साहित्यमा निरन्तर लागिरहने छु

Tuesday, November 12th, 2019

 आचार्य प्रभा
लेखन यात्राको सुरुवात कहिले देखि ?
२०३४ साल देखि लेखनको सुरुवात गरे, ‘नयाँ सन्देश’ मा मेरो पहिलो कविता प्रकाशित भएको हो ।
लेखनमा परिवारको साथ कस्तो रहेको छ ?
मेरो श्रीमान् केशव आचार्यले मेरो लेखनयात्रामा सधैं साथ दिइरहनु भएको छ । वहा आँफू पनि लेख्नु हुन्छ तर वहाका लेखन डायरीमा मात्र सिमित रहेका छन् ।
लेख्नको लागि को बाट प्रेरित हुनु भयो ?
मेरो दाजु पनि लेख्नु हुन्थ्यो, मेरो आमाले पनि उपन्यासहरु पढेर मलाई सुनाउनु हुन्थ्यो, मेरो माइती तर्फको परिवारको साहित्यिक मन थियो, त्यसैको असरले पनि म भित्र यी गुण हुनु पर्छ, मैले मेरो मन भित्र रहेको लेखनको चाहलाई प्रस्फुटन गरे ।
यहाका प्रकाशित कृतिहरु कुन कुन हुन् ?
मेरो लेखनको तीन दशक पछि परदेशबाट कविता संग्रह प्रकाशित भयो भने त्यसको दश वर्ष पछि मेरो गजल संग्रह असह्य चित्कार प्रकाशित भयो, हालसालै गीत संग्रह मायाको नाकावन्दी प्रकाशित भएको छ । गीति एल्वम तिम्रो पर्खाइ र डिम्स तथा भजन एल्वम पनि बजारमा ल्याउन सफल भए ।
गीत लेख्दा कस्तो वातावरणको आवश्यकता पर्छ ?
मलाई खुशी, पिडा, दुःख, सुख सबै परिवेशले छुने गर्छ, यी सबै परिवेशमा मैले गीत लेखेकी छु, त्यसैले यस्तै वातावरण आवश्यक पर्छ भन्ने लाग्दैन, जुनसुकै परिवेशमा लेख्ने अग्रसरता बढ्छ ।
प्रवासमा बस्दा देशको याद कति आउँछ ?
हामी प्रवासमा रहदा देशको माया र याद असाध्यै लाग्ने गर्छ, यस्तो बेला देशका गीत, माटोको गीत लेखेर याद मेटाउने गर्दछु ।
आगामी दिनमा के कस्ता विषयमा यहाको कलम चल्ने छ ?
लेखन क्षेत्र मेरो जीवनको बाँच्ने आधार हो । म जुनसुकै परिवेशमा पनि लेखिरहेकी हुन्छु,
लेखन बाहेक रुचिका विषयहरु ?
गीत संगीत, समाजसेवा मेरा रुचिमा प्रमुख विषय हुन्, नेपालमा रहदा र अमेरिकामा रहदा समेत विभिन्न साहित्यिक संस्थामा रहेर साहित्यको सेवा गरियो भने अन्य सामाजिक संस्थाहरुमा रहेर सकेको समाजसेवा पनि गरियो, भोलीका दिनमा पनि गर्ने नै छु ।
प्रवासमा नेपाली साहित्यको अवस्था कस्तो छ ?
प्रवासमा नेपालमा भन्दा अझ बढि नेपालीहरु साहित्यमा सक्रिय रहेको मैले पाएकी छु, यहाँ नलेख्ने मान्छे पनि प्रवासमा छिरे पछि लेखक, कवि, गीतकार बनेका छन्,
प्रवासमा रहेर लेख्दाका सहज असहज परिस्थिति के के छन् ?
समय व्यवस्थपान महत्वपूर्ण कुरा हो । मैले त्यस्तो असहज केहि महशुष गरेकी छैन, लेखेर प्रचार प्रसारको लागि समेत विभन्न अनलाइनहरु पनि संचालित रहेका छन् ।
प्रस्तुति : हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest