सहकारीले आम नागरिकमा बचत गर्ने बानी बसालेको छ

Wednesday, November 20th, 2019


अमरावती महर्जन
अध्यक्ष,  उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि. तथा संचालक,  काठमाडौं जिल्ला सहकारी संघ

हालका व्यस्तताहरु के के छन् ?
महिला भए पछि घरपरिवार र आफ्ना अन्य काम पनि व्यवस्थित गर्नु पर्ने भएकोले व्यस्त नै छु । राज्यले सहकारीलाई तोकेको व्याजदरको सन्दर्भमा छलफलमा पनि व्यस्त छु ।
नेपालका नारीहरुको आर्थिक स्तरलाई कसरी नियाल्नु भएको छ ?
शहरी क्षेत्रमा नारीहरुको आर्थिक अवस्था केहि सकारात्मक भए पनि शहरबाट थोरै बाहिर मात्र नियाल्दा पनि नारीहरुको आर्थिक अवस्था त्यति राम्रो पाइदैन भने दुर्गमका नारीहरुको आर्थिक अवस्था नाजुक रहेको छ । तर अहिले सहकारीको माध्यमबाट नारीको आर्थिक पाटो सहज बन्ने क्रममा रहेको छ ।
नारीहरुको आर्थिक उन्नतिको लागि के गर्नु पर्ला ?
नारीहरुलाई आर्थिक उन्नतिको लागि सहकारी एउटा शसक्त माध्यम हो भने सहकारीको सहयोगमा नारीहरुले गरेको उद्यमबाट उत्पादित बस्तुको बजार व्यवस्थापन अर्को पाटो रहेको छ । नारीहरुलाई सीपमुलक तालिमको पनि उत्तिकै खाँचो छ । यी विविध क्षेत्रमा ध्यान पुर्याउन सकेमा नारीको आर्थिक उन्नति सम्भव छ ।
नेपालमा सहकारीहरुको अवस्था कस्तो छ ?
नेपालमा तेत्तीस हजार सहकारी संस्थाहरु रहेका छन्, सबैले राम्रो गरिरहेका छन् ।
 यी विभिन्न सहकारीहरुमा महिलाको स्थान कस्तो रहेको छ ?
नेपालभरका सहकारीहरु मध्ये चार हजार पाँच सय सहकारी महिलाहरुले मात्र संचालन गरेका छन् । सहकारी ऐन २०७४ ले तेत्तीस प्रतिशत महिलालाई निर्णायक तहमा राख्नु पर्ने व्यवस्था गरेको छ, जुन व्यवस्थाले महिलाहरुलाई नेतृत्व तहमा पुग्न सघाएकोले सहकारीमा महिलाको अवस्थालाई उत्साहजनक रुपमा लिन सकिन्छ ।
महिलालाइ निर्णायक तहमा पुर्याउन के गर्नु पर्ला ?
त्यसको लागि महिलाले पनि इच्छाशक्ति जाहेर गर्नु पर्छ, राज्यले विभिन्न व्यवस्था गरेको छ महिला शसक्तिकरणका लागि, राज्यले गरेको व्यवस्थाबाट महिलाले लाभ लिन आँफू पनि जागरुक हुनु पर्छ, जसबाट निर्णयक तह सम्म पुग्ने बाटो खुल्छ ।
उपासना महिला बचत तथा ऋण सहकारी संस्था कि यहा अध्यक्ष हुनुहुन्छ, महिला मात्रले यसरी सहकारी चलाउदाका चुनौतीहरु के के रहेका छन् ?
त्यस्तो उल्लेख्य चुनौती त केहि सामना गर्नु परेको छैन, पुरुष दाजुभाईहरुको साथ, सहयोग र सल्लाह समेत लिई अगाडी बढेका छौं । पुरुषको नाममा रहेको सम्पत्ति महिलाले धितो राखेर कारोवार गर्न नसक्ने भएकोले यो व्यवस्थाले भने चुनौती खडा गरिदिएको छ ।
एक महिला सहकारी अभियन्ताको हैसियतले भन्नु पर्दा नेपालमा सहकारीको विकासक्रमलाई कसरी लिनु भएको छ ?
नेपालमा फस्टाएको भनेको नै सहकारी हो जस्तो लाग्छ, सहकारीको माध्यमबाट परिवार, समाज र मुलुक नै समृद्धितिर जाने भएकोले यो क्षेत्र फस्टाएको हो, यो क्षेत्रलाई व्यवस्थित गर्न सहकारी ऐन २०७४ को आगमन संगै यो क्षेत्र अझै फस्टाउने विश्वास लिएकी छु ।
परिवारबाट कस्तो सहयोग पाउनु भएको छ ?
आज जुन स्थानमा आइपुगेको छु, त्यो स्थान सम्म आउन परिवारकै सहयोगले सफल भएकी हुँ ।
एउटी नारीलाइ यो स्थान सम्म आउन कत्तिको संघर्ष गर्नु पर्यो ?
जहाँ चुनौती हुन्न, त्यहा अवसर पनि हुन्न भन्ने मान्यतामा म विश्वास राख्छु, यहि मान्यताले संघर्ष र चुनौतीलाई सामना गर्दै म अगाडी बढिरहेकी छु र बढिरहने छु । यो स्थान सम्म आउन मैले गरेका संघर्षका कथा धेरै छन् । जुन संघर्षले मलाई अझ साहसी र मजवुत बनाएको छ ।
विभिन्न कमर्शियल बैंक, विकास बैकहरु तथा फाइनान्स कम्पनीहरु वीच सहकारीको बाटोबाट अगाडी बढ्न के कस्ता चुनौतीहरु छन् ?
सहकारी आफ्नै समुदाय विच संचालित हुन्छ, त्यसैले समुदाय विचको सु सम्वन्ध यसको सफलताको कारक हो । अहिले बैंक प्रति भन्दा पनि ग्राहकको रोजाई सहकारी हुने गरेका छन् । सहकारीले गरेको मुनाफा पनि स्थानीय तहका सामाजिक कार्यमा लगानी हुने गर्दछ, यसैले हामीले केहि चुनौती सामना गर्न परे जस्तो लाग्दैन ।
सहकारीलाई सरकारले लागू गरेको व्याजदरको सन्दर्भमा यहाको प्रतिक्रिया के रहेको छ ?
सरकारले जुन निर्णय गर्यो, त्यसले समग्र सहकारीको क्षेत्रमा अन्यौलता निम्त्याएको छ, सरकारको निर्णय आफैंमा अस्पष्ट रहेको छ, सरकारले आफ्नो निर्णयमा केहि परिमार्जन गरोस् भन्ने हाम्रो माग हो ।
अन्त्यमा केहि ?
सम्पूर्ण दिदी बहिनीहरुलाई आफैंमा क्षमतावान भएर अगाडी बढ्न अनुरोध गर्दछु, आँफै अगाडी बढे सहयोगी हात प्रसस्त भेटिन्छन् ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest