हिरासतमा आत्माहत्या गर्नबाट मायाले बचायो

Thursday, September 12th, 2019


पूर्व मन्त्री तथा सांसद रेखा शर्मा
प्युठानका कृष्णध्वज खड्का र दाङ कि रेखा शर्मा कम्युनिष्ट राजनीतिमा अग्रपङ्तिमा आउने नाम हो । विद्यार्थी जीवन देखि नै उनीहरु दुवै जना राजनीतिमा सक्रिय रहेका थिए । रेखाले २०५३ साल देखि २०५८ साल सम्म महिला संघको अध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन् भने जनआन्दोलनको बेला पनि महत्वपूर्ण नेतृत्वमा रहेकी थिइन् । सांसद, सचेतक, मन्त्री, प्रमुख सचेतकजस्तो विशिष्ट जिम्मेवारी पनि उनले निभाइसकेकी छिन् । उनीहरुको पहिलो भेट पनि राजनीति गर्ने क्रममा नै भएको हो २०४४ सालमा । त्यस पछि पार्टीकै कामको सिलसिलामा उनीहरुको पटक पटक भेटघाट भयो तर ती सबै भेटघाट पार्टीको काम संग मात्र हुन्थ्यो, कुराकानी पनि राजनीतिमा नै सिमित हुन्थ्यो । उनीहरुको विहेको प्रस्ताव पनि पार्टीले नै रेखा समक्ष राखेको थियो । एकअर्कालाई मन पराएर भन्दा पनि पार्टीको नजरमा उनीहरु वैवाहिक जीवनमा बाँधिए उपयुक्त हुने ठहर गरियो र रेखा समक्ष पार्टीले प्रस्ताव गर्यो । पार्टी प्रति प्रतिवद्ध कृष्णध्वज संगको सम्वन्धले राजनीतिक यात्रा अझ सहज हुने ठानेर रेखाले पनि पार्टीको प्रस्तावलाई स्वीकार गरिन् तर अन्तरजातीय विवाह भएकोले रेखाको परिवारबाट केहि विरोधहरु आए पनि त्यो विरोधलाई मिलाएर २०५१ सालमा उनीहरु वैवाहिक बन्धनमा बाँधिए । त्यति बेला कृष्णध्वज अखिल (क्रान्तिकारी) को उपाध्यक्ष र रेखा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष थिइन् ।
वैवाहिक जीवन पछि उनीहरुको राजनैतिक यात्रा पनि संगसंगै अघि बढ्यो, हरेक विषम परिस्थितिमा उनीहरुले एकअर्कालाई साथ दिइरहे । वैवाहिक जीवनको रमाइलो र खुशीमा भुल्नुको साटो उनीहरु देशमा परिवर्तनको खातिर आन्दोलनमा होमिए । जनयुद्धमा होमिँदा रेखा गर्भवती थिइन् । खुला मोर्चामा रहेका माओवादी नेता–कार्यकर्ताहरू जनआन्दोलन दिवसका दिन आम गिरफ्तारी दिने निष्कर्षमा पुगे । त्यतिवेलाको परिवेशमा गिरफ्तारी दिनुको अर्थ मर्न तयार हुनु नै थियो । कृष्णध्वज घरबाट निस्किए । पेटमा ८ महिनाकी बच्चा भएकी रेखाले श्रीमान्लाई विदाई गरिन् । जनयुद्धकै क्रममा उनले छोरीलाई जन्म दिइन् । आन्दोलनमा उनीहरु यति सम्म सक्रिय भए कि छोरीको नाम राख्न समेत विर्सिए, केहि समय पछि छिमेकीले ‘नानीको नाम के हो ?’ भनेर सोध्दा मात्र उनीहरुलाई छोरीको नाम राख्न विर्सेको याद भयो, तिनै छिमेकीले राखिदिए छोरीको नाम आश्मा ।
डेढ वर्षसम्म छोरी बोकेरै हिँडेर राजनीतिमा अगाडी बढिन् रेखा, तर, सधैँ साथमा लिएर हिँड्न सक्ने अवस्था नभए पछि छोरीलाई माइतीमा छोडेर आँफू राजनीतिमा नै सक्रिय भइन । रविभवनमा रहेको उनीहरूको कोठा सेनाले घेरेपछि उनीहरू पूर्ण भूमिगत भए । भूमिगत अवस्थामै २०५८ साल चैत्र ३१ गते उनीहरु दुवैलाई सेनाले गिरफ्तार गर्यो । सेनाको कब्जामा परेपछि बाँचिन्छ र अहिलेको अवस्थामा आइन्छ भन्ने उनीहरुले चिताएका नै थिएनन् । हिरासतमा उनीहरुलाई धेरै पटक अन्तिम इच्छा सोधियो, उनीहरुको संयुक्त जवाफ हुन्थ्यो ‘हामी दुवैलाई सँगै मार अनि एउटै खाल्डोमा पुर ।’ सैनिक हिरासतभित्र रेखाका दम्पतीले तीन सय ६५ दिन मृत्युको मुखमा पुगिरहे तर पनि जीवित भए । पक्राउ गरेर कहाँ लगे भन्ने उनीहरूले धेरै दिनसम्म थाहै पाएन्न् । ‘दुवै हात पछाडि राखेर बाँधिदिएका थिए भने मुखमा मुकुण्डो लगाइदिएका थिए । ‘गाडीमा सँगै राखे, गाडीबाट ओरालेकोसम्म थाहा छ, त्यसपछि कहाँ लगे थाहा भएन । दुवैलाई बादल देखा भनेर पिट्थे सेनाले । सैनिक हिरासतमा रहदाको यातना वर्णन गरि साध्य नभएको रेखा दम्पत्ति बताउँछन् । ‘एउटाले मुन्टो तल, खुट्टा माथि बनायो । तीन–चारजनाले कुट्न थाले । बाथरुममा सबै लुगा खोलेर फालिदिए । पानीको पाइप मुखमा कोचिदिए । म बेहोस भएँ । ब्युँझिँदा मेरो शरीरमा अर्कै कपडा थियो,’ रेखा सम्झिन्छिन् । त्यसवेलासम्म श्रीमतीलाई कहाँ राखेका छन् भन्ने कृष्णध्वज लाई थाहा थिएन । दुवैजनाले बादलका बारेमा ‘थाहा छैन’ भनेपछि गलाउनलाई सैनिकले एकलाई अर्काको दयनीय अवस्था देखाइदिए । ‘बेहोस अवस्थामा कोठामा लगेर ‘हेर, तेरी श्रीमतीको अवस्था’ भनेर अचेत अवस्थामा रेखालाई ल्याएर कृष्णध्वजको छेउमा फालिदियो,’ आँखा खोलिदिए पनि एकले अर्कालाई हेर्न सकेनन् पटक पटक ‘बादलको बारेमा भन्छौ कि मर्छौ ?’भनेर सोधिरहे । ‘हामी दुवैलाई मार’ उनीहरूले संयुक्त जवाफ फर्काए । बादलका बारेमा कुनै कुरा नखोलेपछि सैनिक अधिकृतबाट आदेश भयो, ‘यिनीहरूले भन्दैनन् । मारिदेऊ ।’
फेरी सैनिकले सोधे, तिमीहरूको अन्तिम इच्छा के छ ? ‘साथै मर्ने इच्छा छ,’ फेरी पनि जवाफ त्यहि थियो, साथै मर्ने इच्छा छ, तर, सेनाले ‘सँगै मारिदेऊ’ भन्ने अन्तिम इच्छा पूरा गर्न चाहेनन् । ‘पालैपालो मार्छौ । टुक्रा–टुक्रा पारेर छोड्छौँ,’ सैनिकले भने । चावहिलको एउटा घरमा लगेर चरम यातना दिन थाले, बाथरुममा लगेर ब्लेडले रेखाको शरिर चिर्न चिरे, सैनिक जवानहरूले रेखा माथी बलात्कार भएको भान पार्न थाले कृष्णध्वजलाई । ‘कुनै बेला ज्योकट खोलेको त कुनै बेला पाइन्टको फसनर खोलेको आवाज निकाल्थे सेनाका जवानले । अर्कोको आवाज सुनिन्छ ‘ल जा अब तेरो पालो ’ रेखा भित्र ऐया–ऐया गरिरहेकी मात्र सुन्छन् कृष्णध्वज, रेखालाई पूरै बलात्कार गरिरहेको भान पारिरहन्छन् सेनाका जवान । रातभरि रेखालाई शारीरिक र खड्कालाई मानसिक यातना दिएपछि राजदल गणमा लगेर फालिदिए सेनाले । राती एक जना सेनाका जवानले दुवै जनाको भेट गराइदिए, उनीहरुले हात मिलाए । त्यति बेला घरमा रहेकी सानी छोरीको खुवै याद आयो रेखालाई । ‘हामी त मरिहाल्छौँ । छोरी बुबाआमाविहीन हुने भई भनेर मन निक्कै अत्तालियो, आँफू मरेको कृष्णध्वजलाई र कृष्णध्वज मरेको आँफूलाई नदेखाई संगै मारुन् भन्ने मात्र लाग्थ्यो रेखालाई । बाँचिन्छ भन्ने त झिनो आश पनि थिएन दुवैलाई । पक्राउ गरेको नौ दिन भइसक्दा पनि उनीहरू मारिएनन् । चरम यातनाले कृष्णध्वजको करङ र खुट्टा भाचिइसकेको थियो, आर्मी अस्पतालमा लगे, छातीमा ब्यान्डेज गरिदियो, खुट्टामा प्लास्टर ‘ब्यारेकमा पुगेर प्लास्टर गरिएको खुट्टामाथि फेरि ‘सालेलाई ब्यान्डेज’ भन्दै बुट बजार्न थाल्यो सेनाले । प्लास्टर सबै खुइलियो ।
मुखुन्डोले आँखा छोपिएका, दुवै हात पछाडिपट्टि राखेर बाँधिएका रेखाका दम्पतीलाई १० दिनपछि हेलिकोप्टरमा गोरखा पुर्याए । गोरखा पुर्याएपछि फेरि सुरु भयो वर्वर यातनाको शृङ्खला । जीवन र मरणको दोसाँधमा राखे दुवैलाई । मरणासन्न हुने गरी पिटेर फालिदिन्थे । चार–पाँच दिनसम्म उनीहरु चल्नै सक्दैनथे, अलिअलि उठ्न सक्ने हुँदा बाचिन्छ कि भन्ने आश पलाउथ्यो, अव त पिट्दैनन् कि भन्ने लाग्थ्यो तर फेरी पिट्न सुरु गरिहाल्थे, गोरखामा पुर्याए पछि कृष्णध्वजको हात भाच्यो, कम्मर भाच्यो, आँखा पनि फुटालिदिए सेनाले । रेखालाई दिएको चरम यातना छुट्टै छ, उनको करङ भाच्यो, निर्वस्त्र पारेर सिमेन्टमा लतारे । एकअर्कालाई दिएको यातना एकअर्काले सुन्थे, उनीहरुलाई वल्लो र पल्लो कोठामा राखेर यातना दिइएको थियो । यातना यति चरम थियो कि यातना दिन तालिम दिइएका सेनाले हिसाव गरिगरिकन यातना दिन्थे, शरीरको कुन भागमा कति जोडले हाने करङ फुस्किन्छ, कुन भागमा हान्दा आँखालाई असर गर्छ ? कुन भागमा कसरी हान्दा पिडा बढि हुन्छ ? आदि तरिकाले हिसाव गरिगरिकन बुट, लट्ठी लगायतका सामाग्रीले निर्ममता पूर्वक प्रहार गर्थे । विभिन्न जिल्लाहरुमा माओवादी र सेना भिडन्त हुँदा ती जिल्लामा भएको सेनाको क्षतिको रिस र आक्रोश पनि उनीहरु माथी पोखिन्थ्यो, जति बाहिर हमला हुन्थ्यो, त्यति नै चर्को यातना रेखा र कृष्णध्वजलाई दिइन्थ्यो । मान्छेको शरीर साह्ै ज्याद्रो हुनेरहेछ, त्यति चरम यातना दिदा पनि मरिएन, उनीहरु सम्झन्छन् ।
सैनिक हिरासतमा जवानहरू ‘धेरै मरिसके अब पालो तिमीहरूको भन्थे ।’ ‘बाहिर भिडन्त भयो, यतिजना माओवादी मरे भन्दै अत्याउन खोज्थे । जवानहरू अब पालो तिमीहरूको होला भन्थे,’ चरम यातना सहन नसकेर रेखाले धेरैपटक आत्महत्याको प्रयास पनि गरिन् तर आँफू मरे पछि श्रीमान र छोरीको अवस्था के होला ? भनेर मर्न सकिनन् रेखा, सेनाले भने मरेतुल्य गरि यातना दिइरहे वारम्वार । दोस्रोपटक सरकार–माओवादी युद्धविराम भएपछि ३६५ दिन सैनिक हिरासतमा चरम यातनाका साथ बसेका उनीहरु मुक्त भए । त्यस पछि भारत गएर लामो समय सम्म उपचार गराए, शरीरको विभिन्न भागका शल्यक्रिया गरियो, शरीरका कुनै भाग ठीक भए भने कतिपय भाग जिन्दगी भरिको लागी काम नगर्ने भए । रेखा र कृष्णध्वज अहिले पनि विभिन्न शारीरिक समस्या लिएर राजनीतिमा सक्रिय रहेका छन्, सामान्य प्रशासन मन्त्री सम्म भएर रेखाले सेवा गरिन्, आफ्नो कार्यकाल निष्कलंक रुपमा सम्पन्न गरिन्, सांसदको भूमिकामा रहेर उनले आफ्नो भूमिका निर्वाह गरिरहेकी छिन् भने प्रदेशसभा सदस्यको रुपमा कृष्णध्वजले नागरिकको सेवा गरिरहेका छन् । देशले काँचुली फेरेको छ, शसस्त्र द्वन्द्व सकिएर मुलुकले नयाँ संविधान अनि स्थायी सरकार पाएको छ । राजनीतिको बाटो हुदै रेखा र कृष्णध्वजको अवको सहयात्रा सहज हुनेछ ।
प्रस्तुति ः हरिराम पौडेल
(नवनारी मासिक पत्रिकाको२०७६ जेष्ठ अंकमा प्रकाशीत सहयात्रा)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest