“हुनेवाली श्रीमती”

Monday, January 28th, 2019


जीवन आचार्य ( म्यानमार )
‘उसको नाम शान्ती, शान्ती सिग्देल’। यो कथामा मैले उसको नाम उल्लेख नगरे पनि हुने थियो सायद । तर उ मेरी हुनेवाली श्रीमती हो । त्यसैले जानिराख्नु होस् । आफ्नो अमुल्य समय बर्बाद गरेर तपाईंहरू मेरो कथा पढिदिनु हुन्छ । र, मलाई माया प्रेम र हौसलाहरु दिनुहुन्छ । तपाईंहरूलाई मेरी प्रेमिका, अर्थात् मेरी हुनेवाली श्रीमतीको नाम जान्ने हक पूर्ण छ । अनि, म कयौं कथामा आफ्नो नाम पराय स्त्री सँग गएर जोड्छु । उ केही भन्दिन । कुनै एउटा कथामा म आफ्नो नाम ऊसँग जोडेर लेखुँ, यो मेरो फर्ज पनि बन्छ । अँ, म भन्दै थिएँ उसको नाम शान्ती । नाम मात्र शान्ती हो उसको ।
मान्छे कुनै क्रान्तिकारी भन्दा कम खतरनाक छैन । हुन त मैले यो नभन्नु पर्ने कुरो हो । तर तपाईंहरू सबै मेरा आत्मीय मनहरु । त्यसैले भन्दैछु. हो ! छुच्ची छे शान्ती । रिसाहा छे, क्रोधी छे, झगडालु छे, अनि जिद्दी छे । उसले चाहेको सबै चीज हासिल गरेरै छोड्छे । चाहे त्यो म सँग लडेर होस् या रोएर । उ नादान पटक्कै हैन, उ म भन्दा पनि समझदार छे । फेरि पनि मसँग एउटा सानो बच्चा झै निहुँ खोज्छ ।
हुन त हामी निहुँ पनि उसैसँग त खोजिन्छ जसलाई हामी सबैभन्दा धेरै प्रेम गरिन्छ । मलाई थाहा छ, उ म सँग यसकारण निहुँ खोज्छ । किनकि उ मलाई आफूभन्दा कयौं गुना धेरै प्रेम गर्छे । तर त्यो उसको प्रेम, बेलाबेला मलाई एउटा पिन्जडा जस्तै लाग्छ । जहाँ उसले मलाई कैद गरेर राखेकी छ । मलाई त्यो पिन्जडा भित्रबाट भाग्न मन लाग्छ, फरार हुन मन लाग्छ । मैले उडाउने चुरोटको धुवाँ सरी वायुमा गुमनाम हुन मन लाग्छ । तर सक्तिन । यसलाई म आफ्नो मजबुरी भनौं या कमजोरी, यो मलाई थाहा छैन । बस् यत्ति थाहा छ उ बिनाको जिन्दगी, मलाई कल्पनामा पनि कल्पिन डर लाग्छ । उसलाई एकदिन देख्न नपाए, उसको आवाज सुन्न नपाए, म जल बिनाको माछो झैं छट्पटाउँछु । चौबीस घन्टामा एकपटक उसको मुखमा आफ्नो मुख जोडेर सासमा सास साट्न नपाए मलाई सास फेर्न गाह्रो भएर आउँछ ।
यस्तो लाग्छ, मैले लिइरहेको अक्सिजनमा केही गडबडी छ । उ मेरी प्रेमिका हैन, उ मेरो आदत बनिसकेकी छ । उ अँगालोमा नहुँदा, मलाई मेरो शरीरमा कुनै एउटा अंग कमी भएको महसुस हुन्छ । तब उसलाई कल गर्ने गर्छु । र, घन्टौंसम्म फोनमा झुन्डिरहन्छु । भर्खरै हो । एक घन्टा, चालिस मिनेट, चौध सकेन्ड फोनमा प्रेम दर्साएर बिदा भएको । केहीबेर पछि उसले फेरि कल गरी । ‘के भयो?’ हेल्लो को सट्टामा प्रश्न पठाएँ । ‘निन्द्र लागेन’ उसले भनी । ‘तिमीलाई सुत्ने बेला कफी नखाउ भनेको हैन ?’ मेरो आवाज साबिक भन्दा अलिक ठूलो हुँदो हो । ‘कराउन पर्दैन, बोल्न मन छैन भने ओके बाइ’ उ उल्टै पो निहुँ खोज्छे । ‘भन, मैले के गर्नुपर्यो ?’। उ आगो बनेपछि आफू पानी बन्नै पर्ने, म थोरै नम्र हुन्छु ।‘एउटा कथा सुनाउ’। उ यसरी अर्डर दिन्छे मानौं म उसको प्रेमी हैन, म उसको दास हुँ । जे होस, उसको आज्ञा पालन गर्नु म आफ्नो धर्म ठान्छु । मैले भनें‘ फेसबुकमा जत्ति छन्, त्यहीँ पढ न त’। ‘नाईं, तिम्रो आवाजमा सुन्नुको मज्जा नै अर्कै आउँछ’। उ मलाई फुर्क्याउँछे । यो उसको पहिलो चाल हो । त्यसपछि उ मसँग लड्छे । उसको जित भएमा हाँस्छे, भएन भने रुन्छे । म उसका आँखामा आँसु देख्न सक्दिनँ । अन्त्यमा मलाई उसको डिमान्ड पूरा गर्नैपर्छ । साच्चै ! हामी केटाहरुको पाखुरामा जति नै तागत भएपनि दिलको मामिलामा भने हामी कमजोर नै हुन्छौं ।
आज ऊसँग लड्ने मूड थिएन, पहिलो प्रहारमै मैले आत्मासमर्पण गरे ं। र, मोबाइल कानमा टाँसेर कोल्टे परे ं। उता उसले मोबाइल कानमा टाँसेर आँखा बन्द गरि होलि । मैले कथा यसरी सुरु गर्छु…..‘डियर फ्यूचर वाइफ’ ।। अनि त्यसपछि, हाम्रो बिहे हुनेछ । तिमी मेरी र म तिम्रो हुनेछु । त्यसदिन हाम्रा दुई आत्माको पनि मिलन हुनेछ । तिमी मेरो जीवनको एउटा अमुल्य हिस्सा बन्ने छौ । त्यस दिनदेखि हाम्रो जीवनी एउटै कोणबाट लेखिने छ ।
यदि कुनै साहित्यकारले मेरो कथा लेख्यो भने, त्यो कथाको मुख्य पात्र र शिर्षक तिमी हुनेछौ । आऊ, म आज तिमीलाई त्यो कथाको एक अध्याय सुनाउँछु….त्यो हाम्रो सुहागरातको दिन हुनेछ । तिमी दुलहीको जोडामा स्वर्गकी अप्सरा भन्दा कम सुन्दर देखिएकी हुँदिनौ । मेरो मन गर्छ कि रातभर म तिमीलाई हेरिरहुँ । तर तिमी मसँग नजर जुधाउन सम्म डराउँछौ । डराउँछौ भन्दा पनि सायद लजाउँछौ । मेरो मुटु जोड जोड सँग धड्किनेछ । मानौं मेरो छातीमा भुइचालो आइरहेको छ । म केही बोल्न भने जरुर चाहन्छु, तर खै ! किन रोक्किन्छु । सम्भवतः तिम्रो पनि मेरो जस्तै हालत हुनेछ । अझ मेरो भन्दा खराब होला ?
तिमी आफ्ना जन्मदाता, दाजुभाइ, दिदीबहिनी, साथीसँगी, नातेदार, गाउँघर र शहर छोडेर मेरो घरमा केवल मेरो भरोसामा आएकी छौ । मेरा परिवार कस्ता छन् होला ? उनीहरुको सोच बिचार कस्तो होला ? अनि हाम्रो घरको खान्की कस्तो होला ? प्रवृती…..हो ! त्यस्तै भयभीत प्रश्नहरुले तिम्रो मन र मस्तिष्कमा डेरा जमाउने छन् । तर तिमी मलाई सोध्ने हिम्मत जुटाउन सक्ने छैनौँ । सधैं माकुराको झ्यालै झ्यालले भरिएको मेरो कोठा त्यस दिन फूलैफूलले सजिएको हुनेछ । नयाँ च्यादर, नयाँ सिरानी, नयाँ सिरक, सबै सबै नयाँ । यहाँ तक कि म सुत्ने खाट पनि नयाँ । त्यो पनि फलामको । तर तिमी त्यो फलामको खाट पनि भाँचिन्छ कि झैं गरेर टुसुक्क बस्ने छौ । तिम्रो शरीर बाट आएको कमलको फूलको सुगन्धले मेरो पुरै कोठा बसाउनेछ ।
कोठाको कुना कुनामा मैनबत्ती बलिरहेका हुनेछन् । अनि, हामी दुवै केही नबोली मौन बसिरहनेछौं । केही बेरको मौनता पछि तिमी तिर थोरै झुकेर म सोध्ने छु ‘डर लागेको छ?’। कस्तो वाइयत प्रश्न सोधेछु । प्रश्न सोधिसके पछि मलाई क्या पछुतो हुनेछ । तिमी कुनै मौखिक प्रतिक्रिया नदिइकन फगत शिर हल्लाएर डर लागेको छ भन्ने अनुभुती दिनेछौ । म थोरै मुस्कुराउने छु । सायद तिमीलाई मेरो मुस्कान मन परेन, तिमी मुख फेर्नेछौ । मलाई असहज महसुस हुनेछ । ‘डराउन पर्दैन आज देखि यो तिम्रै घर हो । हिजोसम्म तिम्रो हेरबिचार तिम्रा मातापिताले गर्नुभएको थियो । आज देखि त्यो जिम्मेवारी म लिँदै छु । म तिम्रो हमेसा ख्याल राख्नेछु, तिम्रा भावनाहरुको कदर गर्नेछु । तिमीलाई सधैं हँसाउन नसकुँला, तर आँखामा आँसु कदापि आउन दिनेछैन’। इत्यादि के के भन्नुपर्ने थियो मैले सायद । तर त्यतिबेला दिमागले कहाँ काम गर्दोरहेछ र !
एक्कासि म तिम्रो देब्रे हात समाउँछु । तिमी मलाई कर्के नजरले हेर्छौ तर केही प्रतिवाद गर्दिनौ । म अर्को हात तिम्रो गालामा राख्छु । तिमी लजाएर मुन्टो बटार्छौ । मेरो हात तिम्रो गर्धनमा आइपुग्छ । हाम्रा दुईदुई आँखा जुधेर चार हुन्छन् । त्यसपछि, स्वतः ओठमा ओठ जोडिन्छन् । हाम्रा ओठका सम्पर्क नतोडि म तिमीलाई बिस्तारै खाट माथि सुताउँछु । र, क्रमशः हात पछाडि लगेर कसिएको तिम्रो चौबन्दीको तुना खोलिदिन्छु ।
आकस्मात् आकश गड्याङगुडुङ गर्छ । एकैसाथ हावा र हुन्डरी चल्छ । टेवल माथि राखिएको प्लास्टिकको फूल भुइँमा खस्छ । अनि, कोठाको लाइट आफैं आफ् झ्याप्प निभ्छ । अर्को दिन बिहान, मेरा नातेदारहरु सँग म बसिरहेको बेला तिमी मलाई केही भन्न चाहन्छौ । तर सबैको सामु मेरो नाम पुकार्न डराउँछौ । तिमी भन्ने छौ ‘सुन्नुस् त’। तर म सुनेर पनि नसुने झैं गर्नेछु । तिमी फेरि भन्ने छौ ‘हजुर! सुन्नुस् त भनेको’।
यसपालीको तिम्रो आवाज सुन्दा मलाई खित्का छोडेरै हाँस्न मन लाग्नेछ । तिमी तिर पुलुक्क हेरेर म मुसुक्क मुस्कुराउनेछु ‘के हो’ को भावमा । तिमी मलाई आँखा तरेर हेर्नेछौ ‘पर्ख तिमीलाई म अहिले जानेकिछु को भावमा’। अनि… प्रत्येक बिहानी मेरो घडीको आलर्म भन्दा पहिला तिमी बिउँझिनेछौ । जब मेरो आलर्म बज्ने छ तब म बिउँझिनेछु । तर तिमीले घडीको आलर्म बन्द गरिदिएर अलिक झर्किदै भन्ने छौ ‘केही बितेको छैन, एकछिन सुत्नुस्’। कथा टुङ्गिन नपाउँदै बीचैमा उसले उताबाट खित्का छोडी ।
म यता थोरै लजाएर मुस्कुराएँ । र, उ हाँसुन्जेल एक ग्लास पानी पिउन भ्याएँ । हाँसोको आवाज अलिक घटाउँदै उसले भनी ‘तिमीलाई कहाँबाट आउँछन् यस्ता कुराहरु । प्रतिउत्तरमा आवाज मार्फत एउटा मुस्कान पठाएँ, र उसको प्रश्नको जवाफ केही गम्भीरतापूर्वक फर्काएँ ‘भाषा र ममता आमा बाट जानें, हिँड्न र लड्दा उठ्न बुवाबाट जानें, गणित र व्याकरण गुरुबाट जानें,तर, साहित्य के हो ? मैले प्रेम बाट जानें,प्रेम के हो ? तिमी बाट जानें,‘उः हाउ स्वीट, लभ यू सो मच’ उसले भनी ।‘लभ यू टू… थैङ्क्स फर बीइंग ए पार्ट अफ माइ लाइफ’ मैले टुटेफुटेको अँग्रेजी बर्मिस् लवाजमा भनें । ‘बाइ द वे… मैले त्यस्तो भनौंला भनेर कल्पनामा त कल्पी सक्यौ, तर सपनामा चैं नदेखे हुन्छ महासाय ! उसले त्यस्तो भन्दा मलाई हाँस्न मन लाग्यो ।
एउटा हाँसोको मुस्लो पठाइदिए । र, भनें ‘भन्ने छौ’। भन्दिनँ’। ‘भन्ने छौ’। ‘भन्दिनँ भन्दा’। उ मेरो कान नै फुट्ला कि झैं गरेर चिच्याइ । म साबिक भन्दा आवाज घटाएर अझ नम्र हुँदै बोलें ‘त्यसो भए म बाँकी रहेको कथा भन्दिनँ’। उ सिधै लाइनमा आई ‘भन्ने छु बाबा भन्नेछु’। ‘गुड गर्ल, गोडा मुनीको सिरक तानेर मैले अँगालोमा बेरें, उसलाई कल्पिएर ।
बन्द आँखामा उ मेरो अँगालोमा लपक्क बेरिएकि थिई । उसको शरीरबाट पर्फ्युमको मीठो सुगन्ध आइरहेको थियो । उसको छातीका नरम वस्तुहरुको स्पर्शले मलाई आनन्द तुल्याइरहेको थियो । म आफ्नै संसारमा रुमल्लिरहेको थिएँ । ‘अब पनि भनेनौ भने, बोली खान्छौ कुटाइ’ उसको त्यो चर्को आवाजले मेरो ध्यान भङ्ग भयो । र, एकै क्षणमा मेरो संसार भतभुङ्ग भयो । तब म झसङ्ग भएर बिउँझिएँ । म कथालाई निरन्तरता दिन खोज्दै थिएँ । अफशोच ! फोन आफैं आफ काटियो । सायद उसको व्यालेन्स सकियो होला ? केहीबेर सम्म पर्खिएँ तर उसको कुनै कल आएन । अनि, मेरो मोबाइलको ब्यालेन्स ऊसँग को पहिलो संवादमै सकिएको थियो । त्यसैले चाहेर पनि मैले कलव्याक गर्न सकिनँ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest