७३ वर्षको उमेरमा पनि रगंमञ्चको रंग उस्तै

Sunday, January 27th, 2019


शुभद्रा अधिकारी
मानिसको जीवनलाई लिएर आफ्ना आफ्नै तर्क हुन सक्छन् । तपाईं त्यही गर्नुहुन्छ, जुन गर्दा तपाईलाई जिम्मेवारी बोध र मैले यो काम चाहिँ साच्चै राम्रो गरेँ भन्ने लाग्छ । संसारमा पूरै उज्यालो र पुरै अध्याँरो पक्कै सम्भव छैन । अधिकतम उज्यालो सूर्यको नजिक र अत्याधिक अँध्यारोपना पनि सूर्यको नजिक नै हुन्छ, त्यस्तै हो जीवन पनि । वास्तवमा हेर्दा जीवन र मौसम उस्ता उस्तै हुन्, अर्थात यसको सामिप्यता नजिक छ, मानिसको जीवन पनि सधंै खुशी वा सुखी भने हुँदै हँुदैन । कहिले खुशि कहिले दुःख दुबैको संगम हो । म पनि त्यस्तै पात्र हुँ, जसले आफू जन्मिन निकै संर्घष गर्नुपर्यो । जन्मनका लागि नै संर्घष गरेकी मैले जीवनका धेरै उकाली पार गरेकी छु, धेरै असहज यात्रा पनि गर्ने मौका पाएकी छु । मेरो जन्म २००४ सालमा असन टोलमा भएको थियो । स्वर्गीय डिट्ठा बलराम र नुरा देवीको सन्तानका रुपमा जन्म लिएकी मलाई जन्मन नै ठूलोसंर्घषको आवश्यकता परेको थियो । म जन्मिदा ठूलो घटना घटेका थियो रे । मेरी आमा म जन्मिनु भन्दा अगाडि पाँचपटक बेहोस हुनुभयो रे, म आफ्नै संघर्षले जन्मिएकी थिए । म जन्मिसकेपछि पनि मेरो आमाको होस आएको थिएन रे । म पनि हरियो भएको थिए रे, जसले गर्दा घर परिवार सबै जनालाई मेरो मृत्यु भइसक्यो भन्ने लागेछ र बाहिर लगेर राखिएछ । मेरो बुबा दरबारमा काम गर्ने भएकाले आमाको होस नआएपछि डाक्टरकोमा जानु भएछ र डाक्टर आएपछि मेरो मुटुको चाल बुझ्दा जिउँदो छ भनेपछि भित्र ल्याइएछ । यसरी मेरो जन्मदेखि एक किसिमको घटना नै घटना जोडिएको छ । मलाई सानोमा मेरो बुबाले धेरै माया गरेर हुर्काउनुभएको थियो । मलाई उहाँले मेरो लक्षणकी छोरी भन्नु हुन्थ्यो । सायद कुनै मान्छे छोटो समयका लागि छ भने माया धेरै हुन्छ भन्छन्, त्यस्तै भयो मेरो बाबाको र मेरो सम्बन्ध पनि । म तीन वर्षको हुँदा उहाँ बित्नुभयो । बुवाको मलाई छायाँमात्र याद छ, अनुहार मलाई सम्झनासम्म पनि छैन । त्यसपछि म र आमा मामाघरमा बस्न थाल्यौं । मेरो मामा घरको वातावरण सांगीतिक भएकोले पनि होला म सानो उमेरमैै रंगमञ्चमा प्रवेश गर्न पुगे । मेरो मुमा तुलादेवी गायिका हुनुहुन्थ्यो । उहाँ प्रायः तबला बजाउने प्रयास गर्नुहुन्थ्यो । यसै क्रमममा मेरो मुमालाई संगीतको छुट्टै पाठ सिक्ने इच्छा भएछ र एकजना गुरुबाट त्यो शिक्षा लिन थाल्नुभयो । मुमालाई संगीत सिकाउन आउने गुरु नृत्यमा पनि माहिर हुनुहुन्थ्यो । एकदिन मुमाले सिक्दै गर्दा म नाच्दै उफ्रदै गीत गुनगुनाएछु । मेरो उफ्राई गुरुलाई मन परेछ । मुमालाई भनेर गुरुले मलाई नृत्य कक्षामा भर्ना गराई दिनुभयो । पाँच वर्षको कलिलो उमेर अर्थात २००९ सालबाट रंगमञ्चमा प्रवेश गरेकी म त्यतिखेर नृत्य तथा अभिनयमा कौसल व्यक्तिका रुपमा परिचित थिए ।
बालापनदेखि नै रंग क्षेत्रमा प्रवेश गरेकी मेरो विद्यालयस्तरिय शिक्षामा भने मैले सफलता हासिल गर्न सकिन । बेला बेला हुने कार्यक्रमका कारण विद्यालय नियमितरुपमा जान पाइदैनथ्यो, जसका कारण पनि मैले शिक्षामा भने त्यस्तो छर्लाङ् मार्न सकिनँ । मेरो नृत्यदेखि बच्चु कैलास पनि निकै प्रभावित हुनुहुन्थ्यो । यति सानो मान्छेले यस्तो नाच्न सक्छ भन्ने आश्चर्य भाव उहाँमा पनि उब्जिएको थियो । नेपालमा नाच सिकिरहेकी म मुमासँग भारत जाँदा त्यहीँ पनि नाचेँ र पहिलो हुन सफल भएँ । त्यो सम्झना साह्रै रमाइलो लाग्छ । त्यतिबेला श्री पञ्चमीमा कार्यक्रम भएको थियो । मैले रंगमञ्च प्रबेश पनि श्री पञ्चमीका दिन आरती नाच गरेर गरेकी थिए । नेपाली चलचित्र मनको बाधमा २४ वर्षको उमेरमा प्रवेश गरेकी थिए । बाल कलाकारका रुपमा रंगमञ्चमा प्रवेश गरेको भए पनि ठूलो भएपछिमात्र चलचित्रमा प्रवेश गरेँ । नेपाली चलचित्रमा प्रवेश गर्दा मेरो विवाह भएर पनि छोरा छोरी जन्मिसकेका थिए । सायद बुवा जीवित रहनु भएको भए कला क्षेत्रमा प्रवेश हँुदैनथे होला । किनकी मेरो बुबा व्यापारी हुनुहुन्थ्यो । तर मेरो मामाघरमा सबैजना कलाप्रेमी, साहित्यप्रेमी भएकाले पनि कला क्षेत्रमा मेरो प्रवेश सहज भएको थियो तर समाजले हेर्ने दृष्टिकोण भने राम्रो थिएन । छोरी मान्छे घरबाट बाहिर निस्किहाल्यो भने पनि केटाहरुले जिस्क्याउने गर्दा कति पटक रुदै घर फर्कन्थे ।
फिल्मभन्दा रंगमञ्चमा रमाउने मान्छे धेरै हुन्थे । राजाबाट बक्सिस तथा स्याबासी पाउने मान्छे धेरै हुन्थेनन् । थोरै मान्छेलाई मात्र राजाहरुले आफ्नो कार्यक्रम हेर्न बोलाउने गर्थे । म आफूले आफूलाई भाग्यमानी सोच्छु, थोरै कलाकारमात्र दरबारमा राजारानीले बोलाउँथे । त्यसमध्ये पनि मलाई नागिन डान्सका लागि दरबारमा बोलाइएको थियो ।
२०५८ सालसम्म नाचघरमा जागिरे जीवन बिताएकी मैले विद्यालय जीवनलाइ भने निरन्तरता दिन सकिनँ, जुन कुराले मलाई कहिले काहीँ दुःख लाग्छ । धेरै फिल्ममा बिधूवाको भूमिका निभएको थिए । त्यसमध्ये पनि कन्यादान, आमा जस्ता फिल्मले मलाई धेरै चिनायो । फिल्म खेल्दा धेरैसँग खेल्ने मौका पाए पनि मलाई यो कलाकारसँग नै सहज थियो भन्ने थिएन । सबैजना सहज नै थिए । वास्तवमा रंगमञ्च र चलचित्रमा धेरै फरक छ । रंगमञ्च आत्मियता हो भने चलचित्रमा त्यत्ति आत्मियता र मिठास छैन । रंगमञ्चमा धेरै रमाइला र स्मरणयोग्य घटनाहरु छन् । इतिहास नै छ भन्दा पनि हुन्छ । मुनामदन कथामा २५ वर्षसम्म दिदीको रोलमा लगातार भूमिका निभाएको थिए ।
लभ पछिको मागीविवाह गरेका थियौं हामीले । स्वर्गीय कृष्णप्रसाद अधिकारीसँग विवाहपछि भने मैले कलाकारितालाई केही समयका लागि विश्राम लिनुपर्ने स्थिति आएको थियो । मेरा श्रीमान् आफंै पनि कलाकार हुनुहुन्थ्यो तर पनि ससुरा बुबाको अनिक्षाका कारण मैलै कलाकारिता छोडेर केही समय गृहणीका रुपमा व्यतित गरे । तर पछि ससुराको मनमा के आएछ, जाउ तिमी त्यसमै रमाउछ्यौ भनेर पठाउनुभयो, त्यसपछि फेरी म रंगमञ्चमा आएँ । बालकृष्ण समको क्षत्रछायाँमा बसेर विशिष्ट कलाकारका रुपमा त्यत्तिबेला नाचघरमा काम गरेकी थिए । जतिबेला १५० रुपैयाँ तलब थियो ।
मान्छेको नेचर हो, अहिले र पहिलेका कलाकारमा धेरै फरक छ । पहिलेका कलाकारहरु अशिक्षित थिए, अहिलेको जेनेरेसन शिक्षित छन् र उनीहरुमा प्रतिस्पर्धा बढी छ । केही कुरामा कमी कमजोरी भए पनि धेरै परिवर्तन अहिलेको पिडीमा छ । रंगमञ्चमा लाग्ने मानिसको आर्थिक समस्या धेरै आउथ्यो । केही समय हामीले त्यो दुःख झेल्यौ तर पनि हाम्रो पारिवारीकरुपमा सर्पोट भएका कारण पनि सहजता हुँदैै गयो । सरकारका तर्फबाट पनि केही सम्मान हात पारेकी मैले अन्य पुरस्कारसमेत पाएकी छु । कला क्षेत्रमा लागेर करिब नेपालका सबै जिल्लाहरु घुमिसकेकी छु । उमेरले ७३ वर्ष नाघिसकेको मैले दुइवटा आत्मकथा निकालेकी छु । सधैं विधुवाको रोलमा भूमिका निर्वाह गर्ने म वास्तविक जीवनमा पनि करिब आजभन्दा ७÷८ वर्षअघि विधुवा हुन पुगेँ । म विधुवामात्र भइनँ, आफ्नो सहयात्री गुमाएँ, मेरो एउटा पांग्रा, जसले मलाई सधैं यात्रा गर्न सहज बनायो, त्यो व्यक्ति गुमाएँ ।

–कृष्णकुमारी चौलागाईं
 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest