हावाबाट बिजुली,गाउँ झिलिमिली

Wednesday, January 29th, 2020

पाल्पा :हावाबाट बिजुली निकाल्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेको छ, पाल्पाको निस्दी गाउँपालिका ।मगर समुदायको बस्ती रहेको रुक्से भन्ञ्याङडाँडामा तीनवटा पंखा घुमिरहेका छन् । दुईवटा ठूला पंखा र एउटा सानो पंखा चलेका छन् । तर यी पंखा विद्युत्–शक्तिले चलेका होइन, हावाले घुमिरहेका हुन् । हावाले घुमाएका तिनै पंखाबाट विद्युत् उत्पादन भइरहेको छ, जसले मित्याल गाउँ नै झिलिमिली बनेको छ।

निस्दी गाउँपालिका–४, मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ। गाउँपालिकाको केन्द्र रहेको रुक्से भन्ञ्याङमा हावाबाट १५ किलोवाट र वायु तथा सौर्य ऊर्जा हाइब्रिड प्रणालीमार्फत् १० किलोवाट क्षमताको बिजुली निकालिएको छ। २०७३ मा नै यसै स्थानमा हावाबाट एक हजार दुई सय वाट विद्युत् निकालेर प्रयोग गरिँदै आएको थियो। वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अध्ययनअनुसार सो ठाउँमा वायु–उर्जाको प्रशस्त सम्भावना रहेको देखिएपछि पुनः २५ किलोवाट क्षमताको विद्युत् निकालिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक करोड ८० लाख र गाउँपालिकाको ४२ लाख १३ हजार आठ सय रुपैयाँको लागतमा सो आयोजना सञ्चालन भएको हो।

यहाँ हावाबाट निस्केको बिजुलीबाट एक सय ५० घरले बत्ती बाल्न थालेका छन् । निस्दी गाउँपालिकाका रुक्से भन्ज्याङ, झ्याल्टुङ, मौलाथर, घुम्सीवर र मित्याल बजारमा विद्युत् वितरण गरिएको छ। अढाई वर्षअघि सुरु भएको सो आयोजना सम्पन्न भएर घरघरमा बिजुली–बत्ती बल्न थालेपछि स्थानीय खुसी भएका छन्।

गाउँपालिकाको झ्याल्टुङ, मौलाथर, रुप्से भन्ज्याङ, काफल, गाउँपालिकाको कार्यालय, वडा कार्यालय, प्रहरी चौकी, गौरीशंकर मावि, मित्याल आधारभूत विद्यालय र मौलादेवी आधारभूत विद्यालयमा हावाबाट निकालिएको बिजुली उपयोग भइरहेको छ। विद्युत् सेवा पुगेपछि विद्यालयको कामकाज गर्न सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केशबहादुर सुनारीले बताए। राष्ट्रिय प्रशारणको विद्युत् नभएको सो स्थानको आठ सय जनसंख्या लाभान्वित भएको सुनारीले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest