सांसदका श्रीमतीलाई पनि उद्धार गरेका छौः कमला

Friday, August 10th, 2018

कमला उप्रेती
महासचिव महिला आधारशिला
मेची अञ्चलको पाँचथरमा जन्मिएकी कमला उप्रेतीले औपचारिक रुपमा मास्टर सम्मको अध्ययन गरेकी हुन् । सबैसँग समृद्ध जीवन र सुखी जीवनको परिकल्पना हुन्छ । तर उनलाई व्यक्ति मात्र समृद्ध र सुखी भएर पुग्दैन सिङ्गो समाज नै समृद्ध हुनु पर्छ भन्ने लाग्थ्यो । एउटा व्यक्ति मात्र होइन सिङ्गो देश सुखी हुनुपर्छ भन्ने मान्यता बोकेर पिडित महिलाको हक हित र संरक्षणको क्षेत्रमा योगदान पुर्याउदै आएकी एक संघर्षशिल महिला हुन् कमला उप्रेती । उच्च शिक्षा हासिलको क्रममा काठमाडौँको पद्मकन्या कलेजमा आईपुगेकी उनी कक्षा १२ देखी नै समाज सेवामा लागेकी थिइन् । कक्षा १२ पढ्दाको एउटा घटनाले उनलाई समाजसेवा तिर धकेल्यो । जुन घटना यस्तो थियोःस्वयम्भुुमा सानो तिनो काम गरेर बस्ने दम्पत्तीले डाक्टरको घरमा छोरीलाई पढ्ने साथ साथै घरको काम पनि सघाउने भनेर राखिदिए, डाक्टरको घरमा बस्न सुरु गरेको केही समय पछि नै उनकी छोरी ५ तोला सुन तथा केही रकम सहित घरबाट भागिन्, उताबाट तिमीहरु नखोज्नु हाम्रो तर्फबाट नै बालिकाको खोजी कार्य भैराखेको छ भन्ने खबर आयो । छोरी हराएको पिडा पोख्दै र छोरी खोज्दै दम्पत्ती पद्मकन्या क्याम्पस सम्म आइपुगे । क्याम्पसमा रहेका केही छात्रा सहितको एउटा टोली बालिकाको खोजी गर्दै डाक्टरको घरसम्म पुग्यो । डाक्टरले पुलिसलाई बोलायो र उनीहरुलाई पुलिस चौकीमा लगेर सम्झाई बुझाई पठाईदियो । त्यो काम देखेर कसैले उनीहरुको समुहलाई संस्था खोलेर यस्तो सेवा गर्न आग्रह गर्यो र अन्ततः संस्था खोलेर अघि बढे । संस्थाले ती बालिकाको लागि मात्र होईन अन्य महिलाको पनि उद्धार तथा संरक्षण दिन थाल्यो । यहि संस्था आज पीडामा परेका महिलाको साथी बनेको छ, बलियो आधार बनेको छ । कक्षा १२ पढ्दा देखीको जोस जागरले उप्रेतीको र संस्थाको यात्रा आज सम्म सफल भईरहेको छ । कयौँ महिला तथा बालबालिकाको संरक्षणमा उनी लागि परिरहेकी छन् ।
समाजशास्त्रमा मास्टर गरेकी उनले समाज सेवाको क्षेत्रमा भने २५ वर्ष विताई सकेकी छन् । सुरुमा व्यागमा लेटर हेड र स्टाम बोकेर चलेको यस संस्था अहिले धेरै महिलालाई रोजगारी तथा धेरै बाल बालिकाहरुलाई शिक्षित बनाउन सफल भैसकेको छ । कमलाको लामो अनुुभवमा सामान्य परिवारका महिला भन्दा बढी शिक्षित जान्ने बुझ्ने परिवारका महिलाहरु पडित रहेका छन् । सकेसम्म आफ्नो पीडा श्रीमानको इज्जत, बुबाको इज्जत जाने डरले बताउन चाहदैनन् । उनी भन्छिन् अहिले सम्म हामीले उद्धार गरेका महिलाहरु सांसदका श्रीमती पनि परेका छन् भने अन्य महिलाको अवस्थाको के कुरा गर्ने उनी भन्छिन् । कहिले काहीँ राती १२ बजे फोन गरेर हामीले आरक्षण दिएकी महिलाको श्रीमानले फलानोलाई त्यहाँ राखेको रैछ बाँच्ने रहर छ की छैन ? भोली तेरो टाउकोे एकातिर जिउ एकातिर पारिदिन्छु समेत भन्ने गरेका छन् तर पनि हाम्रो निडरताको अगाडी उनीहरुको केही लागेको छैन । उनी भन्छिन् महिलालाई फ्रि लेभल सपोर्ट तथा आवास गृह समेत रहेको यो संस्था पहिला पद्मकन्या क्याम्पसको ४५ जना महिलाबाट सुरु भएको थियो अहिले देश भर रहेको छ ।
नेपाल असाहय महिला संघ नामबाट सुरु भएको संस्थाले १ वर्षमा महिलाको क्षेत्रमा निक्कै उपलब्धी हासिल गर्न सफल भयो । सोही सफलता पछि महिलाहरु आफैमा असहाय छैनन् भन्ने सोचका साथ संस्थाको नाम परिवर्तन् गरी ऐक्यवद्धता र विकासका आधार महिला संघ (सोलिडारिटी) दर्ता गरेर काम गर्न थालेको दिनहरुलाई स्मरण गर्छिन् कमला । सुरुमा शारिरिक शोषण भएका महिलाहरुलाई न्यायको लागि सघाउने काम गरेको संस्थाले हाल १३ ओटा जिल्लामा सम्पर्क कार्यालय र शाखा कार्यालयको रुपमा काम गरेको छ ।
जुनसुकै संस्था चल्नको लागि पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्ने हुन्छ ।आर्थिक आत्मनिर्भर बन्नकालागि संस्थाले पस्मिना सल, पोते तथा घरेलु सामानहरु उत्पादन गर्न थाल्यो र महिलाहरुलाई संगठित बनाउन सुरु गर्यो । कमला भन्छिन् आर्थिक स्रोत जुटाउने क्रममा महिला आधार शिलाले ढाका सिल्क तथा पस्मिनाको उत्पादन गरी त्यसको बजार खोज्न थाल्यौँ । हाल विभिन्न देशमा हाम्रो यस संस्थाद्धारा उत्पादित ढाका, सिल्क जस्ता समानहरुको माग बढ्दो छ । जहाँबाट हामीलाई आर्थिक कुरामा सफलता प्राप्त भएको छ, संस्थालाई आर्थिक रुपमा बलियो बनाएको छ ।
पिडित महिलाहरुको उद्धारको लागि अपिल गर्दै मध्यरातमा समेत फोन आउने भएकोले कार्य समिति भित्र रहेका महिलाहरुले सवारी साधन सिकेको र आफुहरु जस्तो सुकै अवस्थामा उद्धार गर्नसक्ने मानसिकतामा लागेको उनको भनाई छ । महिला भएर महिलालाई अन्याय नहोस भन्ने उद्देश्यका साथ कुनै पनि महिला कान्छी श्रीमती छन् भने संस्थाको सदस्य हुननसक्ने व्यवस्था रहेको छ । नियम संगत ढङ्गबाट पनि महिलाको हकहितको लागि लड्ने गरेको कमला बताउछिन् । महिलालाई सकेसम्म जुटाउने कोशिस हाम्रो हुन्छ । यदि भएन भने अधिकार प्राप्तीको लागि हामी सुरु देखी अन्त्यसम्म लड्ने गरेका छौ उनी भन्छिन् ।
महिलाको उद्धारको विषय जटिल बनेको र कुनै महिलालाई उद्धार गर्दै गर्दा उनका श्रीमान तथा आफन्तले तलाई पख भनेर धम्काउने गरेका थुप्रै उदहारण भएपनि राम्रो समुहगत कार्यको कारण आफुहरु नडराउने बरु कानुनको दायरामा आउनलाई अपिल गर्ने गरेका छौ, कमला भन्छिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest