सरकारी जागिर छोडेर ब्युटिशियन पेशा रोजे

Tuesday, February 11th, 2020

रिना अवाले,
निर्देशक, प्योर स्टाइलिस ब्युटी होम एण्ड ट्रेनिङ सेन्टर

ब्यावसायिक पाटो बाट हेर्दा ब्युटी पार्लर सौन्दर्य व्यवसाय हो । पछिल्लो समय हजारौ नारीहरुले यो व्यवसाय अपनाएका छन् । तिनै मध्ये एक हुन् रिना अवाले । उनी एक कुशल ब्युटिशियनका साथसाथै ट्रेनर पनि हुन्, उनले विगत आठ वर्ष देखि प्योर स्टाइलिस ब्युटी होम एण्ड ट्रेनिङ सेन्टर संचालन गर्दै आइरहेकी छिन् । उक्त संस्था कि उनी निर्देशक हुन् ।
तपाई ब्युटिशियन पेशा प्रति कसरी आकर्षित हुनु भयो ?
पहिले म कस्मेटिक पसल संचालन गर्थे, त्यति बेला म आफू राम्री हुन सिके, आफू मात्र राम्री हुनु भन्दा अरुलाई पनि राम्री बनाउनु राम्रो भन्ने लाग्यो, त्यस पछि ब्युटिशियन कोर्षका विभिन्न तालिम लिएर यो क्षेत्रमा प्रवेश गरे ।
सुरुवाती दिनहरु कसरी सम्झनु हुन्छ ?
मैले अरु विभिन्न पेशा अपनाए, ह्यान्डीक्राफ्ट देखि कस्मेटिक पसल सम्म, यति मात्र नभई मैले केहि समय सरकारी जागिर पनि गरे, यी सबैले मलाई सन्तुष्टि दिन सकेनन्, जव मैले यो व्यवसाय सुरु गरे त्यस पछि मात्र म सन्तुष्ट भए । आफूलाई रुचि भएको पेशा भएकोले मैले यहि क्षेत्रमा मेहनत गरे, लगानी गरे ।
परिवारको सहयोग कस्तो पाउनु भएको छ ?
सुरु सुरुमा श्रीमान्ले यो काम नगर भन्नुहुन्थ्यो तर अहिले वहाले हरेक तरिकाले मलाई साथ दिनु भएको छ । वास्तवमा त्यति बेला वहाले घरको काम, बच्चाको स्याहार, परिवार सबैलाई समय दिन कठिन होला भनेर ‘नगर’ भन्नु भएको रहेछ ।
यो व्यवसाय सुरु गर्नु अघि तालिम कति जरुरी छ ?
तालिम एकदमै जरुरी छ, मैले राष्ट्रिय सीप परीक्षण समितिबाट लेभल दुई सम्मको तालिम लिएकी छु भने डेढ वर्ष अगाडी बैंकक गएर पनि थप तालिम लिए, अहिले पनि विभिन्न सेमिनारहरु हुँदा सहभागी हुने गर्छु, आफूलाई अपडेट राख्न नियमित तालिमको साथै सेमिनारहरुमा पनि सहभागिता जनाउनु जरुरी छ ।
तपाईको ट्रेनिङ सेन्टरमा के के तालिम लिन पाइन्छ ?
लेभल १, लेभल २ को तालिमको साथसाथै विदेश जान चाहनेहरुलाई वहाहरुको चाहना बमोजिमको तालिम छोटो अवधिमा पनि लिन सकिने विशेष व्यवस्था समेत रहेको छ भने तालिम लिनेहरुलाई तालिममा मात्र सिमित नराखी विभिन्न सेमिनारहरुमा समेत लगेर दक्ष बनाउने हाम्रो प्रयास रहन्छ ।
हाल सम्म कति जनालाई तालिम दिनु भयो ?
मेरो आफ्नो ट्रेनिङ सेन्टर तथा अन्य तालिम केन्द्रहरुमा समेत गरेर मैले पाँच सय भन्दा बढिलाई तालिम दिएर दक्ष बनाएकी छु । वहाहरु मध्ये धेरैले आँफैले पार्लर संचालन गरेर आँफूलाई व्यवसायी तथा आत्मनिर्भर बनाउनु भएको छ ।
ब्युटिशियन तालिम लिन चाहने दिदी बहिनीहरुलाई के भन्न चाहनु हुन्छ ?
पहिलो कुरा त आफू यहि क्षेत्रमा लाग्छु भन्ने सुनिश्चित गरेर मात्र यो क्षेत्रमा प्रवेश गर्नुहुन म अनुरोध गर्दछु, दोश्रो, अहिले धेरै संस्थाहरुले ब्युटिशियन सम्वन्धी तालिम दिने गरेका छन्, तालिम लिनु अगाडी उक्त संस्थाको बारेमा त्यहा सिकिसकेका अन्य व्यक्तिहरु संग बुझेर, आँफैले पनि उक्त ट्रेनिङ सेन्टरको बारेमा राम्ररी बुझेर जानु उपयुक्त हुन्छ, महंगो तथा नाम चलेको ट्रेनिङ सेन्टर नै राम्रो हुन्छ भन्ने सोच पनि राख्नु हुदैन, आँफूले लगानी गर्ने पैसा र समय अनुसार आँफू दक्ष हुनसक्छु भन्नेमा ढुक्क हुन सक्ने ट्रेनिङ सेन्टरमा गएर सिक्नु हुन म अनुरोध गर्दछु भने सिकाई अवधिभर आफू पनि ध्यानपूर्वक सिक्नुहुन पनि म तालिम लिन चाहने दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छु ।
हाल अन्य के मा व्यस्त हुनुहुन्छ ?
मुख्यतः यहि व्यवसायमा नै व्यस्त छु, भर्खरै ‘केराटिन’ का विभिन्न प्रोडक्ट बजारमा आएका छन्, हाल म उक्त कम्पनीको टेक्निसियनको भूमिकामा पनि रहेकी छु, नेपालका विभिन्न शहर तथा गाउँहरुमा पुगेर ब्युटिशियनहरुलाई उक्त कम्पनीको प्रोडक्टहरुको बारेमा पनि तालिम दिदै आएकी छु, यहि केराटिनको तालिम दिने क्रममा पोखरा, स्याङ्जा, लमजुङ, तनहुँ लगायत विभिन्न जिल्लाहरुमा पुगेर तालिम दिइरहेकी छु । साथै मैले स्वदेश तथा विदेशमा सिकेका अन्य विभिन्न सीपहरुको बारेमा पनि देशका विभिन्न भागहरुमा पुगेर सेमिनार आयोजना गरि निःशुल्क तथा न्युन शुल्कमा सिकाउँदै पनि आइरहेकी छु ।
एउटा ट्रेनर तथा सफल ब्युटिशियनको हिसावले यो क्षेत्रमा आउन चाहनेलाई के सुझाव दिनु हुन्छ ?
थोरै लगानी, सानो ठाउँमा पनि संचालन गर्न सकिने यो व्यवसायको लागि आँफूमा दक्षता हुनु जरुरी छ, ब्युटिशियनका लागि पार्लरमा आउने सेवाग्राही नै भगवान हुन् । ग्राहकको भावना र आवश्यकता बुझेर नम्र, शालिन र हसिलो व्यवहारले सेवाग्राहीलाई स्थायी ग्राहक बनाउने प्रयत्न गर्नु कुशल व्युटिशियनको गुण हुन् । यी गुणहरु आफूमा विकास गर्नुहोस् साथै यो क्षेत्रमा सफल हुन धैर्यता र लगनशिलताको पनि उत्तिकै आवश्यकता हुने भएकोले छोटो समयमा प्रतिफलको आशा नगरी आफ्नो व्यवसाय प्रति दत्तचित्त भएर सकारात्मक सोच सहित यो व्यवसायमा आउनु भयो भने अवश्य पनि सफल व्यावसायी हुनुहुनेछ ।
प्रस्तुति :विष्णु माया बास्कोटा

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest