सानो तिनो बाहेक अन्य झगडा पर्दैन हेर्नुहोस ……भिडियो सहित

Thursday, August 23rd, 2018

   

विवाह गरेर दार्जिलिङ्बाट भागेर नेपाल आएको जोडी
माथी माथी सैलुङ्गेमा, सुनको भाउ छ सुन्तला भारीको, गोठालो जाँदा लाएको माया, फैलियो माया दुबो सरी लगायत थुप्रै लोकप्रिय गीतकी गायिका कुन्ति मोक्तान अनि यस्तै कर्णप्रिय गीतलाई जीवन भर्ने संगीतकार शिलाबहादुर मोक्तान जीवनसाथी संगै सांगीतिक सहयात्री पनि हुन् । प्राय शिलाबहादुरको मिठो धुनमा मीठो स्वर गुन्जन्छ कुन्तिको । यसरी नै चल्दै आएको छ जीवन यात्रा पनि । एउटै क्षेत्र, एउटै चाहना अनि मन पनि एउटै । उनले गाएका अधिकांश गीतमा शिलाबहादुरले नै संगीत भरेका छन् । शिलाबहादुर पहिले शास्त्रिय गीत गाउथे । उनले स्वरबद्ध गरेका र संगीतबद्ध गरेका शास्त्रिय गीत आधुनिक गीत पनि साह्रै राम्रा छन् ।
भारतको दार्जिलिङ्मा जन्मिएर नेपाली गीतलाई माया गर्ने यो जोडीको प्रेमकहानी देखी हालसम्म गरेका संघर्षका कुराहरु पनि उतिकै चाखलाग्दो छ सुन्नेहरुका लागि । गीत संगीतको क्षेत्रमा आफ्नो नामलाई अग्रणी स्थानमा राख्न सफल कुन्ति र शिलाबहादुरलाई चखेवाको जोडी भनेर जिस्काउँछन् धेरैले । कहिलेकाहिँं आफुहरुलाई पनि अरुले भन्दा साच्चै हो जस्तो लाग्छ । कुन्तीले आठ वर्षको कलिलो उमेर देखीनै गीत गाउन थालेकी हुन् । शास्त्रीय गीत गाउनमा अत्यन्त रुची राख्ने संगीतकार शिलाबहादुर मोक्तान र कुन्ती सुन्दासको पहिलो भेट पनि सांगीतिक मोहले नै जुरायो । कुन्ती भन्छिन् हाम्रो भेट पहिलो पटक गुरुकोमा भएपनि वारी पारी गाउँको भएकाले गाउँमा सायद सबैले सबैलाई चिन्ने हँुदा एकले अर्काको नाम पहिले नै थाहा हुन्थ्यो । अझ हामी दुवैजनाको गीत रेडियोमा बज्ने हुदा नाम सुन्न थाहा पाउन तेति गाह्रो भएन, तर चिनजान गराउने माध्यम भने संगीतका गुरु भइदिए । सुरुमा भेट हुदा विवाह सम्म पुगिएला भन्ने दुबैलाई लागेको थिएन ।
दुइतीन वर्ष पछी नेपाली सांगीतिक क्षेत्रमा केहि गर्नुपर्छ भन्ने लागेर कुन्तीले शिलाबहादुरलाई नै भनिन् हामीले अव केहि गर्नुपर्छ अव बरु नेपालमैै जाउ । शिलाबहादुरलाई पनि उनको कुरा ठिकै लागेर दुवैजनाले घरमा खवर नै नगरि वि.सं २०३९ सालमा विवाह गरेर दार्जिलिङबाट बस चढेर काठमाण्डौ आएका थिए । कुन्ती सम्झीन्छिन ती दिन, छोरीमान्छे त्यहि पनि घरपरिवारलाई थाहा नदिएर आउदा मनमा एक किसिमको तरङग उत्पन्न हुनु स्वभाविक थियो अझ पहिलो पटक आउदा नै सबै सामान हराएर विचल्लिमा परेका थियौ । त्यो बेला रेडियो नेपाल बाहेक अरु गीत रेकर्डिङ् गर्नका लागी स्टुडियो थिएन । गीत रेकर्डिङ् गर्न रेडियो नेपालमा स्वरपरिक्षा दिनु पर्दथ्यो तर कुन्तीले पहिले नै गीत रेकर्ड गरिसकेकाले केहि सजिलो भने भएको थियो ।
शिलाबहादुर सम्झन्छन् त्यो समयमा गीत गाउने र संगीत भर्नेलाइ प्रति गीत गाएवापद रु.२० दिने चलन थियो । उनी हास्दै भन्छन हाम्रो मासिक कमाई तेस्तै ५०÷६० रुपैँया हुन्थ्यो । हुन त त्यति बेलाको ५०÷६० रुपैयाँ धेरै नै हो तर हामी भर्खरै मात्र घर छोडेर आएकाले त्यतिले हामीलाई पुग्ने कुरा नै भएन । कठिन परिस्थिती आउदा पनि पछि हट्नु हुँदैन भन्ने सम्झेर हामी टिकेर बसेका थियौँ ।
काठमाण्डौ आएपछी गीत गाउने मात्रै होइन अन्य ठाउँहरुमा पनि काम गर्न थाल्यौ । घुम्नमा अति रुची राख्ने कुन्ती र शिलाबहादुर पहिले पहिले रत्नपार्क खुल्लामञ्चमा दिन भरि बदाम, सुन्तला खाएर बस्ने अनि मान्छेहरु जम्मा भएको ठाउँमा गएर जादु लगायत रत्नपार्कमा हुने हरेक कार्यक्रममा दर्शक भएर हेर्ने गर्दथे । अहिले पनि हप्तामा एक दिन रमाइलो ठाँउमा घुम्नलाई जाने गर्दछन दुबैजना । छोरी शितल र सुवानीका आमाबाबु भनिदा पनि गर्व मान्ने गर्छन् । दुबै छोरी संगीतिक क्षेत्रमा उतिकै सक्रिय छन्, आफुलाई स्थापित गराइसकेका छन् । जेठीछोरी शितल मोक्तानको यसै बर्ष विवाह गरेर ज्वाईसँग बस्न थालेकी छन् । मोक्तान परिवार शितलको वैवाहिक सम्बन्ध प्रति खुशि छन् । कुन्ति भन्छिन्, सबै पुरानो कुरा नै फलो गर्नुपर्छ भन्ने मलाई लाग्दैन, हामीले केही परिवर्तन गर्नु पर्छ । घरमा पनि रमाइलो वातावरण बन्न पाएको छ किनकी पहिले छोरा मान्छे एक जना मात्र हुनुहुन्थ्यो अहिले ज्वाई पनि थपिनुभएको छ ।
सांगीतिक कार्यक्रम या काममा सधै सँगसँगै देखिने कुन्ति र शिलाबहादुर किचनमा भने कमै सँगै देख्न सकिन्छ । शिलाबहादुर भन्छन् “खासै त किचनमा पसेर पकाउने काम गर्दीन तर उनी नभएको बेला भने पकाउने गरेको छु । चिया भने प्राय मैले नै बनाउछु । उनी सबै खानेकुरा साह्रै मिठो बनाउने भएकाले पनि पकाउन उनैलाई छाडिदिन्छु स्वाद लिन भने म अघि सर्छु । उनले पकाउदा त्यो वास्नाले मलाई किचनमा नै छु भन्ने महशुश गराइरहेको हुन्छ । उनलाई कुन्तीले बनाएका सबै खाने कुरा उतीकै मनपर्छ तर एउटा कुरा रोज्नु पर्यो भने मासु नै उनलाई विशेष मनपर्छ । उनी भन्छन् कुन्तिको हातमा जादु नै छ । शिलाबहादुर पनि चिया पकाउनमा भने सिपालु छन् । कुन्तिलाई उनले बनाएको चियाको चुस्किलिदाँ आनन्द आउछ त्यसैले पनि सधै चिया बनाउने काम भने शिलाबहादुरले गर्छन ।
उपहार पनि आदान प्रदान गर्न बिर्षदैनन् यी संगीतिक प्रेमिल जोडि । कहिले काहीँ बाहिर जादा एकले अर्कोलाई केहि न केहि उपहार ल्याएर आउने गरेका छन् । मायामा मीठास हुनको लागि कहिलेकाहि सानो तिनो झगडा पनि पर्नुपर्छ । त्यो झगडाले अझ नजिक बनाउछ जस्तो लाग्छ कुन्तिलाई । झगडा गर्न ठूलो कुरा चाहिदैन सानो सानो कुरा नै काफी हुन्छ तर जति झगडा परे पनि ठूलो झगडा परेको भने जीवनका यतिका बर्ष सँगै पार गर्दा अनुभव गर्नु परेको छैन । कुन्ती भन्छिन् सायद सानो तिनो कुरामा डिसकस हुनु स्वभाविक हो । मान्छेका फरक फरक इच्छा हुन्छन् त्यसमा पनि हामी फरक परिवारबाट आएर सँगै बसेका हुन्छौ । सय प्रतिशत आफुले चाहेको जस्तो त हुँदैन । उहाँ कहिले काहीँ ढिलो आउदा रिस त उठ्छ नै कता जान परेको हुन्छ तर रिस उठयो भनेर हामी एकले अर्कोसंग नवोल्ने गरी होइनकी सम्झाईको रुपमा लिन्छौ त्यसैले पनि हामी एउटा सफल परिवार भएका छौ ।
एक जना रिसाएमा अर्को चुपचाप बसेमा सायद खासै असर पर्दैन तर दुवैजनाले वोल्न थालेमा सानो कुराले पनि ठूलो रुप लिन्छ । दुबैको बिचारमा सम्बन्धलाई सफल पार्नको लागि दुबैको उतिकै भूमिका हुन्छ, केहि कम्प्रमाइजको पनि आवश्यक हुन्छ । त्यो कुरा बुझेर जीवन अगाडि बढाउनु पर्छ ।
चक्र प्रसाद पोख्रेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest