हरियो कुर्ता

Monday, March 12th, 2018

—जानु काम्बाङ्ग लिङ्देन (साहित्यकार)

मेरी तारा मिस साह्रै सुन्दर । गोरो अनुहारमा गुलाबी ओठ, ठूलाठूला आँखामा हल्का गाजल, बान्की परेको अनुहार, सलक्क परेको नाकमा टल्किने सानो फुली, कानमा स–साना एक–एक ढिक्के सुनका टप । कति राम्री, कति राम्री थिइन् !
कहिले नीलो त कहिले रातो, थरिथरिका कूर्ता–सुरुवाल र सारीमा सजिएर स्कूल आउँथिन् । आहा ! तारा मिस ! म पनि तारा मिस जस्तै बन्न चाहन्थेँ । मनले कल्पेर म आफैंलाई तारा मिस बनाई पुतलीहरू लहरै राखेर गुरुआमा बन्थें । अनि हातमा सानो लौरी लिएर कक्षाकोठा प्रवेश गर्थैं ।
विद्यार्थी जुरुक्क उठेर मलाई एकैसाथ ‘गुड मर्निङ मिस’ भनेर स्वागत गर्थे । म उनीहरूलाई कक्षा गीत गाउन लगाउँथेँ । यसैगरी म खेलिरहन्थें । क्रमैसँग मेरा विद्यार्थी परीक्षा दिन्थे, पास, फेल दुबै हुन्थे ।
मेरा कुनै छात्राहरू म, मेरो मतलब तारा मिस जस्तै राम्री बनाउँथे । तारा मिसलाई स्कूलका सरहरूले मनपराए जस्तै मलाई पनि मेरा विद्यार्थीका सरहरूले मनपराउँथे । कल्पनाको मेरो स्कूल, स्कूलकी म तारा मिस अनि मलाई मनपराउने आङ्बुहाङ सर, चौधरी सर अनि मलाई माया गर्ने मेरा कपडाका रंगीचंगी पुतली विद्यार्थी, आहा ! कति रमाइला थिए ।
मेरो वाल्यकाल र सुस्तरी हुर्केका मेरा पुतलीका लार्भा जस्ता रहर अनि मेरा अनगिन्ती सपना, सपनाभित्रकी म, सुन्दर पात्र तारा मिस ।
हरेक दिन तारा मिसको हाउभाउ सिकेर घर आउँथें, म अनि उस्तै चालढालमा प्रस्तुत हुन्थें । कतिपटक त मेरो चाला देखेर आमा छक्क पर्नुहुन्थ्यो । एकदिन कक्षामा तारा मिसले भन्नुभयो, “नानी हो, यदि मनमा डर राखेर या डराएर चुपचाप बस्यो भने केही सिकिँदैन, बुझ्यौ ? बरु, कसैले केही सोधे जानी–नजानी हात उठाएर म भन्न सक्छु भनेर अघि बढ्नुपर्छ । यदि आफूले भनेको कुरो गल्ती छ भने जान्नेले सच्याएर भनिदिन्छ, अनि सिकिन्छ, बुझ्यौ ?”
हामीले पनि एकै स्वरमा ‘बुझ्यौं मिस’ भनेर सक्दो कराएका थियौं ।
साँझ घर आएर मैले पनि मेरा पुतली विद्यार्थीलाई उस्तै, दुरुस्तै अर्ती दिएकी थिएँ । सुनेर नाँङ्लोमा चामल केलाउँदै आमा मुसुमुसु हाँस्नुभएको थियो । त्यसबेला आमा हाँस्दा मलाई लाज लागेको थिएन तर भोलिपल्ट माथिल्लो घरमा डेरा गरी बस्ने हामीलाई नेपाली पढाउने नारदमणी सरलाई सुनाउँदा भने म लाजले रातोपिरो भएकी थिएँ ।
विस्तारै–विस्तारै तारा मिस बन्ने मेरो सपनाले रङ फेर्न थाल्यो क्यारे, म भित्र भित्रै लजाउने उमेर थपिँदै गयो । थाहै नपाई मुटुको धड्कन बढ्न थाल्यो, अनुहारमा लाली चढ्न थाल्यो । मान्छेले एक्कासी हेरिदिए लज्जावती झार झैँ निहुरिने भएँ ।
मेरा कपडाका पुतली विद्यार्थी पनि विस्तारै परीक्षा पास गर्दै क्याम्पस पढ्न थाले होलान् । मबाट तिनीहरू ओझेल पर्न थाले । मनमा नयाँ–नयाँ जोस, जाँगर र उमंगहरू फक्रिन थाले तर मनमा तारा मिस जस्तै राम्री हुने सपनाले भने पछ्याउन छाडेन ।
मेरो मनमा रहेको रहरको पोको बोकेर एउटा दशैं आयो । स्कूलदेखि अलि तल एकजना जुनुमुनुको मुम्मी भन्ने अन्टीले दशैंको मुख पारेर रेडिमेड कपडाको दोकान खोल्नुभयो । त्यहाँ तारा मिसले लगाएका जस्तै कुर्ता–सुरुवालहरू थिए । म हरेक दिन स्कूल जाँदा–आउँदा त्यो कपडा पसलमा पुगेर खम्बा समातेर औंला टोक्दै अरूले हेरेको र किनेको हेरिरहन्थें ।
त्यो रात बुबा आफ्नो तलब बोकेर घर आएको देखेँ । आमालाई हातैमा गनेर ‘तेह्र सय छ, यत्तिले महिना मार्ने’ भनेर बुबाको निकै गर्जिएको आवाज सुनेँ । आमा चुपचाप पैसा लुकाएर सुत्नुभयो । त्यो रात मलाई रातभर निद्रा लागेन । मलाई मनपर्ने कुर्ता कसैले किनेर लैजाला भन्ने चिन्ता र आमालाई के भनेर पैसा माग्ने भन्ने चिन्ताले सताइरह्यो ।
भोलिपल्ट फेरि त्यो दोकान पुगेँ । दोकान खाली थियो । अन्टीले मलाई हरेक दिन देखेर होला, सोध्नुभयो, “के भयो नानी, तिमी टेके दाजुको छोरी होइन ?”
मैले ‘हो छ्यामा, नमस्ते’ भनेर हात जोडेँ । उहाँलाई कपडा पट्याउन हतारो भएर होला, मेरो नमस्कारको जवाफ नै दिनुभएन । मैले हिम्मत जुटाएर माथि झुन्डिरहेको कुर्ता देखाएर ‘अन्टी, मलाई उ त्यो कुर्ता मनप¥यो’ भनेँ ।
मेरो कुरो सुनेर शिरदेखि पाउसम्म हेर्दै उहाँले भन्नुभयो, “नानी, यो कुर्ता कसलाई ? ममीलाई ?”
म अवाक् भएँ । के भन्ने, के नभन्ने ! एकछिन मन यताउति डुलाएर भनेँ, “होइन अन्टी, मलाई नै हो, साह्रै मनप¥यो, अनि ममीलाई भनेको, घटाइदिन्छु भन्नु भा’को छ ।”
“लौ, यो कुर्ता नै बिग्रिन्छ नि नानी घटाउँदा त, बिचरा नानी ! तिमी त स्यानी छ्यौ, यो कुर्ता लगाउन तिमीले अझ दस वर्ष कुर्नुपर्छ,” अन्टीले मलाई सम्झाउने कोशिस गर्नुभयो ।
“होइन अन्टी, ममीलाई घटाउन लगाएर भए पनि लगाउँछु । दिनुस्,” मैले पनि जिद्दी छाडिनँ ।
त्यसपछि उहाँको के जान्थ्यो, बेच्ने माल न हो, गरिराखेको काम छोडेर त्यो कुर्ता झिक्नुभयो । साँच्चै नै कुर्ता बीस वर्षकालाई हुने थियो, म आठ वर्षकीमात्र थिएँ ।
दाम सोधेँ, तीन सय भन्नुभयो । “हुन्छ, म लान्छु, बाबाको नाम लेखिराख्नु रे, पछि दिनुहुन्छ रे !” जिन्दगीमा पहिलोपल्ट तारा मिस जस्तै बन्न म झूट बोल्दै थिएँ ।
घर पुगेर खाट बाकसमा कुर्ता लुकाएँ । भोक, निद्रा सबै गायब हुने गरी चिन्ता यति लाग्यो । म भोकै सुतेँ । बिहान उठेर चुपचाप स्कूल गएँ । साँझ स्कूल सकेर आउँदा घरमा ममी बम भएर बस्नुभएको रहेछ । मलाई थाहा भएन, किताब राखेर खाजा होला भनी चौकामा पस्दै थिएँ, मेरो टाउको झनन्न हुने गरी मेरो लामो चुल्ठोमा ममी झुन्डिनुभयो । म भुइँमा थचक्क बसेर बिन्ती बिसाउन थालेँ, “आमा, मलाई नकुट्नुस्, म खुट्टा ढोग्छु ।” यस्तै के के फलाकिरहेथेँ, बुबा पनि टुप्लुक्क आइपुग्नुभयो ।
आमाले कुर्ता देखाउँदै सारा बेलीविस्तार लगाउनुभयो तर बुबाले गाली गर्नुभएन, बरु मलाई फकाउँदै भन्नुभयो, “छोरी, यो त ममीजत्रोले लगाउने लुगा हो, तिमीलाई कहाँ हुन्छ, हेर त ! बरु तिमीलाई ठिक्क हुने सिलाइदिन्छु नि, हुन्छ ?” बुबाको कुरा मैले रुँदै टाउको हल्लाएर स्विकारेपछि हामीबीचको झगडा साम्य भयो । एक हिसाबले मौखिक सहमति नै भयो । बुबाले त्यो कुर्ता जहाँबाट मैले ल्याएँ, भोलिपल्ट त्यहीँ पु¥याइदिनुभयो ।
दोकानको अन्टीले जहाँ थियो, त्यो कपडा त्यहीँ झुन्ड्याउनुभयो । मैले धेरै दिनसम्म हेर्दै हिडेँ त्यो कुर्ता । त्यही उकालो बाटोमा मैले लगाउन नपाएको त्यो हरियो कुर्ता बेवारिसेझैं झुन्डिरहेको थियो । म किन चाँडो तारा मिसजत्रै नभएकी होला ? मनमनमै सोचेर आफैंदेखि रिस उठिरहन्थ्यो ।
मेरी तारा मिस हुने लुगा जस्तै मेरी तारा मिस पनि स्कूलबाट एक्कासी हराउनुभयो । मैले धेरै दिनसम्म उहाँले दिनुभएको होमवर्क देखाएर स्याबासी लिन कापी बोकेर उहाँलाई खोजी हिडें । कक्षाकोठामा कुरेर बसेँ तर उहाँ आउनुभएन ।
तारा मिसका बारेमा नयाँ–नयाँ कथा–कहानी बुन्दै दिनहरू बितिरहे । अनेकौं अनुमान लगाउँदै समय बित्यो । एक हप्तापछिमात्र थाहा भयो, उहाँ त पोइला पो जानुभयो रे ! त्यो पनि उहाँलाई मनपराउने कुनै सरसँग होइन, देश चलाउने मन्त्री पद्मसुन्दर लावतीसँग ।
घर आउँदा आमा र उहाँका साथीहरूले कुरो गरिरहेको सुनेँ, “तारा मिस त आफूभन्दा बूढोसँग पोइला गइन् रे, त्यो पनि सौतामाथि रे ।” इत्यादि ।
“यत्ति धेरै पढे–लेखेर राम्री भएर पनि त्यस्तो के ग¥या होला छि… !” एक जना अन्टीको मुखबाट फुत्त यी शब्दहरू उफ्रिएर निस्किए, अनि मेरो कलिलो मस्तिष्कमा तीर भएर पसे । त्यस दिनदेखि मेरी तारा मिस हुने रहर टुट्यो । त्यो रहर फेरी कहिल्यै पलाएन । तैपनि, मैले मिसलाई भुल्न भने सकेकी थिइनँ । एकदिन भेटेर ‘म तपाईंलाई साह्रै मनपराउने तपाईं जस्तै हुन चाहने तपाईंको विद्यार्थी हुँ’ यसरी आफ्नो परिचय दिने विचारमा थिएँ तर त्यो पल मेरो रहरको प्वाँख भएर कहिल्यै आएन ।
धेरै वर्षपछि एक्कासी आएको तारा मिसको देहावसानको खबरले कता–कता नमिठो अनुभूति गरायो । एक प्रकारले जीवनप्रति नै वितृष्णा जागेर आयो । मानिसको भौतिक शरीर र सुन्दरता कति अभरिलो हुँदो रहेछ । यो त सपना जस्तो क्षणिक मात्रै रहेछ । मानिसको वास्तविक र अनन्त सुन्दरता त उसले छाडिगएको कार्यमा पो हुँदो रहेछ । सायद मेरो परिपक्व सोचले यही ठम्यायो र नै तारा मिसको कथा यत्तिकै मेरो मनमा गढेर आजपर्यन्त रहिरहेको छ । लाग्छ, अब त त्यस कथाका पानालाई सम्हाल्न पनि सक्दिनँ होला म । अफसोस ! आज यो दुनियाँमा तारा मिस छैनन् । छन् त उनका धुमिल स्मृतिहरू मात्र । तारा मिस ः मेरो बाल्यकालीन सपना थिइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest