समानता घरबाट नै सुरु गर्नुपर्छ

Monday, January 20th, 2020

 
अहिले जाडो असाध्यै बढेको छ । हरेक मौसम हाम्रो लागि उतिकै आवश्यक छ, प्रकृतिको यो अनुपम उपहारले हामीलाई आनन्द दिनको साथै विभिन्न खाले समस्याहरु पनि लिएर आएको हुन्छ । जाडोको असर महिला बालबालिका तथा बृद्धबृद्धालाई बढी हुन्छ । हरेक जाडोमा मृत्यु हुनेमा बढीजसो बालबालिका र बृद्धबृद्धा नै पर्छन् । यति मात्र होइन जाडोमा घरकोकाम गर्नेमा हामी महिला नै पर्छौ, जसले गर्दा हात खुटुटा फुट्ने देखि लिएर चिसोबाट हुने अनेकौ रोगको शिकार हामी बन्छौ ।
अहिले काठमाण्डौंमा मात्र होइन तराईका धेरै ठाउँमा चिसोले सताएको छ । हाम्रो समाजिक सोचाइ अनुशार घरको काम धन्दा महिलाले नै गर्नुपर्छ, जतिसुकै अधिकार र समानताका कुरा गरेपनि हामी महिलाहरु घरको काममा अगाडि सर्छौ त्यसको हाम्रो आफ्नै कारण पनि छ, हामी आफ्नो बालबालिका प्रति चिन्तित छौ, घरका जेष्ठ नागरिकको स्वास्थ्य खानपान प्रति चिन्तित छौ, घर फोहोर भएको मन पर्दैन, भाँडा सफा नगरि बस्न सक्दैनौ, श्रीमानको पनि चिन्ता लिन्छौ जो आफु सरह हैसियत भएकी श्रीमतीलाई कुनै काममा सहयोग गर्न नै चाहदैन उसको खानपान, सरसफाई, अफिसको लागि कपडाको तयारी यी सबै कुरा हामी आफ्नो जिम्मेवारी सम्झन्छौ । हाम्रो यही सोचले घरको अधिकांश काम महिलाको भागमा नै रहन्छ । जाडो घरका परिवार सबैलाई लाग्छ तर एक आमाले, एक श्रीमतीले, एक बुहारीले मलाई जाडो भयो भनेर अरु सरह हिटर या आगो तापेर बस्न पाउदिनन्, त्यसैले पनि बिना कुनै गुनासो घरका हरेक काम भ्याइरहेका हुन्छन् महिलाले, फलस्वरुप चिसोको प्रभाव महिलालाई बढी पर्दछ ।
महिलाको मात्रै होइन परिवार पुरुषको पनि हो भन्ने सोचलाई अगाडि राखेर हरेक काममा घरका अन्य सदस्यहरुसँग पनि सहयोग लिने गर्नुहोस् । जाडोमा मिलिजुली काम गर्दा महिलालाई मात्र होइन परिवारको लागि नै राम्रो हो । एक महिला बिरामी पर्दा तपाईको खर्च मात्र बढ्दैन घरको व्यावस्थापनमा समेत असर पर्छ । महिला होस् या पुरुष हरेकको जिम्वेवारी हो घरको काम, त्यसैले आधा आधा गर्ने बानी बसालौं । सुन्दर घर परिवार निर्माणको लागि महिला पुरुषको उत्तिकै भूमिका हुन्छ, श्रीमान श्रीमती भनेको सहयात्री हो, समान हैसियत भएका मानिस हुन् त्यसैले हरेक कुरामा समान सहभागिताको आवश्वकता पर्दछ । समानता घरबाट नै शुरु गर्नुपर्छ, त्यसपछि अन्य ठाउँमा समानता खोज्न सकिन्छ । जाडो होस् या गर्मी मौसमको आनन्द महिलाले पनि लिन पाउनु पर्छ । त्यसैले तपाई पनि हरेक मौसमको आनन्द लिन पछि नपर्नुहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest