सामाजिक काम गर्दा अपार सन्तुष्टि पाउछु

Thursday, January 23rd, 2020


नमिता आचार्य
जिक अभियान्तासामा
अहिले नेपालका अधिकांश युवा विदेश जाने दौडमा छन्, विदेश जाने मात्र होइन, गएर सम्भव भएसम्म उतै पलायन हुने मनसाय देखिन्छ धेरै नेपाली युवायुवतीहरुमा । अधिकांश विगतमा विदेश गएका पलायन पनि भइरहेका छन्, सक्नेहरू विद्यार्थी भिसामा गएर उतै पलायन भएका छन् भने विद्यार्थीको भिसा नपाउनेहरू व्यापार व्यवसाय, पर्यटक वा मजदुर भिसामा विदेश पुगी त्यतै पेसा व्यवसाय गरी बसेका छन् । राजनीतिकर्मी, पेशाकर्मी, कर्मचारी, विद्यार्थी, व्यापारी तथा आमनागरिक विदेश मोहमा छन् । यी सबैलाई विदेश मोहले छोडेको देखिदैन । आमनागरिक रोजगार नपाएर वा हातमुख जोड्ने उपाय नभएर वा धेरै कमाउने उद्देश्य लिएर र देखासिकीले विदेश जान लालाहित देखिन्छन् । नेताहरू विदेशको वैभव देखेर नेपाललाई त्यस्तै बनाउने सपना बाँड्न विदेश मोह देखाउँछन्, कर्मचारीहरू अध्ययन, अवलोकन गर्ने निहुमा विदेशिने गरेको पाइन्छ । दैनिक एक हजार पाँच सयदेखि एक हजार सात सयसम्म युवाहरू विदेशिने गरेको तथ्यांक छ । कतिपय सम्भावनाका क्षेत्र भएर पनि त्यसतर्फ भने आम युवा आकर्षित हुन सकेका छैनन् । राज्यले नै त्यसतर्फ सोचेको छैन । राज्य त झन आफ्ना देशका नागरिकलाई विभिन्न प्रलोभन देखाउँदै विदेशी मोह जगाइरहेको आभास दिन्छ । विदेश जाने नेपालीको भीडमा एक फरक सोच कि नारी हुन् नमिता आचार्य ।
विशेष गरि सामाजिक क्षेत्रमा केहि गर्ने उद्देश्य राखेर अगाडी बढिरहेकी नमिता सानै देखि सामाजिक काममा रुचि राख्थिन् । केटाकेटीमा कोही असाहय, गरिव, दीनदुःखी देख्दा उनको आँखा रसाउथ्यो, तत्कालै केहि न केहि सहयोग गर्न मन लाग्थ्यो उनलाई, आँफु संग भएको केहि पैसा, कपडा, कापि, कलम, किताव जे दिएर भए पनि सहयोग गर्ने गर्दथिन् उनी । आफ्नो रुचि सामाजिक काममा भएकोले उनले आफ्नो अध्ययनको पाटो पनि यहि विषयलाई बनाइन् । अध्ययन सके पछि उनी विराटनगरमा खुलेको ‘इन्डिपेन्डेन्ट ह्युमन फाउण्डेशन’ मार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहेकी छिन् । उक्त संस्थाले महिला, बालबालिका, शिक्षा, प्राकृतिक प्रकोप लगायतका क्षेत्रहरुमा कार्य गर्दै आइरहेको छ । उनको सक्रियतामा संस्था मार्फत विभिन्न विद्यालयहरुमा आवश्यक सामाग्रीहरु उपलब्ध भएका छन् भने तराईमा भएको बाढीपैहे, आगजनी लगायतको क्षेत्रमा मानवीय सहयोग पुगेको छ । आपतमा परेका नागरिकहरुको उद्दार र बचाउको लागि उनी सबै छोडेर लाग्ने गर्छिन् ।
नमिताले नेपालको परिवेश बुझेकी छिन्, हिमाल, पहाड र तराईका नागरिकले भोगेका समस्या, छाउपडी प्रथा, नारीले नारी भएकै कारणले भोग्नु परेका विविध समस्याबारे उनले सुनेकी छिन्, पढेकी छिन्, टेलिभिजनमा हेरेकी छिन् । अभाव नै अभावले पिल्सिएका ती नागरिकहरुको पीडा बुझ्दा उनको मन भक्कानिन्छ अनि भन्छिन् ‘मलाई विदेशको मोह पटक्कै छैन, म मेरो देशका यिनै नागरिकको क्षेत्रमा सेवा गरेर अगाडी बढ्नेछु ।’ नमिताका धेरै साथीहरु विदेशमा छन्, उनीहरुले नेपालमा सामाजिक काम गर्ने वातावरण नभएकोले उनलाई पनि विदेश आउन आग्रह गर्ने गर्दछन् । साथीहरुको आग्रहलाई नमिता नराम्रो त मान्दिनन् उनी भन्छिन् ‘हो नेपालमा अहिले नै सामाजिक कामको लागि उपयुक्त वातावरण नहोला, तर मैले यो बाटो रोजिसकेकी छु, एउटा लक्ष निर्धारण गरिसकेककी छु, मैले रोजेको यो बाटो र लक्षलाई सहज बनाउने जिम्मेवारी पनि मेरो हो, जुन दिन म मेरो लक्षमा पुग्नेछु, त्यो दिन म मेरा ती साथीहरुलाई भेट्नेछु ।’
सामाजिक क्षेत्रमा लाग्ने नमिताको अठोटमा उनलाई दरिलो साथ मिलेको छ उनकी माता सावित्री पुरी आचार्य र पिता ज्योति कुमार आचार्यको । ‘वहाहरुको साथले नै म अगाडी बढिरहेकी छु’ उनी भन्छिन् । राजनीति शास्त्रमा समेत स्तातकोत्तर गर्दै रहेकी नमिता भोलीको दिनमा समय र परिस्थितिले साथ दिए नेपालको राजनीतिमा पनि प्रवेश गर्ने सोच राख्छिन् । नीति निर्माण तहमा पुग्नको लागि पनि राजनीतिको बाटो आवश्यक पर्ने र नीति निर्माण तह सम्म नपुगि देशमा समग्र परिवर्तन असम्भव भएकोले पनि उनी राजनीतिको बाटो हुँदै आफ्नो लक्षमा पुग्ने कोशिष रहने बताउँछिन् ।
सामाजिक कार्य समाज र नागरिक प्रति समर्पित काम हो, व्यक्तिगत स्वार्थबाट सधैं टाढा रहेर गरिने सामाजिक र परोपकारी काम सहज काम भने होइन, यो क्षेत्रमा लागिरहनको लागि मेहनत, लगनशिलता र धैर्यता आवश्यक पर्ने गर्दछ, नमितामा यी सबै गुण पाउन सकिन्छ, उनका यी गुणहरुले उनी भोलीको दिनमा नेपाल कि एक सच्चा समाजसेवी बनेर समाजमा उदाहरणीय व्यक्तित्व बन्ने विश्वास लिन सकिन्छ ।
प्रस्तुति :हरिरामपौडेल 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest