हरेक पल स्पेशल बनाउने जोडि

Wednesday, December 19th, 2018


विवाहले अंकुराउँदै गरेको प्रेमलाई वैधानिकता प्रदान गर्छ । अर्थात विवाह व्यक्तिगत सम्बन्धमा साँझेदारका रुपमा अघि बढ्न लागेका दुई व्यक्तिको वैधानिक वा औपचारिक मान्यता प्राप्त गर्नु पनि हो । विवाहमा वैध तथा अवैधभन्दा पनि विवाह बन्धनमा बाँधिन लागेका दुई व्यक्तिले कत्तिको सँगै यात्रा गर्न सकिन्छ, त्यो हेरेर विवाह पक्का गर्ने गरिन्छ । त्यसरी नै सुरुवात भएको थियो, तत्कालिन इन्सपेक्टर वसन्त पन्त र अजिता लोहनीको विवाह । डडेल्धुरा घर भएका वसन्त पन्त नोकरीका क्रममा २०५२ तिर नवलपरासी पुगेका थिए । अविवाहीत पन्त र अजिताका दाजुबीच भेटघाट र चिनजान भयो । एक अविवाहीत भएकै हिसाबले अजिताका दाजुसँग अब विवाह गर्नुपर्छ भन्न भ्याएका थिए बसन्तले । संयोगबस, उनले पनि कुरै कुरामा आफ्नै बहिनी छ एकपटक हेर्नुहोस् न त भनि हाले । पद्मकन्या क्याम्पसमा पढ्दै गरेकी अजितालाई काठमाडौंदेखि नारायणगढसम्म बोलाए र सपिङ्को बाहनामा वसन्तसँग भेट पनि गराइहाले । माओवादी युद्ध भर्खरैमात्र सुरु भएको थियो । प्रहरी भन्नेवित्तिकै त्रासको दृष्टिले हेर्ने त्यसबेला अजिता पनि डराउँथिन् । छब्बिसवर्ष पुगिसकेका पन्त विवाहका लागि केटी हेर्नसमेत प्रहरीको यूनिफर्ममै
गएका थिए । सुरुमा अजिता डराए पनि पछि प्रहरी पनि हामी जस्तै मान्छे नै त हो भन्ने सोचले आफूले आफंैलाई बुझाइन् । पहिलोपटक केटी हेर्न गएका पन्त र लोहनीबीच विवाहका लागि सोचेको कुरा एकअर्काका लागि मिल्यो र विवाहका लागि दुवै परिवार तयार भयो । झट्ट हेर्दा हाइटकी देख्नेवित्तिकै पन्तले विवाहको लागि मनको लड्डु घिउसँग खाइसकेका थिए भने लोहनी स्वंयमलाई पनि फौजीको जीवन बाँच्न मन हँुदा हुदै पनि त्यो अवसर पाएकी थिइनन्, उनले पन्तको युनिफर्मले नै आफ्नो आधा सपना पूरा भएको सम्झन थालिन् र विवाहको सम्बन्धमा सहमतिका लागि सहर्ष टाउको हल्लाए दुबैले ।
देश एउटै भएपनि अनेकौं भेषा भूषा तथा संस्कारले भरिपूर्ण छ । यसमा सबैले गर्व गर्ने नै भए तर झण्डै अप्ठ्यारो त अजिता र वसन्तलाई परेको थियो । चितवन घर भएकी अजितालाई डडेलधुराको भाषा बुझ्नै गाह्रो थियो । फरक संस्कार, फरक रितिरिवाज तर वसन्तको परिवारले सकेसम्म बुहारीका लागि अनुकुल वातावरण बनाइदियो । सबै कुरा परिवारले मिलाई दियो, घरमा पश्चिमी भाषाभन्दा बढी बुहारीले बुझ्ने भाषाको माहोल बन्यो । अजिताले राम्रो घरमात्र पाइनन्,जीवनभरिका लागि हिम्मतिलो श्रीमान् पनि पाइन् । आफ्नो माइतीघरनजिकै डियूटी गर्ने भएपनि वसन्तसँग विवाहअघि घुम्न जाने अवसर कहिल्यै बनेन । दुबैले आफ्ना हरेक सपना विवाहपछि नै एक अर्कामा साटा साट गरे । हरेक मानिसको जीवन विवाहपछि फरक बन्छ । परिवर्तन धेरै आउँछन् र विवाहअघिको सोच र विवाहपछिको प्रतिफल फरक हुन्छ भन्ने धारणा वसन्तको छ । उनी भन्छन्–विवाहपूर्व कुनै व्यक्ति आफ्नो आमाबुबाको मायामा हुर्किएको हुन्छ । आफूले कमाएको रकम आफूले खर्च गर्ने र आफ्नो मर्जीले हिँड्ने वातावरण बन्छ तर विवाहपछि त्यो वातावरण रहँदैन । अजिता भन्छिन्–विवाहअघि जिम्मेवारी केही नहुने र बुबाआमा हुनुहुन्छ नि भन्ने सोच थियो भने विवाहपछि परिवारप्रतिको माया, स्नेह र जिम्मेवारीले मानिसमा एक किसिमको परिपक्वता आउँछ । फरक संस्कृति भएका कारण असहज अवस्था नआएको होइन तर त्यस्तोमा सधैं बसन्त ढाल बनेर उभिन्थे । उनी भन्छन्–हामी प्रहरीमा जागिर खाएको मान्छे, धेरैको घरपरिवारको समस्या हामी आफैंले ह्याण्डिल गरेका हुन्छांै । त्यसैले पनि मलाई मेरो परिवार मिलाउन खासै अप्ठ्यारो परेन । जीवन अप्ठ्यारोबीच फूलेको एक सुगन्धित फूल हो । जसको सुगन्ध लिन नजानेमा गाह्रो हुन्छ र अप्ठ्यारो बाटो हिँड्न जानेन भने पनि मुस्किल हुन्छ । जीवनमा समस्या नै नआएको भने होइन । सम्झदै भन्छन्– हामीमा त्यत्तिबेला मनमा डर भएपनि मतिष्कमा धैर्यता थियो । हाम्रो विवाह सकिनेवित्तिकै माओवादी द्वन्द चुलिन थाल्यो ।
श्रीमती परिवारको जिम्मा छाडेर विकट वस्तीका जंगलमा गएका कुरा सम्झिदा वसन्तलाई अहिले पनि स्वास फुलेर आउँछ । दुइ दुधे बालकलाई चराले झै च्यापेर घरी बुटवल, घरी डडेलधुरा गर्दै ज्यान जोगाउन लागेको कुरा सम्झिदा अजिता अहिले पनि डराउँछिन् तर त्यस्तो अवस्थामा पनि अजिताले श्रीमान्लाई जिम्मेवारी त्याग्न कहिले कर गरिनन् बरु आफ्नो अनुपस्थितिमा वसन्त कमजोर हुन सक्छन् भनेर वसन्तसँगै गइन् । परिवारबाट चौतर्फीरुपमा नोकरी छाड्न दबाब आएका बेला वसन्तले हार मानेनन् अजिता भन्छिन्–मैले बर्दी लगाएको श्रीमान् रोज्नुमा छात्ती चौडा पारेर बोल्ने वातावरण उहाँले बनाइदिनु भएको छ, मैले मेरो सबै सपना पूरा भएको महशुस गर्न पाएकी छु ।
प्रायः सेना तथा प्रहरीमा नोकरी गरेका श्रीमान्ले घरमा श्रीमतीलाई धेरै सहयोग गर्छन् भनिन्छ, वसन्त पनि उस्तै छन् मिजासिला र हँसिलो स्वभावका । वसन्त घरमा पनि उत्तिकै सहयोग गर्छन् । श्रीमतीलाई कहिल्यै मैले यो केटा रोजेर भुल गरेँ भन्ने सोच आउनै दिएनन् । नेपाल बाहिर जाँदा विभिन्न किसिमको गिफ्ट ल्याइदिने गर्छन् वसन्त । स्पेशल दिनलाई स्पेशल तरिकाले मनाउने यो दम्पत्तीको सम्पूर्ण किनमेल अजिताले नै गर्छिन् । सामान्य जीवन रुचाउने वसन्तको नजरमा उनकी श्रीमती पनि सामान्य जीवन रुचाउने छिन् । कामका कारण बाहिरको रिस घरमा पोख्ने धेरैको बानी हुन्छ तर वसन्त कम रिसाउने गर्छन्, अर्थात कामको प्रेसर घरमा देखाउँदै देखाउँदैनन् । रिस देखाउने बानी नै छैन वसन्तमा । कसैको बोझ कसैलाई हुनुहुँदैन भन्ने विचार वसन्तको छ । तेइस वर्षको सहयात्रामा अजिताले पनि कहिल्यै सानोतिनो कुरामा किचकिच गर्दै गरिनन् । समस्या आएमा पनि सम्झाउने गर्छिन् । भावना एक अर्कामा मिल्यो भने परिवारमा समस्या नै न आउने दुबैकोे धारणा छ ।
–प्रस्तुति ः कृष्ण कुमारी चौलागाईं

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest