सुत्केरी पशुलाई भत्ता

Wednesday, December 26th, 2018

सिन्धुलीको कमलामाई नगरपालिकाले कृषकहरुलाई पशुपालन व्यसायप्रति आकर्षित गर्ने उद्देश्यले सुत्केरी पशुलाई भत्ता दिन सुरु गरेको छ । नगरक्षेत्रभित्रका कृषकले पालेको गाई भैंसी ब्याउदा सुत्केरी खाद्यान्न सहयोगका लागि एक पटक नगद एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ । सुत्केरी पशुलाई भत्ता दिन कृषकहरुबाट निवेदन सङकलन गर्न सुरु गरिएको नगरपालिकाका पशु चिकित्सक हरिहर लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषकलाई सुत्केरी पशुको भत्ता दिन मङसिर १ गतेदेखि नै निवेदन सङकलन सुरु गरिएको छ । अहिलेसम्म २८ जना कृषकले भत्ताको दाबी गर्दै निवेदन दर्ता गराएका छन् । सङकलन भएको निवेदनका आधारमा प्रत्येक दुई महिनामा बैंकबाट रकम झिकी कृषकलाई बोलाएर उक्त भत्ता उपलब्ध गराइन्छ ।’ यो अभियान असार मसान्तसम्म लागू गरिने चिकित्सक लामिछानेको भनाई छ । उहाँका अनुसार कृषकले पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपिसहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्ने हुन्छ ।

यसरी उपलब्ध गराएको भत्ताबाट सम्बन्धित कृषकले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउनु पर्ने छ । कार्यपालिकाको बैठकबाट निर्णय गराई पशुलाई सुत्केरी भत्ता दिन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest