समय अनुसार अपडेट हुदै जानुपर्छ ः संगीता

Thursday, August 2nd, 2018

संगीता पन्त, कार्यक्रम निर्माता
सफल हुन सबैलाई मनलाग्छ । त्यसमाथि पनि आफुले राजेको र चाहेको विषयमा सफल बन्न पाए त भन्ने सबै मानिसको मानसिकता हुन्छ नै र पनि अथक प्रयास गर्दा गर्दै कति मानिसहरु असफल भएका छन् भने कति सफल । नेपाली मिडिया र त्यसमा पनि महिला पत्रकारलाई यस क्षेत्रमा सफल हुन भन्दा पनि पहिले टिकिरहन नै गाह्रो अवस्था छ । तैपनि चुनौतीको सामाना गर्दै सुरुवाती चरणदेखि लगभग दुई दशक टेलिभिजनमा काम गरेर आफ्नो स्तरोन्नति गर्दै आफूलाई सफलताको शिखरमा पु¥याउन सफल व्यक्तित्व हुन्, संगीता पन्त थापा । २०५३ सालमा नेपाल टेलिभिजको तालिम पश्चात आवेदन दिएर कार्यक्रम निर्माणका लागि प्रवेश गरेकी थिइन् उनले । फरक पृष्ठभूमिबाट मिडियामा प्रवेश गरेका कारण त्यत्ति अप्ठ्यारोको सामाना गर्नु नपरे पनि प्राविधिक कुरामा भने समस्या झेल्नुपरेको उनी बताउँछिन् ।
मिडिया क्षेत्र भन्नेवित्तिकै डेन्जर जोन हो र यसमा महिलाको सहभागिता हुनुहँुदैन भन्ने मानसिकता भएका मानिस अहिले पनि छन् समाजमा तर उनलाई भने बुबाले नै टेलिभिजनमा नोकरीका लागि फर्म भरिदिएका थिए । टेलिभिजनकै प्रशासनिक क्षेत्रमा भएका कारणले होला टेलिभिजनका बारेमा बाहिर चल्ने गरेका हल्लाका पछि लाग्नुहुँदैन भन्ने मान्यता थियो उनका बुबाको । जसले गर्दा आफ्नी छोरीलाई टेलिभिजनमा काम गर्न पठाएका थिए । सुरुवाती चरणमा बाल कार्यक्रम चलाएकी उनले जेष्ठ नागरिक तथा युवाका विषयमा पनि कार्यक्रम निर्माण र सञ्चालन गर्दै आएकी छिन् । कार्यक्रम निर्माणका क्षेत्रमा धेरै अनुभव बटुलिसकेकी पन्त आफूलाई अझै अपडेट राख्नुपर्ने भएकाले अहिले विभिन्न तालिममा सहभागी हुने गरेको बताउँछिन् ।
हुनत मानिसले जन्मेदेखि मृत्युसम्म सिक्दै र त्यसलाई व्यवहारमा लागू गर्दै नै जाने हो । आफूले पनि सोही प्रक्रियालाई अँगाल्दै आएको उनी बताउँछिन् । नेपाली मिडियामा पहिलेको तुलनामा अहिले बाक्लिदो महिला सहभागिता तथा घर समाजमा खुलेर म मिडियामा लाग्छु वा म मिडियासँग सम्बन्धित कुराहरु पढ्छु भन्न सक्ने वातावरण निर्माण भएकोमा उनलाई खुशि लागेको छ । परिवर्तित समयले आफूमात्र नभइ समाज तथा समाजमा रहेका मानिसको समेत सोच परिवर्तन गरेको देख्दा उनलाई आनन्दको अनूभूति हुन्छ । महिलाहरु नेतृत्व गर्न सक्दैनन्, मिडियामै पनि राजनीतिक, आर्थिक जस्ता विषयमा रिर्पोटिङ् गर्न दिनुहुँदैन, ठूला ठूला सूचना ल्याउन सक्दैनन् भन्ने मानसिकतामा परिर्वतन हुँदै गएको उनी बताउँछिन् । कतिपय टेलिभिजनमा त निर्देशक जस्तो पदमा पनि महिला नै रहेका
छन् । आर्थिक हिसाबले धेरै असहज यात्रा मानिने यो पेशामा पन्तलाई भने त्यस्तो समस्या परेन । सरकारी मिडिया तथा एउटा पोष्टमा एउटै तलब हुने भएकाले पनि असहज परिस्थितीको सामाना गर्नुपरेन । विवाहअघि बुबाको र विवाहपछि सासु र श्रीमान् तथा छोराको पनि सहयोग पाइरहेकी छिन् उनले । राज्यको चौथो अंग भएकाले पनि सञ्चार क्षेत्रमा अझै महिलाको सहभागिता हुनुपर्ने र महिलाका विषयमा महिलाले नै वकालत गर्नसक्ने उनको धारणा छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest