१३ वर्षकी किशोरी छोरा नजन्माउदा घर निकाला

Sunday, May 13th, 2018

 

अनुज सापकोटा
सुनसरी ः छोरा नजनमाई छोरी जन्माएको भन्दै १३ वर्षकी सुत्केरी ममता मरिक सुत्केरी भएको करिब तीन दिनमै घर निकाला भएकी छन ।गत वर्ष १२ वर्षकै उमेरमा ममताका आमाबुबाले सिराहामा उनको विवाह गरिदिएका थिए । अहिले १३ वर्षकी ममता मरिक यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् ।छोरी जन्माएको निहुँमा परिवारले घर निकाला गरे पछि आमासँगै नवजात शिशुको समेत बिचल्ली भएको हो । घर निकाला पश्चात आफूलाई कोही चिनजानका व्यक्तिले अस्पतालमा छोडेर गएको उनले बताएकी छिन् । तर अस्पतालमा छोडेर जाने व्यक्ति को हुन् भन्ने बारेमा उनले बोलेकी छैनन् ।
शिशुलाई हेरचाह गरिदिने अरु कोही हैन । चार दिन पहिले सुनसरीको इनरुवा अस्पतालमा भर्ना भएकी ममताकी छोरी समेत कुपोषित छन । ममतालाई मातृत्व के हो त परको कुरा, आफ्नो स्याहार कसरी गर्ने समेत ख्याल छैन । स्तनपान गराउनै जान्दिनन् । शिशु कसरी समात्ने र स्याहार सुसार गर्ने भन्नेमा उनी पूर्णतः अनभिज्ञ छिन् ।उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाइमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त छैन । पौष्टिक आहार र उचित हेरचाहको अभावमा नवजात छोरी कुपोषित छिन् । कलिलो उमेरमा सन्तान जन्माएका कारण आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झा बताउँछन् ।

एक वर्ष अघि सिराहाको गोलबजार घर भएका प्रकाश मरिकसँग बिवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार भएकी हुन् । छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिनुका साथै खान लाउन नदिई तिरस्कारसँगै घर निकाला गरेको बताइन् ।ममताले आफूलाई श्रीमान् सहित परिवारका सदस्यले ‘तँ पनि गैहाल, तेरो छोरी पनि लिएर जा’ भन्दै घरबाट लखेटेको बताइन् । परिवारबाट हेला र यातनासँगै घर निकाला भए पछि माइतीको शरणमा पुगेकी ममताको माइती पक्षको आर्थिक अवस्था झनै दयनीय छ ।
अस्पतालका अनुसार ममतालाई रगतको अभाव, मुटुको समस्या छ । ममता मात्र हैन कुपोषित शिशु समेत बाँच्छन बाँच्दैैनन् भन्ने अन्यौल रहेको अस्पतालले जनाएको छ ।अस्पतालले आमा र शिशु दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको भए पनि डिस्चार्ज पश्चातको अवस्था यकिन गर्न भने नसकिने जनाएको छ । अस्पतालले भर्ना भएदेखि नै आमा र शिशुको उपचार निशुल्क गर्दै आएको जनाएको छ । आफू र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी ममताले आफूलाई सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest