स्वस्थानी व्रतले नेपाली नारीलाई दिन खोजेको सन्देश के हो ?

Wednesday, January 22nd, 2020

पल्पसा डंगोल ‘चम्सुरी’ कलाकार :
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । । यो हाम्रो मौलिक संस्कृति हो, परापूर्वकाल देखि चलिएको चलन हो । पुष, माघको चिसोमा एक छाक खाएर, दिनदिनै नुहाएर गरिने यो व्रत निक्कै कठिन व्रत पनि हो, यो व्रतले नारीले चाहे जे पनि गर्न सक्छन् भन्ने सन्देश पनि दिन खोजेको छ । एक महिना सम्मको कठोर व्रतले स्वास्थ्यलाई समेत राम्रो गर्ने गर्दछ, यसर्थ स्वास्थानीको व्रतले नेपाली नारीहरुलाई एउटा चुनौतीको सामना, कठोरपनको आभाषका साथै नारी शक्तिको परीक्षा समेत लिन खोजेको जस्तो लाग्छ, जसले नारीलाई अझ सशक्त बनाउने सन्देश दिएको छ साथै स्वस्थानी व्रतकथाको अन्तिम अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुई बुहारी चन्द्रावती र लावण्यवतीलाई विभिन्न उपदेश गरी ढुकुटीको साँचो हस्तान्तरण गरेको प्रसंगबाट हाम्रो समाजमा पनि नयाँ पुस्तालाई मौका दिइनुपर्ने सन्देश दिन खोजेको छ । काम र उमेरले पाका भएका व्यक्तिहरूको सम्मान गर्दै उनीहरूले सिकाएको पाठलाई शिरोधार्य गरे मात्र स्वस्थ समाज बन्ने दृष्टान्त पनि स्वस्थानी कथाले दिन खोजेको छ ।
डा. सुष्मा बास्कोटा बराल,वरिष्ठ अधिवक्ता :
शक्तिको आरधनाको रुपमा स्वस्थानी व्रत कथालाई लिने गरिन्छ । पूजामा एउटा अपार शक्ति छ जसबाट विश्व व्रम्हन्ड संचालित छ । स्वस्थनी पुरुष प्रधान समाजले बनाएको धर्मशास्त्र हो, पुरुषले बनाएको शास्त्रमा महिलाका अधिकार, महिलाका कुरा जहिले पनि संकुचन हुने गर्दछन्, स्वस्थानी पनि त्यस्तै एउटा कथा हो, जसमा माता पार्वती देखि गोमा व्राम्हणी सम्मको कथा पढ्न पाइन्छ, जो आफैंमा पिडित छन् । जुनसुकै बेला पनि महिलाले आरधाना नै गर्नु पर्ने, त्यो पनि पुरुषको । आँफूमा आइपरेका समस्याको मुक्तिको लागि पुरुषको आरधना गर्नु पर्ने र पुरुष खुसी भएर आर्शिवाद दिए पछि मात्र समस्याबाट नारीले मुक्ति पाउने, नारी सधैं पुरुषको निगाहामा बस्नु पर्ने तथा नारीलाई शक्तिहिन मानेको छ स्वस्थानी कथाले । समानताको दृष्टिले हेर्दा पनि स्वस्थानी कथाका विभिन्न चरणहरुमा महिला माथी असमान व्यवहार गरिएको छ, विश्व व्रम्हन्ड शक्तिमा टिकेको छ तर त्यहा गरिएको व्याख्या गलत छ, स्वस्थानीको कथा पुनर्लेखन जरुरी छ ।
रेखा शर्मा, पूर्व मन्त्री :
समाज विकासको क्रम संगै लैंगिक विभेद बढ्दो छ । महिला अधिकार छिन्ने क्रममा जहिले पनि पुरुष माथी, महिलालाई तल्लो स्तरमा हेर्ने धेरै धर्मग्रन्थमा देखिन्छ, सोही मध्ये एक स्वस्थानी पनि हो, स्वस्थानीमा वाल विवाह लाइ प्रशय दिएको छ, सात वर्ष कि बालिकाको असी वर्षका बुढा संगको अनमेल विवाह पनि स्वस्थानीको कथामा उल्लेख छ, जहाँ छोरा र छोरी विचमा पनि चरम रुपको विभेद देखाइएको छ । महिनावारी नारीमा हुने सामान्य प्रकृया हो, तर स्वस्थानीको कथा लगायत गरुढ पुराण आदिमा यो बेला नारी धेरै नै अशुद्ध हुने चित्रण गरिएको छ । लैंगिक दृष्टिकोणबाट महिला उत्पिडनको चरमोत्कर्ष स्वस्थानीमा पाइन्छ । एक महिनासम्म एउटी नारीले व्रत गरी १०८ मिष्ठान्न भोजन तयार गर्नुपर्ने र त्यसरी तयार गरिएको भोजन पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई खुवाउनु पर्ने र मीत छोरा पनि नभए कामना सिद्ध होस् भनी पवित्र नदीमा लगी बगाउन पर्ने उल्लेख छ, के यसरी पकाइएको भोजन छोरीले चाहि खान नहुने ? छोरीले चाहि खान नपाउने ? छोरा (पुरुष) ले खाए कामना शिद्ध हुने छोरीले खाए चाहि अफाप, अशिद्ध हुने ? यो खालको नारी प्रतिको चरम विभेद स्वस्थानीले गरेको छ भने केहि हद सम्म बैज्ञानिक आविष्कारको कुराको परिकल्पना पनि छ, यो पाटालाई सम्म सकारात्मक रुपमा लिन सकिन्छ ।
चन्द्रकला बास्कोटा पौडेल, गृहिणी
मलाई श्री स्वस्थानी व्रतकथा प्रति आगाध विश्वास र श्रद्धा रहेको छ, यहि श्रद्धाभावले मैले विगत तीन वर्ष देखि यो व्रत लिदै आएकी छु । म श्री स्वस्थानी व्रत बस्न पाउँदा मनैबाट आनन्दित भएको महशुष गर्छु । यो व्रत पौष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म गरिन्छ । मलाई मन पर्ने भगवान शिव हुन्, भगवान शिवको पूजा आरधना गरिने भएकाले पनि मलाई यो व्रत बस्न मन लाग्छ । हिमालय कि पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको व्रत बसेको र उनले चिताएको कुरा पाएकोले पनि हामी नेपाली नारी श्री स्वस्थानीको व्रत कथामा जस्तै आँफूले चिताएको कुरा पुरा हुने विश्वासका साथ यो व्रत बस्ने गर्दछौं, श्री स्वास्थानीको व्रत बस्नाले रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ । श्री स्वस्थानी व्रतले नेपाली नारीलाई कसै प्रति पनि अविश्वास नगर्नु, भगवान प्रति विश्वास लिई पूजाआरधना गरेमा रोगब्याध, दुःख कष्ट नाश हुन्छ र आफूले चिताएको कुरा पुग्छ भन्ने सन्देश दिन खोजेको छ ।
प्रा.डा. वीणा पौड्याल, वरिष्ठ संस्कृतिविद्
संस्कृत भाषामा मात्रै पुराण लेख्ने परम्परामा हामी बिभिन्न शास्त्र पाठ गर्दै आएका थियौ । मल्ल कालमा नेवारी भाषामा स्वस्थानी पुस्तक लेखियो र नेपाली भाषामा पनि अनुवाद भयो । त्यसपछि स्वस्थानी माताको महिमा,ब्रत, उपासना काठमाडौं मण्डलमा लोकप्रिय हुदै गयो । नेपाल सम्वत ६९८ मा संस्कृत भाषामा लेखिएको हस्तलिखित ग्रन्थ नेपाल सम्वत ७२३ मा नेवारी भाषामा अनुबाद भयो । परिवारका सदस्यहरु एकै ठाउँमा बसेर पाठ गर्ने र श्रवण गर्ने यस ग्रन्थले दिएको बलियो सकारात्मक पक्ष हो त्यस्तै नेपाली गाऊँ र परिबेशको बर्णन पनि यसको सकारात्मक पक्ष हो । यस ग्रन्थमा नकारात्मक पक्ष पनि छन्, तत्कालीन समाजको बहुविवाह, अनमेल विवाह र सन्तानमा छोराको चाहना सबै यस ग्रन्थमा पाइन्छ, पितृसत्ताको गहिरो प्रभाव यस पुस्तकका भेटिन्छ, पुरुष प्रधान समाजको पकड यसमा पाइन्छ । विदेशी महिलाले ऐतिहासिक र लैंगिक अध्ययनको आधार यस पुराणलाई बनाएका छन् । प्राचीन जनबिश्वास, बिभिन्न संस्कार र कुसंस्कार बारे जानकारी लिन यस पुस्तकले मद्दत गरेको छ । शिक्षाप्रद र व्यवहारिक ज्ञान लिन नवपुस्तालाई चुनौति आएको छ ।
खगिसरा लामिछाने – ब्युटिसियन
श्री स्वस्थानी व्रत नेपाली महिलाहरुले गर्ने कठिन व्रत हो । यो व्रत पु्ष शुक्ल पूर्णिमा देखि माघ शुक्ल पूर्णिमा सम्म गरिने एक महिना लामो व्रत हो । यो व्रतमा भगवान शिवको पूजा आरधना गरिन्छ । सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको व्रत बसेको र उनले मनले चिताएको कुरा पुरा भएको विस्वासमा श्री स्वस्थानी व्रत कथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरी महिलाहरु मात्र व्रत वस्नाले व्रतकथामा वर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ भने व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित छ । स्वस्थानी कथाले विशेष गरी हामी हिन्दु नारीहरुलाई दिन खोजेको मूल सन्देश हामीले कसै प्रति डाह, अविश्वास गर्नु हुदैन भन्ने हो । यदि आफ्नो घरपरिवार भित्र कुनै कठिनाई, समस्याहरु जस्तै रोगव्याधी र विछोड भएको खण्डमा आफ्नो मन र मष्तिस्कले एकाग्र भई कुनै पनि भगवान प्रति समर्पित भई भगवान प्रति विश्वास लिई भगवानलाई पूजा आरधना गरेमा आफु भित्र भएको सम्पूर्ण पापहरु र पारिवारिक रोगव्याधी, समस्याहरु पूर्ण निको हुने विश्वास दिइएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest