स्वस्थानी व्रतकथामा नारीको स्थान

Monday, January 27th, 2020


 
नेपाली समाजको परम्परागत कथानक विशेषता बोकेको स्वस्थानी व्रतकथा लेखिएको साढे चारसय वर्ष पछि पनि स्वस्थानी कथालाई नेपाली समाजमा अत्यन्त श्रद्धा र भक्ति पूर्वक पढ्ने, सुन्ने र सुनाउने गरिन्छ । रमाइलो पक्ष त के छ भने आफ्नै कथाव्याथा जस्तै लाग्ने, आफैलाई हेपिएर लेखिएको कथा पनि नेपाली नारीहरूले अत्यन्त श्रद्धापूर्वक पढ्ने र व्रत बस्ने गर्दछन् । आखिर यसको रहस्य के हो त ? यस भित्रका सबै कुरा बुझेरै व्रत बसिरहेछन् या धर्मको आडमा सिर्जना गरिएका त्रास वा अन्धभक्तिले यसलाई जीवन्तता दिइरहेछ ? अहिलेको समयको यो एउटा महत्वपूर्ण प्रश्न हो ।
नारी (देवी)को पूजा गरिने स्वस्थानी व्रतकथा भित्रको सम्पूर्ण कथा नारीहरूकै कथा र व्याथाले भरिएको छ । नारी अर्थात् ‘स्वस्थानी’ देवीकै व्रत, पूजा र महिमाले भरिएको स्वस्थानी कथाभित्रका नारी पात्रहरूले भोग्नुपरेको अपमान, दुःख, पीडा, विभेद, हिंसा र कष्टका कुराले कथालाई रोचकता मात्र दिएको छैन, यस कथाले नेपाली समाजको परम्परागत चरित्रलाई निरन्तरता दिइरहेको छ । आज पनि नेपाली समाजमा नारीहरूको स्थान स्वस्थानी व्रतकथाकै झझल्को दिने खालको छ । पुरुषलाई प्रथम दर्जा र महिलालाई दोस्रो दर्जाको मानिसको रुपमा आज पनि समाजले हेरिरहेकै छ । कानूनले दिए पनि व्यवहारमा पैतृक सम्पत्तिमा हक स्थापित गर्न छोरीहरूले सकेका छैनन् । छोरीहरू विवाह गरेर ‘अर्काको घर जाने जात’ भन्ने मानसिकता अझै छ । चरित्र र सतित्वको आशा अझै पनि नेपाली समाजले गरिरहेकै छ एकातिर भने अर्कोतिर महिलाहरू चाहे सत्तरी नाघेका बृद्धा हुन् चाहे चार वर्षीया बालिका, बलात्कारको शिकार भएकै छन् । आफूमाथि आइपर्ने दुःख, कष्ट र अन्यायलाई भाग्य र कर्मको खेल सम्झेर चित्त बुझाउने मानसिकताबाट अझै महिलाहरू मुक्त हुन सकिरहेका छैनन् । यी सब कारणहरूको पछाडि स्वस्थानी व्रतकथा जस्ता धार्मिक ग्रन्थहरूको के कत्तिको भूमिका रहेको छ त भनेर अध्ययन र विश्लेषण हुनु पनि अबको आवश्यकता हो भन्ने लाग्छ । किनभने अझै पनि हाम्रो समाजलाई धर्मले निर्देशित र नियन्त्रित गरिरहेको पाइन्छ ।
स्वस्थानी व्रतकथामा उल्लेखित सबै पात्र तथा चरित्रहरूले तत्कालीन समाजको सामाजिक, धार्मिक तथा साँस्कृतिक परिवेश र त्यस भित्रको मानवीय चरित्रको प्रतिनिधित्व गरेका छन् । सतीदेवी, पार्वती, बृन्दा, गोमा, चन्द्रावती आदि सबै नारीपात्रहरूले तत्कालीन समाजको मात्र होइन आजको समाजका नारीहरूको भोगाईलाई पनि प्रतिनिधित्व गरेका छन् भने महादेव, विष्णु, जालन्धर, शिव शर्मा आदि सबैले आम पुरुष चरित्रको प्रतिनिधित्व गरेका छन् र आम पुरुषको चारित्रिक विशेषताको निरन्तरताको प्रतिनिधित्व गरेका छन् । यी सबै पात्रको भूमिकालाई अध्ययन गर्दा निष्कर्षमा के भन्न सकिन्छ भने स्वस्थानी व्रतकथाले एकातिर नारीलाई देवत्वकरण गरेर धार्मिक रुपले पूजनीय र शक्तिशाली देखाउन खोजेको छ भने अर्कोतिर त्यही नारीलाई कमजोर मानसिकताको देखाउँदै नारीको स्थान केवल सेविका र भोग्याको रुपमा मात्र देखाउन खोजेको छ र पुरुषहरूलाई शक्तिशाली र मालिकको रुपमा प्रस्तुत गरि समाजमा उनीहरूको स्थान उच्च देखाउन खोजेको छ ।
स्वस्थानी कथाभरि स्त्रीजातिलाई कमजोर र निरिह रुपमा प्रस्तुत गरिएको छ । कथाका नारीपात्रहरू प्रायः सबैले आफूलाई कमजोर, अभागिनी, पापिनी, दुखिया आदि शव्दले सम्बोधन गरेको पाइन्छ । छलपूर्वक बृद्ध सन्यासीसँग विवाह भएर माइतीबाट घर जाँदा बाटोमा सतीदेवीले आफूलाई मनमनै असुरक्षित महशुस गर्दै सोच्दछिन्–‘पति बृद्ध छन्, म भर्खरकी पूर्ण यौवना छु , स्वामीलाई कसैले केही गरि मलाई हरण गरेर लैजान्छ कि !’ (अ.४)
त्यसै गरि पार्वती जस्ती शक्तिशाली देवीले पनि जालन्धरले आफूलाई छल गर्न आएको थाहा पाएर पनि आफूलाई देखेर मूर्छा परिरहेको जालन्धरलाई तत्काल शिवगण लगाएर उसलाई दण्डित गर्नुको सट्टा भित्र गई असहाय स्त्री झैं कुनामा लुकेर विष्णुलाई गुहारेकी छन् । जबकी ती उनै पार्वती थिइन् जसले महादेव पति पाउनको लागि तपश्यारत रहँदा उनको सौन्दर्य देखेर मोहित भई ‘कुचेष्टा’ गर्न लागेका दानव प्रघोष र दमघोषलाई आफ्नो दृष्टिले नै भष्म पारेकी थिइन् (अ.१२) साथै उनको परीक्षा लिन आएका इन्द्र रुपका महादेवलाई श्राप दिन तयार भएकी थिइन् (अ.१३) । किन उनले जालन्धरलाई देख्नासाथ भष्म गर्न सकिनन् ? पार्वतीको यो निरिहताले नारीहरू कमजोर हुन्छन् भन्ने पाठ सिकाएको देखिन्छ ।
स्वस्थानीको व्रत गराउन आएका अश्वत्थामा ऋषिसँग नागिनीहरूले भन्छन्–‘हे ऋषिश्वर ! हामी दुःखी पनि छौं …पापिनी पनि छौं…त्यो व्रत हामीलाई गराऊ ।’ (अ.१८) । किन स्त्रीजातिले आफूलाई ‘पापिनी’ भनेर सम्बोधन गर्दछे ? के स्त्रीजाति भएर जन्मनु पाप हो ? हाम्रा विभिन्न पुराणहरूले पुत्र जन्मनुलाई पूर्वजन्मको पूण्य कर्म र पुत्री जन्मनुलाई पाप कर्मको फल भनेर भनिदिएका छन् । स्वस्थानी व्रतकथामा पनि शिव भट्ट र सती ब्राम्हणीलाई गणेशले पुत्री हुने वरदान दिंदै ‘पुत्र भने तिमीहरूलाई हुने छैन किनभने पूर्वजन्ममा तिमीहरूले राखेको छैन’ भनेर भनेका छन् ।(अ.१९) । त्यसैले पनि होला स्त्रीजातिको मानसिकतामै आफूलाई ‘पापिनी’ वा ‘अभागिनी’ भनेर भरिएको हुन्छ ।
त्यस्तै गरि गोमाले पनि आफूलाई पापिनी भनेर सम्बोधन गरेकी छ । स्वस्थानी व्रत गराउन आफूकहाँ आएका सप्तर्षिहरूसँग गोमाले भन्छे–‘हे ऋषिश्वर ! म यस्ती पापिनीलाई घरमै आएर दर्शन दिनुभयो ।’ (अ.२३) । गोमाले आफूहरूलाई पान खुवाउनको लागि धागोको लरिया लिएर गएको देखि गोमाको गरिबीलाई देखेर ऋषिहरूले आफूहरू बसेको पिर्कामुनि सुनका कौडी छोडेर जान्छन् । गोमाले पान लिएर फर्किआउँदा ऋषिहरूलाई नदेखि दुःखी हुँदै भन्छे–‘…पापिनीका हातको पान खानुपर्ला भनेर गैगएछन् । म धिक्कार रहिछु ।’ (अ.२४) । गोमाले पटकपटक आफुलाई यसरी नै ‘पापिनी’ भनेर सम्बोधन गरेकी छ । तर स्वस्थानी कथामा कहीं कतै पनि गोमाले त्यस्तो के पाप गरेकी थिई भनेर भनिएको पाइँदैन । के गरीब हुनु, दुःखी हुनु पाप हो ? चन्द्रावतीलाई त झन ‘पापिनी’ नाम नै दिइएको छ ।
स्वस्थानी कथा समाजको प्रतिबिम्बको रुपमा प्रस्तुत भएकोले पनि समाजमा नारीहरूप्रति हेरिने दृष्टिकोण, उनीहरूलाई गरिने व्यवहार र नारीले आफैलाई हेर्ने दृष्टिकोणलाई यस कथाले प्रतिनिधित्व गरेको अनुमान लगाउन सकिन्छ । के स्वस्थानीको व्रत पापिनीहरूले मात्र गर्ने व्रत हो ? यदि त्यसो हो भने शुरुमा त यो व्रत पार्वतीले गरेकी छन् नि !
गर्भवती भएको महिनादिनमै पतिले छोडेर गएपछि कठिन संघर्ष गर्दै एक्लो जीवन बिताएर पुत्रको जन्म र पालन पोषण गर्दै हुर्काएर विवाह गरिदिन सफल भएकी एउटी साहसी स्त्री गोमाले आफैलाई कमजोर ठानेकी छ र उसले आफूलाई ‘केही नजान्ने स्त्री जाति’ भनेकी छ । सात वर्षको अबोध उमेरमा महादेवबाट श्रापित भई सत्तरी वर्षको बृद्धसँग विवाह भएर त्यही बृद्ध पतिले पनि छोडेर गएपछि आफूले भोगेका कठिन, संघर्षपूर्ण दिनहरू र दुःखपूर्वक हुर्काएको छोराले पनि छोडेर गएपछि बिछिप्त बनेकी गोमाले सप्तर्षिको सल्लाहमा श्रीस्वस्थानीको व्रत गरेपछि प्रार्थना गर्ने क्रममा आफूले बालिका अवस्थामा गरेका गल्तिप्रति श्रीस्वस्थानी परमेश्वरीसँग क्षमा माग्दै महादेवको श्रापबाट मुक्तिको लागि प्रार्थना गर्छे र भन्छे–‘हे ईश्वरी ! …तिम्रो महिमा वर्णन गर्न…ले पनि नसकेको म स्त्री जातिले के सकुँली ।’ –अ.२४) ।
स्वस्थानी कथाले एकातिर नारीले एक्लै पनि घर संसार चलाउन सक्छे भन्ने कुरालाई गोमाको संघर्षद्धारा देखाउन खोजेको छ भने अर्कोतिर मानसिक रुपमा उसलाई कमजोर देखाइएको छ र पटक पटक गोमालाई एक्लो हुनुपर्दाको विछिप्त अवस्थामा देखाइएको छ । एक्ली गोमाले पुत्र (नवराज)लाई जन्म दिएकी छ र अनेक दुःख गरेर उसलाई हुर्काएकी छ तर पनि उसको संघर्ष ओझेलमा परेको छ । स्त्रीजातिलाई समाजले यसै त कमजोर देख्छ झन पतिले छोडेकी एक बेसहारा स्त्रीको संघर्षको झन कसरी मूल्याङ्कन हुन सक्छ ? पुरुष शारीरिक रुपमा जस्तोसुकै कमजोर भएपनि उसलाई साहसी र रक्षक ठान्ने मानसिकताले गर्दा महिलाले आफूलाई कमजोर ठान्छन् । आज हरेक क्षेत्रमा महिलाहरू पुरुषको दाँजोमा काँधमा काँध मिलाएर अगाडि बढिरहँदा त महिलाहरूलाई कमजोर ठानिन्छ भने आजभन्दा करिब पाँचसय वर्ष अघिको समाजले महिलालाई कमजोर रुपमा प्रस्तुत गर्नु कुनै आश्चर्यको कुरा हुन सक्दैन ।
घर, गृहस्थी, पूजापाठ, व्रत आदिमा स्त्री र पुरुषको समान सहभागिता चाहिन्छ भनिएता पनि स्त्रीलाई कमजोर ठान्दै उसको लागि सम्पूर्ण उसको पति हो भन्ने कुरालाई स्वस्थानी व्रतकथाले ठाउँ ठाउँमा सम्झाएको पाइन्छ । गोमा मात्र होइन, गोमाकी आमा सती ब्राम्हणी पनि साहसी स्त्री देखिएकी छ । गोमाको लागि अत्यन्त कुरुप बृद्ध वर खोजेर ल्याएकोमा दुःखी र क्रुद्ध हुँदै उसले पति शिव भट्टसँग भन्छे–‘हे स्वामी ! …अर्काले कन्यादान दिएनन् भनेर जतिले हत्या गरेर मर्लान् त्यो हत्याको पाप हामीलाई लाग्छ ! कदाचित तपाइँलाई त्यस कुराको भय छ भने त्यो हत्या गरि मरोस्, त्यो पाप म आफ्नो कपालमा थापुँली । … तपाइँले खोज्न नसकेको हो भने म गएर खोजेर ल्याउँछु ।’ (अ.२०) । यसरी सती ब्राम्हणीले पतिलाई चुनौति दिएकी छ र पुरुषले गर्न नसकेको काम आफूले गर्ने कुरा गरेकी छ । तर समाजले बाबु छँदाछँदै आमाहरूलाई अघि सर्न दिएको छैन र शिवभट्टको निर्णय नै मान्य हुन्छ र त्यही कुरुप बृद्धसँग आफ्नी प्यारी पुत्री गोमाको विवाह गरिदिन सती बाध्य भएकी छ ।
यसरी स्वस्थानी कथाले नारीहरूलाई हरतरहले कमजोर देखाएको छ । तर पनि नारीहरूले नै निरन्तर यो कथालाई महिमामण्डित गरेर पढ्दै र व्रत बस्दै आइरहेका छन् । समयको कुनै कालखण्डमा कसैले लेखेको एउटा धार्मिक साहित्यले यसरी धार्मिक आस्थाको रुपमा मानिसको मनमा जरो गाडेर बस्न सक्नु चानचुने कुरा त पक्कै होइन अझ महिलाको यसप्रतिको समर्पणले नेपाली समाजमा स्वस्थानीको महिमालाई अनन्तकालसम्म जीवन्त राख्न सक्नेमा कुनै शंका छैन । किनकी नेपाली महिलाहरू अस्तित्वको पछि भन्दा पनि आस्थाको पछि लाग्नमा आनन्द मान्छन् चाहे त्यो आस्थाको विषयवस्तुले उनीहरूको जति नै मानमर्दन गरेको किन नहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest