश गरेकी थिइन् । एक, एकजना दाजुभाइबीचकी एक्ली छोरी आयशा जीवनका विविध रंगसँग खेल्न मन पराउँछिन् । पहिरनमा ट्रयाक सुट, सेन्टिमेन्टल म्युजिक र खानामा गुलियो मन पराउने उनले सुदेशा हाईस्कुल नख्खुबाट प्राथमिक शिक्षा हासिल गरेकी हुन् । उनले भीएस निकेतनबाट प्लस टु तथा क्रिम्स इन्टरनेसनल कलेजबाट व्यवस्थापनमा स्नातक गरेकी छिन् । ८ वर्षकै उमेरदेखि जिम्न्यास्टिक खेल्न थालेकी उनी विगत पन्ध्र वर्षदेखि तेक्वान्दोमा सक्रिय छिन् । सन् २००६ मा थाइल्यान्डमा सम्पन्न प्रतिस्पर्धामा उनले पहिलो पटक अन्तर्राष्ट्रिय सहभागिता जनाएकी थिइन् । खेल क्षेत्रमा उत्कृष्ट मानिने तेक्वान्दोका दीपक विष्टसँगको वैवाहिक जीवनमा प्रवेश गरेकी शाक्य आगामी दिनमा खेल क्षेत्रमा अझ डटेर लाग्ने बताउँछिन् ।
तीनवटा सागमा स्वर्ण जितेका दिपक भने अहिले प्रशिक्षकको भूमिकामा छन् । आयशाले आफ्नो परम्परागत विधा परिवर्तन गरेर सागमा भाग लिएकी हुन् । पहिलोपटक तेक्वान्दोको पुम्से विधालाई सागमा समावेश गरिएको हो । यसमा फाइट हुँदैन, खेलाडीले आफ्नो स्किल मात्रै देखाउने हो । बढ्दो उमेरसँगै शारीरिक क्षमता कमजोर भएपछि आयशाले फाइटको साटो पुम्से रोजेकी हुन् । छ वर्ष र दुई वर्षका साना छोराहरुलाई मामाघरमा छोडेर उनी सागमा स्वर्ण जित्ने अभियानमा जुटेकी थिइन् । उनी आफ्नो विगत सम्झिदै भन्छिन् ‘नेपालमा आठौं साग हुँदा ड्याडीसँग गएर हेरेकी थिएँ । त्यतिबेला निकै रोमाञ्चकता थियो । आफूले पनि यसरी देशभित्रै खेल्न पाए कति समर्थन पाइने रहेछ भन्ने लाग्थ्यो ।’ उनको यो सफलता संगै उनले सम्पूर्ण नारीहरुलाई इच्छाशक्ति, मेहनत, लगनशिलता र धैर्यताका साथ अगाडी बढ्न सक्ने हो भने कुनै पनि परिस्थिति बाधक हुदैन भन्ने सन्देश दिएको छ ।
प्रस्तुति :हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest