२०७४ मा नाफा कमाउने सिनेमाहरु

Thursday, April 5th, 2018

 

काठमाडौं, चैत  – नेपालमा बर्षेनि सयौ चलचित्र बनेता पनि सफलताको हिसाबले थोरै मात्र सिनेमाको नाम बाहिर आउने गरेका छन । हामीले २०७४ मा नाफा कमाउने सिनेमाको बारेमा केहि रिपोर्ट प्रश्तुत गरेका छौ ।

छक्का पञ्जा २

सिनेमा ‘छक्का पञ्जा २’ यो वर्षको सर्वा्धिक व्यापार गर्ने सिनेमा हो । दीपाश्री निरौलाको दोस्रो निर्देशन रहेको यस सिनेमाले प्रदर्शनमा आएको ११ दिनमा १० करोड भन्दा माथिको कारोबार गरेको थियो ।
५१ दिन मनाएको ‘छक्का पञ्जा २’को पूरा कारोबार भने १४ करोडभन्दा माथि पुग्यो । सुरुवाति कारोबार देख्दा यसले आफ्नो प्रिक्वेलको रेकर्ड तोड्ने सम्भावना देखिएको थियो तर त्यसो भएन । गत वर्षको ‘छक्का पञ्जा’ले १७ करोडभन्दा माथिको कारोबार गरेको थियो । वैदेशिक रोजगारीको कथा समावेश भएको यस सिनेमामा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकाल, आयुष्मान देशराज जोशी, सन्ध्या केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

‘शत्रु गते’

प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा ‘शत्रु गते’ले दोस्रो सातामा पनि सफलतापूर्वक कारोबार गरिरहको छ ।सिनेमाले तेस्रो साताको यात्रा पनि तय गरिसकेको छ । दोस्रो सातासम्म लगातार हाउसफूल रहेको यो सिनेमा अझै केहि हप्ता चल्ने संकेत देखिन्छ । पहिलो सातामा ६ करोडको कारोबार गरेको यो सिनेमाको दोस्रो साताको कारोबार पनि राम्रो रहेको छ । समग्रमा यतिबेला यस सिनेमाले धेरै नाफा गरिसकेको छ ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला,शिवहरि पौडेल, रमेश रन्जन झा, बसुन्धरा भुषाल, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । महसञ्चारको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता किरण केसी हुन् ।

 

प्रेम गीत २

रामशरण पाठकको निर्देशन र सन्तोष सेनको निर्माण रहेको सिनेमा ‘प्रेम गीत २’ले निर्मातालाई आर्थिक नाफा गर्यो भने अभिनेता प्रदीप खड्कालाई करिअरमा फड्को मार्न सघायो । झण्डै दुई करोडको लगानीमा बनेको यो सिनेमाले ८ करोडभन्दा माथिको कारोबार गरेको थियो ।प्रदीप खड्का, अश्लेषा ठकुरी, श्रद्धा प्रसाईँ, कविता रेग्मी, राजाराम पौडेललगायतका कलाकारको मुख्य भूमिका छ ।

ए मेरो हजुर २

अभिनेत्री झरना थापाको पहिलो निर्देशन रहेको सिनेमा ‘ए मेरो हजुर २’ पनि कारोबारमा सफल रह्यो । साम्राज्ञी राज्यक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेतलगायतका कलाकारको मुख्य भूमिका रहेको यो सिनेमाको लगानी एक करोड २५ लाख हो । प्रदर्शनमा आएको पहिलो दिन नै ७८ लाख भन्दा माथिको कारोबार गरेको यस सिनेमाले । दोस्रो दिन सिनेमाको कारोबार बढेर १ करोड ६२ लाख पुगेको थियो । सिनेमाले पहिलो सातामा ५ करोड २ लाखभन्दा माथिको कारोबार गरेको थियो । पहिलो साताको कारोबारबाटै लगानी सुरक्षित गरेको यो सिनेमाको दोस्रो सातादेखिको कारोबार नाफाको कारोबार बन्यो । यसका अलावा विदेश प्रदर्शनबाट पनि निर्माताले नाफा कमाए ।

ऐश्वर्य

दीवाकर भट्टराईको निर्देशन रहेको सिनेमा ‘ऐश्वर्य’पनि यो वर्ष नाफामा जाने सिनेमा हो । यसले तीन दिनमा दुई करोडको हाराहारीमा कारोबार गरेको थियो।
१ करोड ५० लाखमा बनेको यो सिनेमाले नेपालबाटै लगानी उठाएको निर्माण पक्षको दावी रहेको छ । यसका अलावा सिनेमाको विदेश प्रदर्शनबाट उठेको सबै रकम नाफामा गयो । यस सिनेमामा रमेश उप्रेती, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार,केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

म यस्तो गीत गाउँछु

यस सिनेमाले पहिलो साता पाँच करोडको कारोबार गरेको थियो । सिनेमाकोदोस्रो साताको कारोबार सबै नाफाको कारोबार बन्यो । पूजा शर्मा र सुदर्शन थापाको संयुक्त निर्माण रहेको यस सिनेमामा पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको छ ।सिनेमा निर्माण र प्रचार प्रसार सहित‘म यस्तो गाउँछु’को कुल लगानी १ करोड २५ लाख हो । सिनेमा नाफामा गएपछि अभिनेत्री तथा सिनेमाकी निर्मात्री पूजा शर्माले यसको सिक्वेलमा पनि पलसँगै जोडी बाँध्ने घोषणा गरिसकेकी छिन् ।

कान्छी

माघ अभिनेत्री स्वेता खड्काको सिनेमा कान्छीले पनि राम्रो व्यापार गरेको छ । श्रीकृष्णको निधनपछि स्वेताले यसै सिनेमामार्फत अभिनय र निर्माणमा कमब्याक गरिन् उनलाई कमब्याक फाप्यो ।‘कान्छी’ले स्वेतालाई नाफामा पार्यो ।सिनेमाको प्रचार समेत गरेर लगानी दुई करोड पुगेको थियो जुन सिनेमाले सहजै उठायो ।आकाश अधिकारी निर्देशन रहेको यो सिनेमामा स्वेता खड्का, दयाहाङ राई, विनोद न्यौपाने, आशान्त शर्मा, भूमिका श्रेष्ठ, अनु शाह लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । कान्छी मेकिङका हिसाबले पनि प्रशंसा बटुलेको सिनेमा हो ।

‘फाटेको जुत्ता’

रामबाबु गुरुङको निर्देशन रहेको यो सिनेमाको लगानी साढे एक करोड हो । सिनेमाले ६ दिनमा दुई करोड ४८ लाखको कारोबार गरेको थियो । त्यसपछि पनि सिनेमाले हलमा स्थान पाएका कारण सिनेमा नाफामा गएको थियो ।
पहिलो साताको कारोबार पछि सिनेमाका निर्माता टेकेन खड्का र निर्देशक रामबाबु गुरुङले पत्रकार सम्मेलन गरेर सिनेमा नाफामा गएको आधिकारिक घोषणा गरेका थिए ।‘मिस्टर झोले’ दयाहाङ राई, वर्षा राउत, दिया पुन, विजय बराल बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

मंगलम

शिल्पा पोखरेलको निर्माणमा बनेको फिल्म मंगलमले पनि राम्रो ब्यापार गरेको छ । उनको पहिलोनिर्माण रहेको सिनेमा ‘मंगलम’ यहि वर्षको फागुन २५ गते प्रदर्शनमा आयो । सिनेमालाई दर्शकले रुचाए । आफ्नो पहिलो निर्माण नै सफल भएपछि निर्मात्री तथा अभिनेत्री शिल्पा पोखरेलले सिनेमाका मुख्य अभिनेता पुष्प खड्कालाई गाडीसमेत उपहार दिने भएकी छिन् ।नवल नेपालको निर्देशन रहेको यो सिनेमा हेरिसकेपछि दर्शकले पनि पुष्पको अभिनयको निकै तारिफ गरेका थिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest