साग महिला फुटबल :घरेलु मैदानमा नेपाललाई स्वर्ण जित्ने अवसर

Monday, December 9th, 2019

 

कास्की  :१३ ‌‍औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको प्रतिस्पर्धा पछि ‘पोष्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले ननेका थिए “आजको खेल ५०र५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग गर्‍यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।”

भारतीय प्रशिक्षकको भनाइलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको खेल जहिले पनि प्रतिस्पर्धापूर्ण हुन्छ र जसले पाएको अवसरको राम्रोसँग सदुपयोग गर्छ उही टोली खेलमा विजयी हुन्छ । महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको प्रतिस्पर्धाको नतिजामा नेपालमाथि भारत हाबी हुँदै आए पनि यी दुई देशबीचको खेल जहिले पनि रोचक र प्रतिस्पर्धापूर्ण रहने गर्दछ ।

त्यसैले पनि जारी साग खेलकूदअन्तर्गत महिला फुटबलको स्वर्ण पदकका लागि सोमबार आयोजक नेपाल र भारतबीच पोखरा रङ्गशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ । खेल प्रतिस्पर्धापूर्ण रहने भएकाले स्वर्ण पदकको हकदार को बन्छ भन्नेमा खेलअघि नै अनुमान लगाउन कठिन हुन्छ ।

सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिएर स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा रहनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने निश्चित छ ।

घरेलु मैदान र दर्शकको बाक्लो उपस्थितिले टोलीको मनोबल उच्च बनाउने छ भने दुई दिनअघिको खेलमा भएको गल्तीलाई सुधार गर्दैआफू अनुकूलको नतिजा ल्याउने अवसर नेपाललाई छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा भएको गल्तीलाई सुधार गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धामा उत्रिने बताउछन। भारत नेपालका लागि नौलो प्रतिद्वन्द्वी नरहेको उल्लेख गर्दै उनले भने, “खेलमा हुने गल्तीलाई कम गर्दै विपक्षीको गल्तीलाई सदुपयोग गरेर स्वर्ण जित्ने गरी खेल्ने छौँ । घरेलु मैदानमा भारतलाई हराउन हामी सक्षम छौँ ।”

भारतीय प्रशिक्षक मेयामोल रकी नेपालले सँधै आफ्नो टोलीमाथि दबाब सिर्जना गर्ने गरेको बताउँदै फाइनलमा आक्रामक फुटबल खेल्दै स्वर्ण जित्ने लक्ष्य रहेको बताछन । खेलाडीको ‘युनिटी’नै टोलीको सवल पक्ष रहेको बताउँदै उनले सम्पूर्ण खेलाडी स्वर्णका लागि खेल्न मानसिकरुपमा तयार रहेको उल्लेख गरे ।

जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलङ्कालाई ६–०, माल्दिभ्सलाई ५–० र नेपाललाई १–० गोलले पराजित गरी समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो । नेपाल र भारत हालसम्म अन्तर्राष्ट्रिय महिला फुटबलमा छ पटक भिडेका छन् । नेपालसँगको सबै प्रतिस्पर्धामा भारत हाबी हुँदै आए पनि नेपाली टोलीले उनीहरुलाई कडा टक्कर दिँदै आएको छ ।

महिला फुटबलमा नेपालले भारतलाई एकपटक मात्र पराजित गर्न सफल भएको छ । गत वर्ष भारतमै आयोजना भएको हिरो गोल्डकप फुटबलमा नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले पराजित गरेको थियो । भारतमा सम्पन्न १२औँ संस्करणको सागमा समेत यी दुई टोली फाइनलमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा नेपाल ४–० ले पराजित भएको थियो ।

पाकिस्तानको इस्लामावादमा सन् २०१४ मा भएको चौथो साफ च्याम्पियसीपको फाइनलमा नेपाल भारतसँग ६–० गोल अन्तरले पराजित भएको थियो । गत वर्ष विराटनगरमा सम्पन्न पाँचौँ संस्करणको साफ च्याम्पियनसीपको फाइनलमा समेत नेपाल भारतसँग ४–० गोलअन्तरले पराजित भएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest